मुख्य समाचार :


गोर्खाल्याण्डको युद्ध र आत्मालोचनाको कुरा

  • अनिल तेलैजा
स्वतन्त्रताको पहिलो अध्यायदेखि नै गोर्खाहरूले गोर्खाल्याण्ड माग्दै आइरहेको छ।
गोर्खाल्याण्डकै निम्ति गोर्खाहरूले सरकारलाई गोर्खाहरूकोे इतिहास पढ़ायो। भूगोल देखायो। भाषा,संस्कृति र ङ्गरक पहिचान भएको बुझायो। तर सम्भव भएन गोर्खाल्याण्ड। देश निर्माणमा गोर्खाहरूले दिएको योगदानको कदर हुनुपर्छ भनेर चिच्चायो। तर राज्य निर्माणको अवस्था पटक्कै बनिएन।

गोर्खाल्याण्डकै निम्ति देवी देउरालीदेखि क्षेत्रीय, राज्य र केन्द्रसम्मलाई पुकार्‍यो। तर प्रार्थनाहरू कहिले स्वीकार भएन। कहिले एकीकरण भनेर तर्साउन खोजियो। कहिले नो म्यान्स ल्याण्ड र लिज होल्ड ल्याण्ड भनेर रिसायो पनि। तर केही भएन। हेगको कुरा भयो तर डेक चलेन । सशस्त्र आन्दोलन गरेर हेरियो। गान्धीवादलाई पनि अघि लगाएर कुरा राखियो। तर गोर्खे सपनाले यथार्थको धरातल कहिले टेकेन। जानिए जति, बुझिऐजति र सिकिएजति जम्मै गरेर हरियो। तर राज्य निर्माणको परिस्थिति कहिले बनिएन। उल्टो कहिले दागोपापमा ,कहिले छैटौं अनुसूचीमा , कहिले जीटीएमा बिसाउनी खोज्दै अड़कियो आन्दोलन।

आखिर किन आइरहन्छ आन्दोलनमा थकाईमार्नु पर्ने अवस्था? किन पक्रिँदैन संग्रामी सुरले लक्ष्यको सरगम? बिसाउनुपर्छ, सिँढ़ी खोज्नुपर्छ, परिस्थिति ठीक छैन, राष्ट्रिय राजनीति अनुकूल छैन भन्नेे जस्तो वैकल्पिक व्यवस्थाहरूले


; गोर्खाल्याण्डको मार्गमा किन लङ्‌की थापिरहन्छ? यस्ता सयौं प्रश्नहरूको उत्तर भने पटक्क सजिलो छैन। अनेकताको औंली उठाए पनि, क्षेत्रीयताको प्रश्न तेर्साए पनि, राष्ट्रिय स्तरको राग अलापे पनि कस्तो क्षेत्रीयता?, कस्तो राष्ट्रिय स्तर? दुवै पक्ष अझसम्म स्पष्ट छैन। यदि क्षेत्रीय स्तरमा नै गोर्खाल्याण्डको औचित्य बुझाउनपर्छ भनेका हुन्‌ भने प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रदेखि लिएर गोर्खा बाहुल क्षेत्रसम्म गोर्खाल्याण्ड अपरिचित छैन।

राष्ट्रिय स्तरमा बुझाउनु पर्छ भनेको हो भने स्वतन्त्रतादेखि यतिका बर्षसम्म हजारौंचोटि देशका प्रधानमन्त्रीदेखि लिएर सन्त्रीसम्मलाई गोर्खाल्याण्ड गठनको आवश्यकता औंल्याउँदै बिन्ती विछ्‌याइसकिएको छ। इन्द्रजित खुल्लरदेखि लिएर जसवन्त सिंहसम्मलाई जिताएर गोर्खाल्याण्ड भन्छौं भने पाहुनालाई पनि परिवार बनाउन तयार छौं भनेर जताइसकिएको छ। अझै के बॉंकी रहेको छ त राष्ट्रिय र क्षेत्र स्तरमा गोर्खाल्याण्ड बुझ्नुपर्ने ? गोर्खाल्याण्ड बुझाउनुपर्ने? राष्ट्रिय राजनीति र राष्ट्रिय परिस्थितिको अनुकूलता नै पर्खनु हो भने पनि अघि थुप्रै राज्य गठन भइसकेको, हुन लागेको उदाहरणहरू लक्षेप्रै छन्‌। भारत स्वतन्त्रताको 65 औं बर्षगॉंठसम्म आइपुग्दासम्म के एउटै परिस्थिति पनि गोर्खाल्याण्ड राज्य निर्माणको निम्ति अनुकूल भएन त? भन्ने प्रश्नहरू पनि स्वतः खड़ा हुन्छ।

परिस्थितिले आन्दोलन निम्ताउने भए पनि आन्दोलनको लक्ष्य आन्दोलनको प्रकृतिले नै तय गर्छ। परिस्थिति हेरेर परिवर्तन आउँदैन। तर आन्दोलनले नै परिस्थितिमा परिवर्तन ल्याउने गर्छ। परतन्त्र भारतको स्वतन्त्रता इतिहासले पनि यसै भन्छ। यी सब परिस्थितिहरूमा एक शताब्दी पुरानो गोर्खाल्याण्डको मागले गोर्खाल्याण्डकै योद्धाहरूलाई आत्मालोचना गर्नुपर्ने समय आएको बताइरहेको छ।

0 comments: on "गोर्खाल्याण्डको युद्ध र आत्मालोचनाको कुरा"