मिङ लिवाङ
’’ बाबा , भगवानको घरबाट आमा कहिले फर्किन्छ ?’’ आफ्नी चार वर्षीया अबोध छोरीको प्रश्न सुनेर पहिले त मलाई कुनै जवाफ् सुझेन....हुन त गत पाँच महीनादेखि मैले आफ्नी छोरीलाई ढाँट्दै आएको छु। उसको आमाको मृत्यु भइसकेको कठोर सत्य म कमलो नानीलाई सुनाउन नसक्ने स्थितिमा छु र जतिपल्ट उसले मलाई ’ आमा कता गयो ?’ भनेर सोधी त्यतिपल्ट नै मैले उसलाई ’ आमा भगवानको घरमा गएकी छ ’ भनेर फुस्लाएँ। भगवानको घरको अर्थ अबोध छोरीलाई थाहा छैन। यो पल्ट भने उसकी आमा भगवानको घरमा गएकी छ भन्ने कुरा उसलाई स्मरण भइसकेकोरहेछ.....तर भगवानको घरबाट कहिले कोही फर्केर आउँदैन भन्ने तथ्यबाट भने अबोध नानी अझ अनभिज्ञ छे।
वन्दनाको इच्छा थियो आफ्नी छोरीलाई ठूलो बनाउने...ठूलो मान्छे...खुब पढ़ाउने....अनि आफ्नो जातिको र आमाबाबुको नाम उज्ज्वल गराउने....आफूले गर्न नसकेको सबै छोरीबाट गराउने....यही इच्छा थियो उसको। छोरीलाई स्कूलको ड्रेस लगाइदिइसकेपछि उसको टाईको नट कस्दै मैले भनें -’’ आमा घर फर्किञ्जेलसम्म छोरीले खुब मन लगाएर पढ़ने अनि नाम कमाउने..पढ़्छ्यौ होइन ?’’
’’ परछु ,’’- तोते बोलीमा जवाफ् दिई अनि एउटा हात कम्मरमा राखेर अर्को हात माथि उचालेर नचाउँदै भनी -’’ अनि नाच्छु पनि ! आमाले नाच्नु-गाउनु पनि भनेको छ !’’
छोरीको अबोधपनप्रति मलाई माया जागेर आयो.....त्यो रात वन्दना पनि यसरी नै नाचेकी थिई - कम्मर नहल्लाई हात मात्र नचाउँदै किनभने त्यसबेला ऊ नाच्न सक्ने स्थितिमा थिइन। निधनको तीन दिनअघि त्यो रात ऊ अत्यन्तै खुसी थिई। मध्यरातमा सड़कमा नाच्दै-गाउँदै हर्कबढ़ाइँ गरिरहेको झुण्डमा ऊ पनि सामेल भएर थपड़ी बजाई-बजाई गाइरहेकी थिई अनि माझमाझमा हात ठड़ाउँदै नाचेकी जस्तै गर्दै थिई। आफ्नो गर्भावस्थाको अन्तिम महीनामा भएको कारण मैले उसलाई त्यो हर्कबढ़ाइँमा भाग लिन नजानु भन्दा उसले भनेकी थिई ’ इण्डियन आइडल जितेर प्रशान्तले हाम्रो जातिको नाम उज्ज्वल पारिदिएको छ....यस्तो खुसी मनाउने मौका जीवनमा घरीघरी आउँदैन र जेहोस् म त जान्छु.....खुसी मनाउँछु अनि आफ्ना छोरा-छोरीलाई पनि त्यस्तै बनाउँछु !’
त्यसको तीन दिनपछि नर्सिङ्ग होमको बेडमा प्रसव पीड़ाले तड़पिंदै उसले मलाई भनेकी थिई -’’ कथङ्गाल मलाई केही भयो भने मेरो यो छोरीलाई तिमीले आफ्नै छोरी सम्झेर पाल्नेछौ......मलाई वाचा देऊ...!’’
