मुख्य समाचार :


पारसहाटमा जैविकको बिचल्नी

सस्तोले बिगार्दैछ स्वास्थ्य

प्रज्ज्वल छेत्री
कालेबुङ,18 फरवरी।
प्रसिद्ध नेपाली साहित्यकार इन्द्रबहादुर राईको कथा ‘रातभरि हुरी चल्यो’-जस्तै कालेबुङको हाटबजारमा साग-सब्जीको पसल राखेर जीवनको टालो टाल्ने 65 वर्षिय वृद्धा इन्द्रमाया तामाङनीको मनमा पनि हुरी चलिबस्छ।
मनभरि चलेको हुरीलाई शान्त पार्न उनी आफ्नो अघि फैलाएको सागसब्जीलाई चिसो पानी छर्कने गर्छिन्‌। उनको मनमा चलेको यो हुरी नयॉं भने होइन। पतिको अकालमै मृत्युपछि स-साना बालबच्चाको जिम्मेवारी आफ्नो कॉंधमा आएपछि उनले यो पसल शुरू गरिन्‌। तिनको पसलले कति घाटा खायो र कति नाफा गर्‍यो त्यसको हिसाब तिनको त्यही पुरानै स्तरको पसलले स्पष्ट पारिरहेको थियो। सब्जी बेचेर जीवन धान्नु ठूलै जोखिम रहेको भएपनि तिनले जोखिम अघि आफ्नो हिम्मत कहिले तल पारेनन्‌। यस्ता इन्द्रमायाहरूको लामेतॉंत दार्जीलिङ जिल्लाभरि कति छन्‌ कसैले गन्न सक्दैनन्‌।

वास्तवमा इन्द्रमाया त एकजना प्रतिनिधि पात्र मात्र हुन्‌। कालेबुङ नगरको फुटपात र बजारभरि स-साना पसलहरू थापेर जीवनको गाडी ठेल्ने यस्ता सयौं इन्द्रमायाहरू छन्‌ जसको कथा अझै सुनिएको छैन।
छेलिएको करुण कथा बोकेर उनीहरूले त्यही नाटक गरिरहेका छन्‌, जो कर्मले दिएका छन्‌। युरिया तथा रसायनिक मलद्वारा उमारिएको सब्जीले विश्व बजार पिटिरहेको बेला हल्ला निक्कै गरेर विश्वमा नै जैविक क्रान्तिको हावा चलिरहेको छ। तर त्यो हावा कालेबुङसम्म आइपुग्दा त्यही दुर्गन्धमा रुपान्तर हुन्छ जो रसायनिक सब्जी र युरियाबाट उमारेको सब्जीबाट निस्कन्छ। इन्द्रमायाले भनिन्‌, बस्तीको कि बजारको, किन्नेले कहॉं सोंच्छन्‌ र? हामी भने बस्तीको सब्जी हो, राम्रो छ, लैजानुस्‌ भनेर दिनभरि कराइरहनुपर्छ। तर हाम्रो सब्जी कोही बेला उब्रन्छ तर त्यही तल्तिर सिलगढीबाट ट्रकमा खॉंदेर उँधैबाट ल्याएका सब्जीहरू भने टापटिप हुन्छ।

इन्द्रमाया अनुसार कालेबुङमा के बस्तीको के समतलको सब्जी भनेको सब्जी मात्र हो। न त किन्नैले जैविक चिन्छ न त रसायनिक। सबैभन्दा प्रमुख र ठूलो विडम्बना के देखियो भने विश्वमा नै जैविक क्रान्ति शुरू भएको भएपनि यस्ता इन्द्रमायाहरूले रात-दिनको पसिनाले उनमारेको जैविक साग-सब्जीहरू कालेबुङ हाटबजारमा मुल्यहीन छ। सातामा दुइपल्ट शनिबार अनि बुधबार लाग्ने कालेबुङ(पारशमणि) हाटमा स्थानीय मात्र नभएर अलगडा, लाभा, समलबुङ, टिस्टा, कफेर, कम्सी, साङ्‌सेर लागायत सुदुरवर्ती गाउँहरूबाट पनि इन्द्रमायाहरू आफ्नोे फसल बेच्न आइुग्छन्‌। रायो-साग, स्कूस, डल्ले खोर्सानी, बिँइ, सिमराया, ब्रुकाउली, टमाटर, लसुन, अदुवा आदि राखेर स-साना पसल थाप्ने यी इन्द्रमायाहरूको जैविक खेतीलाई चिन्ने कालेबुङमा विरलै पाइन्छन्‌। बस्तीको गाई, बाख्राको मल लगाएर उमारेको सब्जी हो भन्दा के फरक पर्छ र? इन्द्रमायाले भनिन्‌, किन्नैले सस्तो खोज्छन्‌।

