कालेबुङको छिना डॉंडामा साहित्यकार सम्पूर्णा राईको डिजायर पुरिँदै थियो। तिनलाई यही कुराको भय थियो। लेखकीय सत्ता तिनको निम्ति उभिने भुईँ थियो।
तिनलाई लाग्थ्यो, त्यो भास्सिँदै गइरहेको छ। तिनलाई लाग्थ्यो चिप्लिँदै गइरहेछ सिर्जना। खुम्चिँदै गइरहेछ डिजायर। जे नहोस् लाग्यो, त्यही भयो। ‘इकोनोमिक्सले डिजायर अनलिमिटेड भन्छ, मेरो डिजायर लिमिटेड भइरहेछ’-तिनी भन्थिन्। कमसेकम कथा, व्यङ्ग्य र नाटकको पुस्तक प्रकाशित गरिहाल्नुपर्छ लागेको रहेछ तिनलाई। एउटा ठूलो छटपट्टिले तिनीभित्र हॉंगा फैलाइरहेको थियो। ‘पारिजातले लेख्न नसकेको नर्गिस्को कथा लेख्छु भनेको, लेख्ने मान्छेको हात चल्दैन’-केही महिना अघि समय दैनिकसित तिनले भनिन्। कहीँ कुनै आफ्नो पुस्तकमा पारिजातले कालेबुङकी नर्गिसलाई उल्लेख गरेकी रहिछन्। पारिजातले उल्लेख गरेको नर्गिस्सित सम्पूर्णा राईको पुरानै परिचय थियो। त्यसबेलाको बर्खामा कालेबुङको नालीमा चाल्नीले पानी चालिबस्ने पगलाले सबैलाई छक्क पारेको थियो। नेपाली पागलको स्वास्नी थिइन् केरलियन नर्गिस्। दुवै पागल। पारिजातले कालेबुङमा कहिले देखेकी रहिछन् लुती, राम्री नर्गिसलाई। पारिजातलाई धोको थियो नर्गिसको कथा लेख्ने। पारिजातको धोको पढेर सम्पूर्णालाई लाग्यो, ‘पारिजातले लेख्न पाइनन् अब म लेख्छु।’ तर तिनले पनि नर्गिस्बारे लेख्न पाइनन्। कसरी नेपालीसित ती केरलियन नर्गिसले बिहे गरिन् अनि कसरी उनीहरू पागल भए-यो रहस्य पारिजात र सम्पूर्णा दुवैले खोल्न सकिनन्। कुइना, कुम र मेरुदण्डको भर थिएन। हड्डीको रोग थियो। मेरुदण्ड कटकट्टी दुख्ने कुरा आम भयो भने सम्पूर्णा राईको निम्ति मात्र भयो। तिनलाई लाग्थ्यो, ओहो फेरि एउटा कथा चिप्लियो। फेरि अर्को कविता चिप्लियो। एउटा नाटक खेलिबस्छ। त्यो पनि पुरानो भइसक्यो। राजनीतिले गोर्खालाई सँधै झुक्यायो, सटायर गर्न पनि नपाइने? इकोनोमिक्सले दिएको परिभाषा फिका भएर तिनी अघि आएर सधैँ बसिरह्यो। ‘डिजायर, यसरी खुम्चिँदै गइरहेको छ, कुन दिन माटोमुनी पर्छ’-तिनी भन्थिन्। आज तिनको शव माटोमुनी थियो। तिनको डिजायर माटोमुनी थियो। कमसेकम मरुभूमिको नदी प्रकाशित गर्न पाएको एउटा जीवन जितेको खुसीसितमात्र तिनी केही समय बस्न पाइन्। भारतीय नेपाली साहित्य जगतकी वरिष्ट कथाकार, कवि, व्यङ्ग्यकार सम्पूर्णा राई कॉंडासितै माटोभित्र गइन्। समय दैनिक-सितको अन्तरङ कुराकानीमा तिनले भनेकी थिइन्-‘यो जुन पीडा छ, त्यो लेख्न नपाएर बसेकी छु। 6 वर्ष भयो पीडा लेख्न नपाएकी।’ 2001 देखि हड्डीको बिमार शुरु भयो। 