हाम्री चार वर्षीया छोरीलाई अङ्गाल्दै मैले त्यसदिन उसलाई वाचा दिएको थिएँ -’’ यो तिम्रो मात्र छोरी होइन यो हामो छोरी हो। रगतको नाताले म यसको बाउ नभए पनि यो मेरै छोरी हो.....यो तिम्रो शरीरको एउटा अङ्ग हो..तिम्रो कोखबाट यसले जन्म लिएकी हो...यो नै मेरो निम्ति पर्याप्त छ त्यसैकारण यो मेरै छोरी हो....तिमीले सुर्ता गर्नु पर्दैन...यसको निम्ति मैले वाचा दिनु जरूरी छैन तर तिमीलाई मेरो वाचाले सन्तुष्टि दिन्छ भने म वाचा दिन्छु यो मेरै छोरी हो मेरै...बरू यसको साथी जन्माउने काम सकेर तिमी छिटो तङ्ग्रिऊ...बुझ्यौ..?‘‘
अनि नानीको जन्मअघि उसले अन्तिम सास फेरी......कहिले नफर्किने गरी भगवानको घर गई।
छोरीको टाईको नट कसिसकेपछि मैले उसलाई बिस्तारै अर्कोपट्टि फर्काएँ अनि उसको केश मिलाइदिन थालें तिनै हातले जुन हातले पाँच महीनाअघि उसकी आमालाई दफनाएका थिए, जुन हातले उसकी आमाको अन्तिम संस्कार गरेका थिए। त्यो एक रात उसले पनि यसरी नै मेरो केश खेलाइदिएकी थिई। बेडरूमको कुनामा भएको रिडिङ्ग टेबलमा म त्यसबेला पढ़िरहेको थिएँ। बालाखा छोरी दिनभरि उफ्रिएको कारणले थाकेर अघि नै सुतिसकेकी थिई। टेलिभिजनमा आइरहेको कुनै रोचक सिरियल हेर्दाहेर्दै उसलाई कुन्नि के भयो ऊ जुरूक्क उठेर मेरो पछाड़ि आई र मेरो केश खेलाइदिंदै भनी -’’ इन्द्र !’’
मैले ’’ हुँ ’’ मात्र भनें।
’’ मलाई एउटा छोरा चाहिन्छ !’’
फेरि मैले ’’ अँ ’’ मात्र भनें।
’’ के हुँ हुँ मात्र गरेको ,-’’ भन्दै उसले एउटा हातको पासो बनाएर मेरो घाँटीमा बेरेर अर्को हातले किताप थुतेर उता घुइँक्याई र थपी -’’ मलाई एउटा छोरा चाहिन्छ भनेको !’’
’’ ल...ठीकै छ....अहिले म यो किताप पढ़िहाल्छु नि...खुब इन्टरेस्टिङ्ग किताप छ।’’- भन्दै मैले फेरि किताप टिपें।
’’ मभन्दा पनि इन्टरेस्टिङ्ग छ...!’’- उसले लाड़े स्वरमा भनी।
’’ आज तिमीलाई के भयो हँ....!’’
’’ आज म मुडमा छु.....मलाई एउटा छोरा चाहिन्छ !’’
’’ तर मलाई चाहिन्न...,’’- मैले अलिक कड़ा अवाजमा भनें -’’ तिमीलाई थाहा छ त ,तिमीले नै मलाई भनेको छोरी जन्मिदा कस्तो कम्प्लिकेटेड भएको थियो अनि डाक्टरले त्यतिबेला साफ भनिदिएको छ - अर्को नानी कोशिश गर्यो कि तिम्रो ज्यानको रिस्क हुनेछ !’’
’’ जिन्दगी नै त रिस्क हो अनि राम्रो थोक पाइन्छ भने अलिकता रिस्क उठाउँदा के हुन्छ भनेर मलाई भगाउने दिन तिमीले सम्झाएको थियौ !’’
’’ त्यो स्थिति अर्कै थियो अनि यो स्थिति अर्कै छ !’’
’’ कस्तो अर्कै स्थिति ? के त्यसबेला तिम्रो ज्यानको रिस्क थिएन ?’’