स्वस्थ्यलाई राम्रो हुने कुरा उनीहरूलाई गरे उल्टै बिच्किन्छन्‌। दुइएक पढेलेखेका आउँछन्‌ र खुब सर्काएर सब्जी लैजान्छन्‌ तर त्यतिले हामीलाई पुग्दैन।ती सब्जीहरू इन्द्रमायाहरूले गाउँबाट बोकेर अथवा साना गाडीहरूमा लादेर थारै मात्र हाटमा ल्याएका हुन्छन्‌ जो मधिसे व्यापारीहरूको रयायनिक फसलहरूभन्दा धेरै लाभदायक हुँदाहुँदै पनि बिक्री गर्न हम्मे-हम्मे पर्ने गरेको यी पसलेहरू बताउँछन्‌। एकपल्टको हाटमा 11 ट्रक 7 पिकपअप भन्दा अधिक मधिसे सामानहरू बिक्रि हुने यस हाटमा 15-20 जीप गॉंउको सागसब्जीहरू बिक्री हुन हम्मे-हम्मे पर्ने स्थिति छ। हाटबजार व्यापारी सङ्गठनका सचिव एवं 10 नम्बर वार्डका नगरपार्षद रवि प्रधानले भने, हाटबजारमा जैविक रूपमा खेती गरिएका सागसबाजीहरूको निम्ति छुट्टै स्टलहरू छैनन्‌। कालेबुङ हाटबजार खिचडी सरह भइसकेको छ। फसल जैविक हो भनेर छुट्टाइने साधन पनि छैन।
मधिसे साग-सब्जीकोे तुलनामा यी जैविक फसलहरूको ंमूल्य अधिक हुने भएकोले नै उनीहरूको फसल राम्ररी बिक्री हुन सक्तैन। उनीहरूले कालेबुङमा सही मूल्य पाउँदैनन्‌।

जैविक अनि रयायनिक फसलको फाइदा-वेफाइदा कालेबुङबासीले वास्तै गर्दैनन्‌। तिनीअनुसार जैविक खेती स्वस्थ्यको निम्ति अत्यन्त लाभदायक हुँदाहुँदै पनि मानिसहरू सस्तोमा मधिसे रसायनिक सव्जीहरू नै धेर किन्नै गर्छन्‌। सस्तोले एक दिन कालेबुङबासीलाई पक्कै पखाला चल्छ भन्ने विचार यहॉं चरितार्थ हुने देखिन्छ। वर्तमान बढ्‌दो जनसंख्या अनि बेरोजगारहरूको कारण हाटबजारलाई व्यवस्थित गरे मात्र यी पसलेहरूको उत्थान हने प्रधानले बताए। अघिल्लो 10 वर्षभित्र बढ्‌ने जनसंख्या अनि बेरोजगारहरूलाई हेरेर हाटबजारको मुनिल्लो तलामा मोटरस्ट्याण्ड निर्माण गरी मल्टिस्टोरेज मार्केट हुनपर्ने प्रधानले सुझाव राखे।

स्मरण गराइन्छ 1886 साल ब्रिट्रिसकालीन समयमा स्थापित यस हाटबजार भुटानको जमिन रहेकोले त्यसबेला यस हाटबजारलाई एटी दोर्जी नामले चिनिन्थ्यो भने पछिबाट राजा दार्जी माइकल हुँदै वर्तमानमा पारमणि बजार नामकरण गरिएको छ। कालेबुङ हाटबजारदेखि नजिकै रहेको चेसक्लिनिकमा त्यसबेला तिब्बततिर सामानहरू लैजानको निम्ति राखिएको घोडा अस्थल पनि रहेको कुराले कालेबुङ हाटबजारले एक छुट्टै ऐतिहासिक महत्व बोकेको पाइन्छ। 1 ऐकर 22 डेसिमल जमिनमा फैलिएको यस हाटबजारमा न त व्यापारीहरूको निम्ति पब्लिक शौचालय नै रहेको छ न त बिजुलीको नै व्यवस्था गरिदिएको छ।

स्टलहरू पनि पूर्णरूपमा नभएको यस हाटबजारमा व्यपारीहरूको निम्ति गोदामसम्म नभएको देखिएको छ। व्यापारीहरूको निम्ति गोदामसम्म नहुँदा प्रायः दैनिक रूपमा व्यापारीहरूको सामानहरू चोरी हुने गरेको उनीहरू बताउँछन्‌।

0 comments: on "पारसहाटमा जैविकको बिचल्नी"