मुख्य समाचार :


सुबास घिसिङ छैटौं अनुसूचीको तयारीमा -अध्ययनको निम्ति एकान्तमा गएको सूत्रको दाबी

मनोज वोगटी
कालेबुङ,16 फरवरी।
यता गोर्खाल्याण्ड टेरिटोरियल एड्‌मिनिष्ट्रेशन गठनको तयारी जुन गतिमा भइरहेको छ उत्ति नै रफ्तारमा सुवास घिसिङले छैटौं अनुसूचीबारे आफ्नो तयारी गरिरहेको सूत्रले बताएका छन्‌।

गोरामुमो सूत्रले जनाए अनुसार जीटीए र छैटौं अनुसूचीबीचको फरक र लाभबारे जनता र सरकारलाई बुझाउन घिसिङले गतिलो रणनीति हातमा लिएका छन्‌। रणनीतिलाई चुडान्त गर्नको निम्ति सुवास घिसिङले व्याङ्‌कक प्रास्थान गरेका छन्‌।

सूत्र अनुसार जब गोर्खा जनमुक्ति मोर्चाले गोर्खाहरूलाई ट्राइबलको स्टाटस दिइनुपर्ने माग घोषितरुपमा गर्‍यो तब घिसिङलाई आफ्नो पोइन्ट राख्ने मार्ग प्रसस्त भएको छ। अहिले नै छुट्टै राज्य हुननसक्ने कुरा बुझेकोले नै सुवास घिसिङले स्पेटवाइज-को राजनीति शुरू गरेको सूत्रको दाबी छ। तर गोजमुमोले सोझै छुट्टै राज्य ल्याउने भनेपछि घिसिङले सोझै छुट्टै राज्य हुन्छ भने राम्रो हो भनेर मोर्चालाई सकरात्मक लियो।  घिसिङले मोर्चाको विरुद्ध कुनै पनि कुरा गरेनन्‌। मोर्चालाई सोझै छुट्टै राज्य ल्याउने अनुकूल वातावरण बनाइदिन घिसिङले पहाडसमेत छोडिदिए।

सूत्र अनुसार घिसिङसित सम्पूर्ण शक्ति हुँदा हुँदै पनि मोर्चालाई नष्ट गर्ने कुनै कार्य गरेनन्‌। बरु मोर्चालाई नै फाइदा हुने राजनीति तिनले गरिदिए। यसको एउटै कारण थियो छुट्टै राज्यको दवाबले छैटौं अनुसूचीको निम्ति मार्ग प्रसश्त हुनेछ। किन भने घिसिङलाई थाहा थियो कि सोझै छुट्टै राज्य हुन सक्दैन। तर गोजमुमो मुद्दालाई लिएर इमान्दार नहुँदा भने फेरि अर्को दागोपाप नै छुट्टै राज्यको विकल्पमा स्थापित गरिने कार्य मात्र भएन गोरामुमोले उठान गरिरहेको छैटौं अनुसूचीको निम्ति दाबी गरिएको कतिवटा विषयलाई सापटी पनि लिइयो।

अन्तमा गोजमुमोले पनि सोझै छुट्टै राज्य हुन नसक्ने भनेर जीटीए ग्रहण गर्‍यो। मोर्चाले जीटीए ग्रहण गर्नुले छुट्टै राज्यको मूल दाबीलाई लम्याउने कार्य भएको छ-सूत्रको भनाइ छ। सूत्र अनुसार घिसिङले अघिबाट नै सोझै गोर्खाल्याण्ड हुँदैन भनेर नै संवैधानिकरुपको छैटौं अनुसूचीको दाबी गरेका थिए। छैटौं अनुसूचीदेखि मारिने फड्‌को भनेको सोझै छुट्टै राज्य हो तर जीटीएदेखि मारिने फड्‌को भनेको छैटौं अनुसूची हो।