’’ प्लीज वन्दना ! तिमी अर्को नानी पाउने ढिपी नगर !’’- झिजो मान्दै मैले भनेपछि उसलाई फुस्लाउन मैले अझ थपें -’’ बरू म तिमीलाई तिमीले अस्ति मन पराएको मंगलसुत्र किनिदिन्छु नि !’’
’’ होस् चाहिएन ! बिहे भएका हाम्रा आइमाईहरूले लगाउने मंगलसुत्र होइन तिलहरी हो तर टिभी सिरियल हेरेर हामीले मंगलसुत्र लगाउनु सिक्यौ भनेर तिमी अस्ति गन्गन गरेको होइनौ ! र मंगलसुत्र चाहिएन मलाई अनि तिलहरी पनि मसित थुप्रै छ त्यो पनि चाहिएन । बस् मलाई त नि एउटा छोरा चाहिन्छ -’’ भन्दै उसले आफ्नो अङ्गालो अझ कसी र आफ्नो आर्द्र ओंठले मेरो कान टोक्दै गालामा घुमाई।
’’ एउटी छोरी छ भइहाल्यो त !’’
ऊ केही बोलिन....उन्मादी भइरही।
मैले उसको हातको बन्धन फुकाएर झटकार्दै भनें -’’ तिमी आज मुर्ख जस्तै कुरा गर्दैछ्यौ....यो ठीक होइन !’’
मेरो अप्रत्यासित प्रतिक्रियाले ऊ अलमल्ल भई किनभने मैले कहिले यसरी झर्किएर उसित कुरा गरेको थिइन..ऊ ठुस्किई र खुट्टा भुइँमा पछार्दै पलङमा गई र डवाङ्ग लड़ी।
मलाई आभास भयो ऊ रिसाएको।
मैले किताप बन्द गरेर राखें अनि डिमलाइट छाड़ेर कोठाका अरू जम्मै लाइट अफ् गरें।
पलङमा उसको छेउमा ढल्किएर मैले उसलाई तान्दै बोलाएँ -’’ऐ !’’
ऊ केही बोलिन , ठुस्किएर अर्कोपट्टि फर्किरही।
मैले फेरि उसलाई बोलाउँदै तानें ’’ ऐ ’’। ऊ बिस्तार मतिर फर्की...मैले उसको चिउँड़ो पक्रेर उसको टाउको उचालें। ऊ अहिले पनि ठुस्किरहेकी थिई....पुक्क मुख फूलाएर। मैले भनें -’’ तिमीलाई छोरा किन चाहियो ? छोरी छँदैछ त !’’
’’ छोरी एक्ली भयो नि त....त्यसलाई पनि त एउटा साथी चाहियो !’’
’’ तर तिमीलाई थाहा छ यसमा तिम्रो ज्यानको रिस्क छ......थाहा छ नि ?’’
’’ थाहा छ। तर रिस्क बिना जिन्दगी के मजा.....सजिलै पाएको चीजको महत्त हुँदैन भनेर तिमीले नै भनेको हो ! फेरि भएन गत तीन वर्षभित्र तिमीसित मैले मेरो एउटा सम्पूर्ण जीवन बाँचिसकेकी छु.....तिमीले मलाई यो जीवनमा चाहिने जति माया, सम्मान, खुसी जम्मै दिइसकेको छौ। अब यो जीवनसित मेरो केही गुनासो छैन.....केही चाहना छैन। म जीवनदेखि सन्तुष्ट छु बस् तिमीले मलाई एउटा छोरा दियौ भने मेरो यो परिवार पनि पूरा हुनेछ !’’
’’ सपोज्...तिमीले छोरा पाएपछि मैले छोरीलाई हेला गरें भने....सपोज् नि ?’’
