मुख्य समाचार :


आइफल र आँपमा मिसावटः फेला पार्‍यो नगरपालिकाले

मनोज वोगटी
कालेबुङ,2 जुलाई।

आइफल र आँपमा पनि मिसावट? हो आज कालेबुङ नगरपालिकाले मिसावट गरिएका आइफल र आँपहरू 16 वटा फल पसलहरूबाट जफ्त गरेको छ। मानिसहरूले अन्य खाद्य पदार्थमा मिसावट गरेका सुनेका थिए तर फलसम्ममा नै मिसावट गरेको कालेबुङमा अहिलेसम्म सुनिएको थिएन। नगरपालिकाका स्वास्थ्य निरिक्षक सञ्जय प्रधान अनि प्रमाणपत्र प्रभारी शाहिर अहमदले नगरका विभिन्न चोकहरूमा नगरपालिकाको प्रमाणपत्र बिना नै फिजाएका फल पसलहरूको निरिक्षण गर्दा मोमले टल्काएका आइफल अनि कार्बाइट दलिएका आँपहरू फेला पारेका हुन्‌। विदेशबाट ल्याएको भन्दै मोम दलेर टल्काएका आँप बेचेर उपभोक्ताहरूलाई ठगिरहेको भएपनि पसलेहरूलाई नगरपालिकाले एकपल्ट माफी दिएको छ। सीके चोक, शहीद डीबी गिरी रोड, ऋषि रोड, हाटबजार, डीएस गुरूङ रोड, ओङ्‌देन रोड, मेन रोड तथा कतिपय फुटपातेे पसलहरूमा मिसावट आँप र आइफल भेटिएको थियो। नगरपालिकाले जफ्त गरेका फलहरूलाई सोमबार खाड़ल खनेर पुर्ने भएको छ। यस सम्बन्धमा नगरपालिका स्वास्थ्य अघिकारी डा. एसडी जिम्बाले आइफलमा डेलिसस भन्ने स्टिकर टॉंसेको तर फलमा भने मोम र कार्बाइट दलेका पाइएकोे जो स्वास्थ्यको निम्ति हानिकारक रहेको जनाएका छन्‌। तिनले जनाए अनुसार पसलेहरूले फलहरू विदेशबाट ल्याइएकोे जनाए पनि यसको प्रमाण पसलेहरूसित छैन। पसलेहरूसित सम्पर्क गर्दा आफूहरूले यस्तै फलहरू ल्याएको अनि फलमा मोम दलेको कुरा आफूहरूलाई थाहा नभएको जनाएका छन्‌। पसलेहरू अनभिज्ञ रहेको ठानेर नै उनीहरूलाई नगरपालिकाले यसपल्ट माफी दिएको भए पनि उप्रान्त फेरि यस्तो फलहरू फसलमा पाइए उनीहरूलाई 6 महिना काराबास अनि 10 देखि 15 हजारको जुर्माना लगाइने भएको छ।

0 comments: on "आइफल र आँपमा मिसावटः फेला पार्‍यो नगरपालिकाले"