मनोज वोगटी
कालेबुङ, 28 फरवरी।
मुम्बई महानगरीको कोलाहलबीच पनि महेशले जीविकोपार्जनको निम्ति खुट्टा टेक्ने ठाउँ पाए।
दाहाल कोरियर सर्विस। कालेबुङबाट बटारिएर हिँडेको ठीटोलाई के थियो, आएको सामाग्री टिप्यो र चहार्यो मुम्बई नगरी। तिनी एक दिन ग्रान्ट रोड पुगे। रेडलाइट एरिया भनेर महेशले सुनेको ठाउँ। कसो भएर तिनले दार्जीलिङकै एक युवती भेट्टाए। देहधन्दामा पॉंचवर्षदेखि लागेको छ। युवतीसित लामै कुराकानीमा महेशले थाहा पाए, मैले गाउँ नै फर्किएर काम गर्नुपर्छ। चारवर्षपछि तिनी कालेबुङ फर्किए। तिनी फर्किएको एकमहिनामा कालेबुङ बजारमा मानिसहरूले एउटा पर्चा पाए।
जहॉं लेखिएको थियो-हाम्रो विवाह संस्थान। ‘अहिलेसम्म 22 जोडी मिलाइसकेको छु’ बोङ बस्तीका महेश दाहालले भने, ‘बिस्तारै बुझ्दैछन् अरुले सम्पर्क गर्न थालेका छन्।’ मुम्बईको रेडलाइट एरियामा भेटिएकी युवतीले महेशलाई धन्दामा लाग्नुको त्यो कारण खोलिन्, जसले महेशलाई जोडी मिलाउने काम गर्नमा प्रेरित गर्यो। उमेर भइसक्दा पनि घरकाले बिहेको कुरै गरिदिएन। युवतीलाई भने बिहे गरेर लोग्नेसित बस्ने मन थियो।
उमेर चिप्लिँदै गइरहेको थियो। यस्तो बेला नै नेपालबाट गाउँ आएका एक सज्जन लाग्ने मान्छेसित हेमखेम बढ्यो। बिहेको प्रस्ताव पनि राख्यो। त्यसपछि युवतीले युवकसित चम्पट कसिन्। जुन सपना बोकेर तिनले चम्पट कसिन्, त्यो सपनाले मुम्बईको रेडलाइट एरियामा नै आत्महत्या गर्यो। महेशलाई लाग्यो, युवतीले जोडी मिलाइदिने संस्था पाएको भए अहिले तिनको घर संसार राम्रै चलिरहेको हुनेथियो। महेशलाई गाउँकै एक बुढोकन्ये जागिरे दाजुको पनि याद आयो। जसले ‘पाए त बिहे गर्ने थिएँ’-भनिरहन्थे। तिनले न केटी खोज्न सके, न तिनको बिहे नै भयो। महेशलाई लाग्यो गोर्खा समाजमा एउटा नदेखिने समस्या लुकेर बसेको छ। जसको समाधानको बाटो खोजिएन भने यसको परिणति हाम्रै समाजलाई घातक हुन सक्छ। उदाहरण थिइन् मुम्बईको रेडलाइट एरियामा भेटिएकी युवती।
मुम्बईजस्तो महानगरीमा राम्रै कमाई हुने कोरियर सर्विस पनि महेशलाई भुसुना जस्तो लाग्यो। भावुक प्रवृतिको महेशलाई समाजमा लुकेर बसेको त्यही समस्याको समाधान गर्ने मन भयो। तिनी कालेबुङ फर्किए। अहिले महेश जोडी मिलाइदिने र बिबाहसम्मको पुलको काम गर्छन्। तिनले मिलाईदिएको 22 जोडीले लगनगॉंठो कसिसकेका छन्। बजारकै हरिजन रोडमा नै कार्यालय छ। पर्चाहरू बनाएका छन्। जसलाई भेटेपनि पर्चा दिन भुल्दैनन् महेश। ‘तपाईँको गाउँसमाजमा पनि यो समस्या हुन सक्छ।
उनीहरूसम्म कुरा पुर्याइदिनुहोला’ बिबहा गर्न चहानेहरूलाई खुशीको खबर भनेर लेखिएको पर्चा थमाउँदै समय दैनिकलाई तिनले भने, ‘सबै कुरा गोप्य राखिन्छ।’ महेशको हाम्रो विवाह संस्थानले बिहे गर्न चहाने तर अनेकौं कारणहरूले कसैलाई भन्न नसक्ने वा जोडी खोज्न नभ्याउने र नसक्नेहरूको निम्ति काम गर्छ। कसैले आफ्नो छोरा छोरीको निम्ति राम्रो बर वा बधु चहान्छन्, भनेको जस्तो पाएका छैनन् भने हाम्रो विवाह संस्थानसित सम्पर्क गर्दा भयो। संस्थानमा यस्तै समस्यामा रहेकाले आवेदन गर्छन्। आवेदनमा खोजेका योग्य बर-बधु आवेदनबाट नै मिलाइन्छ। उनीहरूले चाहेको जस्तो पाइयो भने उनीहरूबीच सम्पर्क सूत्र संस्थान बनिदिन्छ। आवेदनका कुराहरू सबै गोप्य हुनेछन्।
कन्ये केटा-केटी, उमेर बितेको, छुटानाम भएको, विधवा-विधुरसम्मकै जोडी मिलाइदिने काममा जुटेका छन् महेश। ‘देशभरिबाट, कहींबाट पनि आवेदन गर्न सक्छन्’ तिनले भने, ‘सबै काम गोप्यरुपमा हुनेछ।’ महेशले यो काम थाल्दा कसैबाट राम्रो परामर्श पाएनन्। तिनको कामको उद्देश्य नबुझ्नेहरूले महेशलाई ‘टाइमपास’ मिल्दैन पनि भने। ‘सज्जन मानेकाहरूबाट नै यस्तो कुरा सुन्दा म छक्क पर्थें’ महेशले भने-‘ हाम्रो समाज कस्तो रहेछ, धेरै नजीकबाट चिन्ने मौका पाइरहेको छु।’ शुरुमा तिनले सेवा निःशुल्क राखेका थिए, यसैैकारण धेरैले नै महेशलाई ‘टाइमपास पार्टनर’ मागे। अहिले तिनको संस्थानमा आवेदन गर्दा 21 सय तिर्नुपर्छ। जोडी मिलेपछि पॉंचदेखि उभोको विभिन्न शुल्क तिर्नुपर्छ। तिनले भने- ‘यसै संस्थानमा नै म्यारिज रेजिस्ट्रेशन पनि गरिन्छ।’ यो चाही तिनकोे विवाह गरेर पञ्जिकरण नगरी बसेकाहरूको निम्ति दिइने सेवा हो।
पग्ला कुकुर
12 years ago
0 comments: on "जोडी मिलाउँदै महेश"
Post a Comment