’’ मलाई तिमीमाथि पूरा विश्वास छ....यो तिम्रो झड़्केली छोरी हो तर तिमीले यसलाई कहिले हेला गर्ने छैनौ....मैलेभन्दा पनि धेर तिमीले यसको स्याहारसुसार गर्नेछौ किनभने यो तिम्रो वन्दनाको छोरी हो.....तिम्रो वन्दना जसलाई तिमी सबैभन्दा ज्यादै माया गर्छौ।....अँ छोरा भयो भने म चाहन्छु त्यसको जम्मै बानीबेहोरा, स्वभाव, संवेदनशीलता, भावुकता, सहनशीलता तिम्रो जस्तै होस् - ट्याकटुक तिम्रो जस्तै !’’
’’ तर एउटा बानी चाहिँ त्यसको बाउको जस्तो नहोस् - अर्काको स्वास्नीलाई माया गर्ने !’’
’’ त्यो पनि होस्,’’- भन्दै ऊ मेरो छातीमा गुटुमुटु भई।
’’ आज तिमी नमान्नेरहिछौ..!’’- भन्दै उसलाई मैले आफ्नो बाहुपासमा बाँधें अनि उसको आकांक्षा पुरा गरिदिनथालें।
’’ बाबा स्कूल आइपुग्यो !’’ - छोरीले भन्दा म झसङ्ग भएँ। निहुरिएर छोरीको टाईको नट फेरि एकपल्ट कस्दै मैले भनें -’’ भरै स्कूल छुट्टी भएपछि मलाई यहीं पर्खनु.....म नआइञ्जेलसम्म यहाँबाट कतै नजानू..!’’
मेरो गालामा च्वाँक्क म्वाइँ खाएपछि ऊ टाटा गर्दै स्कूलतिर दगुरी.....ठोक्किएर लड़्छ कि भन्ने त्रासले ऊ कक्षा-कोठाभित्र नपसुञ्जेलसम्म मैले त्यहीं उभिएर उसलाई हेरिरहें।
× × ×
आज छुट्टीको दिन। छोरीको स्कूल पनि विदा छ।
निकै दिनपछि आज म घरबाट बाहिर निस्केँ। छोरीसित डुल्दै अवनिको रेकर्डिङ्ग स्टुडियो पुगें। आज उसको स्टुडियोमा कुनै रेकर्डिङ्ग रहेनछ। ऊ एक्लै केही मिलाउँदै थियो। मलाई देख्ने बित्तिक्कै ऊ उठेर आयो र हात मिलायो ’’ अरे यार ! निकै दिनपछि पो यता आइस् ?’’
’’ घरभित्र बस्दा-बस्दा बोर भएँ नि त !’’- एउटा कुर्सी तानेर बस्दै मैले भनें। छोरी रेकर्डिङ्गको कुनै यन्त्र पाएर त्योसित खेल्न थाली।
’’ बोर किन हुँदैन र ?....त्यसैले बाहिर निस्किनु पर्यो...जिन्दगी थामिनु त भएन नि !’’
’’ हो ! कुरा त ठीकै हो....तर के गर्नु.....वन्दना गएपछि मलाई सबै थोक नीरस लाग्न थालेको छ.....सबै थामिएको छ....जिन्दगी रोकिएको छ। फेरि भएन केही काम गरूँ भने छोरी छ......यसलाई एक्लै छोड़न पनि मिल्दैन....!’’
’’ एउटा कुरा भनूँ....तँ रिसाउँदैनस् ?’’
’’ भन न किन रिसाउनु...तैंले मेरो नराम्रो त सोच्दैनस्..!’’
’’ अब वन्दना पनि रहेन........छोरीलाई उसको आफ्नो बाउकहाँ पठाइदे......उसको बाजेबोजूले हेरिहाल्छ....तँसित छोरी हेर्ने मान्छे पनि छैन..!’’
म केही बोलिनँ।
’’ रिसाइस् क्या हो ?’’- अवनिले सोध्यो।
’’ किन रिसाउनु। तर अब यसको बाउ भने पनि आमा , बाजेबोजू जे भने पनि मै हुँ....म अरू केही सोच्नु सक्दिनँ....मेरो वन्दनाको छोरी मेरो आफ्नै छोरी हो। तैंले त त्यसो नभन्,मेरो भावनालाई बुझ्....बरू मेरो वाचा पुरा गर्न मलाई मदत् गर!’’