 गोरामुमोका एक वरिष्ट नेताले बताए अनुसार युनियन टेेरिटोरी, छैटौं अनुसूची अनि छुट्टै राज्य तीनवटा संवैधानिक व्यवस्था रहेकोले नै घिसिङले स्टेपवाइज-को राजनीति गरेका हुन्‌। छैटौं अनुसूचीपछि छुट्टै राज्य भएन भने पनि युनियन टेरिटोरी दोस्रो खुडकिलो थियो। केवल दुइ खुडि्‌कलोपछि छुट्टै राज्यमा पुग्न सकिने गोरामुमोको रणनीतिको गलत व्याख्या भयो। अहिले सबैले घिसिङ सही थिएछन्‌ भन्ने कुरा अनुभव गरिरहेका छन्‌। किन भने जीटीएपछिको खुड्‌किलो भने अनिश्चित छ। जीटीए, जीएटीए लगायतको अनेकौं खुड्‌किलो हुँदै पनि छैटौं अनुसूची पुग्न सक्दैन। यसै कारण सुवास घिसिङले छैटौं अनुसूचीमाथि कार्य गरिरहेका छन्‌।

अर्को गोरामुमो सूत्रले बताए अनुसार सुवास घिसिङले भारतमा जहॉं-जहॉं छैटौंं अनुसूची लागू भएको छ, ती सबैको भ्रमण र अध्ययन गर्ने कार्य भर्खर मात्र सकेका छन्‌। तिनी कुनै पनि दिन पनि आरामले बसेनन्‌। आफ्नो दाबीलाई पुष्टि गर्ने अनि छैटौं अनुसूचीलाई लिएर गरिएको गलत प्रचारलाई गलत सावित गर्ने सम्पूर्ण बलियो तथ्यहरू सुवास घिसिङले यसै भ्रमण अवधी बटुली सकेका छन्‌।

बटुलिएका सम्पूर्ण तथ्यबारे चुडान्त निष्कर्ष निकाल्न सुवास घिसिङ अन्यत्र गएका हुन्‌। यता हिजो सुवास घिसिङले पहाडमा जे पनि भइरहेको छ, यसलाई हुन दिनुपर्ने कुरा सिलगढीमा गरेका थिए। मोर्चा सूत्रले भने, पहाडमा जीटीए लागू हुने हल्ला चलेकोले घिसिङले यस्तो बयान दिएका हुन्‌।
 पहाडमा जुनै व्यवस्था लागू गरिए पनि त्यसले छैटौं अनुसूचीको मुद्दालाई कुनै फरक पार्दैन। तिनी अनुसार पहाडमा जे पनि भइरहेको छ, त्यसले घिसिङ कै तथ्यलाई बलियो गरिरहेको छ। यता घिसिङले मिरिकमा होइन दार्जीलिङमा नै जनसभा गर्ने भएका छन्‌।

 सूत्रले बताए अनुसार जुन दिन दार्जीलिङमा गोरमुमोको जनसभा हुनेछ, त्यसै दिन जनताले सुबास घिसिङको कथाको अन्तिम दृश्य देख्न पाउने छन्‌। अहिलेसम्म भइरहेको सम्पूर्ण घटनाको समापन त्यसै दिन हुनेछ। यता घिसिङको तम्तयारीको छनक गोजममोले पनि पाइसकेको छ। यसकारण गोजमुमोले घिसिङको कार्यक्रमलाई विफल पार्न विभिन्न कार्यक्रमहरूको घोषणा गर्न सक्ने अनि गोजमुमोले घोषणा गरेको छुट्टै राज्यको कार्यक्रम त्यसैको एकांश गरेको पनि गोरामुमो सूत्रले बताएका छन्‌। सूत्रले बताए, अब गोजमुमोको छुट्टै राज्यको आन्दोलन जीटीएको निम्ति हो भनेर जनतालाई बुझाइरहनुपर्दैन। जनताले सबै कुरा छर्लङ्ग देखिरहेका छन्‌।

0 comments: on "सुबास घिसिङ छैटौं अनुसूचीको तयारीमा -अध्ययनको निम्ति एकान्तमा गएको सूत्रको दाबी"