2006 देखि ओछ्यान परिन्। त्यसैदिनदेखि बन्द भयो लेख्ने काम। केही केही पढ्न सम्ममात्र भ्याइरहेकी सम्पूर्णा राईले आफ्नो र समकालीन र पुराना-नयॉं साहित्यकहरूसित त्यसैबेला देखि छुटानाम गरिन्। झुक्किएर कोही कोही आउँथे। दलसिंह अकेलाले नानीहरू दोहोर्याएको अनि वृद्ध मात्रिका गजमेर र सानुमति राईभित्र चल्मलाई रहेको साहित्यिकताले तिनलाई उर्जा दिइबस्यो। त्यो उर्जा सम्पूर्णालाई तर कहिल्यै काम लागेन। फुर्सदै फुर्सद थियो तर असमर्थताको पहाडले थिचिएको। बॉंधिएको हात र सम्वेदित मन। उकुशमुकुश छ तर एक्सप्रेसनहीन। ‘दबाउने आदत भयो अब’-भन्थिन्। पुराना दिनका के सम्झेर छक्क लाग्छ? भन्ने प्रश्नमा दीयो पत्रिका सम्झिन्थिन्। साहित्यमा चोरी गर्नेहरूलाई सटायर गरिछन् दीयोको कुनै अङ्कमा। छापिएपछिको कुनै एक दिउँसो तिनले डाकबाट आएको पत्र पाइन्। दीयोमा प्रकाशित त्यही व्यङ्ग्यको पन्ना थियो, च्यातिएको। र छेउमा लेखिएको थियो, ‘यसमा चाना खानु’। ‘जसले चोरी गरे, तिनैले पठाएका थिए’-सम्झेर छक्क पर्छु’-तिनले भनिन्। न रेडियो, न पत्रिका। न बिजुली। खिड्कीबाट हेर्दा जून देखिन्। पूर्णेको जून-लेखिछन्। आफ्नो पालोमा राल्फाको बोलाबालो। ‘राल्फा त नाङ्गो रहेछ, परिवारसित बस्न नसक्ने। लाज लाग्थ्यो। अहिले विचलन भन्दैछन् कालेबुङका युवाहरूले। फड्को रहेछ यो त। सर्जक त्यसैमा छानिएर अघि जान्छन्। पर्खिनुपर्छ। छानिएर माथि पुगेको मैले हेर्न पाउने हो होइन’-तिनले भनेकी थिइन्। आजको सर्जकले हस्तलिखित पत्रिका मिस् गरेकोमा खल्लो लागेको रहेछ। एउटा हस्त लिखित पत्रिका हुन्थ्यो। राम्रो हस्ताक्षर हुनेले लेख्थे। चित्र कोर्नेले कोर्थे। सप्फा राखेर, एउटै प्रति लेखकहरूबाट घुम्दै घुम्दै आइपुग्थ्यो। ‘यो क्रिएटीभिटी आजकाले मिस् गर्यो’-तिनी भन्थिन्। यस्ता धेरै कुराहरु सम्पूणार्र् राईभित्र लुकेको थियो, जो तिनी लेख्न चहान्थिन्। आज तिनीसित नै तिनको विशाल डिजायर पनि पुरियो। ओछ्यानमा परेको धेरैवर्षपछि धेरैवर्षअघि आफैहरूले रोपेको संस्थाको याद आयो एक दिन सम्पूणार्र् राईलाई। साहित्य प्रकाशन समिति। जसमा एक हजार दिएर पुस्तक प्रकाशित गर्ने चक्र शुरु गर्नु थियो। तिनलाई लागेछ एउटा कविता संग्रह प्रकाशित गरिहाल्नुपर्छ। तिनले आफ्नो लोग्नेलाई पठाइन्। तिनी रित्तै फर्किए। निबन्धकार सीताराम काफ्लेसित पनि कुरा राखिन्। केही भएन। साहित्य प्रकाशन समितिले एकदिन अचानक आजीवन सदस्यता भनेर पठाएको सर्टिफिकेट देखाउदै भनिन्-‘मैले पैसा फर्काइ मागेको जस्तो लागेछ कि क्यार, यो पो पठाइदिएछन्। म भने पुस्तक छाप्न चहान्थें।’ संस्था, सर्जक, सहोदरहरूसित सम्पूर्णा राईको जुन ग्याप थियो, त्यसैको एउटा नमुना साहित् प्रकाशन समितिले पठाएको सर्टिफिकेट लागेको रहेछ तिनलाई। तिनको पुस्तक आखिर उपमा प्रकाशनले छापिदियो। तर कस्तो अचम्म उपमा प्रकाशनको मालिक उमेश उपमाको बाबा उता बिते, यता सम्पूर्णा राई। कविले देह त्यागिन्। प्रकाशक कोरामा छन्। उमेश उपमाले कोरामा बसेकै अवस्थामा भने- ‘मरुभूमिको नदी कहिल्यै नबिर्सिने तिर्खा भयो अब।’
0 comments: on "माटोभित्र सम्पूर्णा डिजायर"
Post a Comment