’’ आई एम् सरी !’’
’’ मलाई थाहा छ मैले यसलाई यसको बाबुबाट छुट्टाएको छु.....यसमा मेरो स्वार्थ थियो होला, वन्दनाको स्वार्थ थियो होला तर यसको त यसमा केही गल्ती छैन....त्यसैकारण यसलाई म कहिले बाबुको अभाव फिल गर्न दिँदिन....पछि बुझ्ने भएपछि सबै बताइदिनेछु....त्यतिबेला यसको खुसी यसले कसलाई रोज्ने छ...!’’
’’ कुरा त ठीकै हो....यसमा नानीको के भूल !’’- निस्फिक्री खेलिरेहकी छोरीलाई हेर्दै उसले भन्यो।
’’ थाहा छ....मैले वन्दनालाई भगाउँदा तँहरूले मलाई मदत् गरेको थिइस्...उसको लोग्नेले मलाई मार्नु खोज्दा.....तैंले नै पूलिस-कचहरी-राजनीति सबै चहारेर कुरा मिलाइदिएको थिइस्.....तँ नभएको भए सायद वन्दना कहिले मेरो हुने थिएन...!’’
’’ हो नि !....तर कहिलेकाहीँ मलाई अचम्म लाग्छ....कस्ता-कस्ता केटीहरू तँसित बिहे गर्नु तेरो पछाड़ि लागेका थिए....तर तैंले माया गरिस् अनि बिहे पनि गरिस् त एउटी ब्याहितालाई....त्यो पनि एउटी नानीकी आमालाई..!’’
’’ माया भनेको यस्तै हुँदो रहेछ......गर्छु भनेर हुँदैन.....आफै हुँदो रहेछ। यो मनमा कसैको निम्ति एकपल्ट मायाको किरण स्फूरण भए यसले स्थिति - परिस्थिति केही हेर्दैन रहेछ।’’
’’ यस्तै हो जिन्दगी भनेको.....जेहोस् जे हुनु थियो त्यो त भयो....अब काम शुरू गर्नुपर्छ.....आफ्नो निम्ति न सही तर यही छोरीको निम्ति केही गर्नुपर्छ !’’
’’ काम त निश्चय पनि शुरू गर्नु पर्छ.......यसै बसेर हुँदैन.....यो कुरा मलाई पनि थाहा छ......तर कुन्नि किन मेरो सोच्ने शक्ति , काम गर्ने लगन, केही पाउने लोभ सबै क्षीण भएको छ।’’
’’ त्यसो भनेर हुँदैन.....कोशिश त गर्न पर्यो !’’
’’ कोशिश त गर्नै पर्यो..!...अनि म कोशिश पनि अवश्यै गर्नेछु।’’
त्यो रातभरि मैले सपनामा वन्दनालाई देखें। ऊ सड़कको पल्लोपट्टि हात हल्लाउँदै उभिएकी थिई....केही भन्ने प्रयासमा। म सड़कको यतापट्टि थिएँ.....उसम्म पुग्ने असफल कोशिश गर्दै....तर उसम्म पुग्न पनि सकिनँ अनि उसलाई केही भन्न पनि सकिनँ।
× × ×
साँझ छोरीलाई लिएर उसको डान्सक्लास जाँदै थिएँ बाटामा टुप्लुक्क अनितालाई भेटें। भेट्ने बित्तिक्कै उसले चिया खान जाऊँ भन्न थाली.....मैले उसको कुरा काट्न सकिनँ।
चिया-पसलको कुनाको टेबलमा चिया खाँदै उसले सोधी -’’ अन्त ! अब अरू के विचार छ ?’’
’’ कस्तो विचार ?’’
’’ अर्को बिहे गर्ने कि एक्लै बस्ने ..?’’
’’ त्यस्तो केही सोचेको छुइनँ...!’’
’’ यो छोरीको निम्ति पनि त तिमीले बिहे गर्नपर्यो..!’’
’’ भने नि मैले अहिले त्यस्तो केही सोचेको छुइनँ।’’
’’ मैले तिमीलाई कति भनें तर तिमी अलिकता पनि पग्लिएनौ...म अझै पनि तयार छु..!’’
’’ तिमी त्यसो नभन तिम्रो हस्ब्याण्ड छ.....यसो भन्नु सुहाउँदैन..!’’
’’ के गर्नु त्यो हस्ब्याण्ड.....जो रात परेपछि बेडमा मात्र हस्ब्याण्ड हुन्छ त्यसपछि दिउँसो मेरो इच्छा, आकांक्षा र भावना उसलाई केही ध्यान हुदैन ! म के गर्छु.....मलाई के मनपर्छ....उसलाई आजसम्म थाहा छैन। सायद भगवानको खेल होला, सही मान्छेको महत्त बुझ्नुको निम्ति हामीलाई पहिले गलत मान्छेसित भेट गराइदिन्छ....तर गलत नै किन नहोस् एउटी आइमाईको निम्ति हस्ब्याण्ड हुनुपर्ने सामाजिक बाध्यता हो - नभई नहुने - तर जीवनको यो घुम्तीमा पनि तिमी जस्तै कोही अर्को पाए म आजै यस्तो हस्ब्याण्ड छोड़न तयार छु। म पढ़ेकी छु , राम्री छु....स्मार्ट छु....नयाँ विचारकी छु....के कमी छ ममा ?’’
’’ अरूसामु आफ्नो लोग्नेको यसरी बदख्वाइँ गर्नु राम्रो होइन, मान्छेले फाइदा उठाउँछ। .....उसमा हजार दोष होला तर राम्ररी महसुस गरिहेर कतै एउटा राम्रो बानी त होला...त्यही बानीलाई माया गर्नु सिक..। त्यसै पनि कोही मान्छे त्यति गलत हुँदैन अनि सबै मान्छे सधैं सही पनि हुँदैन...गलत र सही मान्छे भन्ने भ्रम मात्र हो। तिमी नि कहिलेकाहीँ पगली जस्तै कुरा गर्छ्यौ - नसोची, नसम्झी !’’
’’ जसलाई आफ्नो सोच्छौ त्यसको दुःख मात्र दुःख अरूको दुःख चाहिँ दुःखै होइन......!’’
उसको इशारा बुझ्छु म....गलत कामलाई सही ठहर्याउने कुनै तर्क हुँदैन त्यसैले चुप्प लाग्नु बाहेक मसित अरू कुनै विकल्प छैन। यो मनको बेहोरा पनि यस्तै छ - कसैको निम्ति पग्लिदिन्छ अनि कसैको निम्ति कठोर भइदिन्छ...........मनलाई अन् र अफ् गराउने एउटा स्वीच पनि भइदिए त !
’’ थाहा छ तिमीलाई - हाम्रो जीवनमा के अभाव छ त्यो हामीले त्यसबेला मात्र चाल पाउँछौं जब हामीले जीवनमा कुनै राम्रो चीज भेट्टाउँछौं !’’- मलाई चुप्प देखेर उसैले अझ थपी।
’’ प्लीज यो सबै सोच्ने अहिले मेरो सामर्थ्य छैन....म आफ्नै पीरमा छु....अहिले म गएँ।’’- भनेर म चियापसलबाट निस्केँ। सायद म उबाट तर्किन चाहन्छु। निस्किने बेलामा उसले छोरीको हातमा एक प्याकेट कुरकुरे थमाइदिई।
डान्सक्लासमा छोरी आफ्ना मसिना पाइताला डान्सफ्लोरमा थर्काउँदै नाच्दा मलाई वन्दना नाचिरहेकी जस्तो लाग्यो र मैले उसको कुरकुरे चपाउँदै जम्मै संसार बिर्सेर ऊ नाचेको हेरिरहें - एकहोरो।
× × × × ×
पग्ला कुकुर
12 years ago
0 comments: on "तिम्री छोरी"
Post a Comment