मुख्य समाचार :


चौथो आँखा-1

पत्रकार, राजनीति र हल्ला
    पथसभा शुरु हुँदाहुँदै समर्थकहरू हराउन थाले। नेताहरूको सम्भाषण सुन्न र्‍यालीमा जमा भएकाहरु थिएनन्‌।
- मनोज वोगटी

केही थिए। तर भन्न मिल्छ कि नेताहरूको भाषणको गरिमा उनीहरूलाई थाहा छ। उनीहरूले बोल्ने ‘पोइन्ट’ थाहा छ। झिँजो लाग्दो, त्यही मूर्दालाई ओल्टाइपोल्टाइ गर्ने  उनीहरूको पुरानै स्वभाव पुनरावृत भएपछि सुन्नै चाख हराइँदो रहेछ। के सुन्नु, त्यही ‘12 सय शहीदको मूल्य तिर्‌ अनि छुट्टै राज्य माग।’ शब्दलाई सही ठाउँमा प्रयोग नगरिए वाक्यको रुप सार्वजनिक हुँदा कुनै सर्कसको जोकरसम्मको पनि स्तरको हुँदैन। मनोरञ्जन त दिन्छ तर इन्कम गर्दैन। सपाट अर्थ र मुद्दाको गरिमाबीच हुने खिंचातानीले नेताहरूको एडल्टपनको जुन खिल्ली उडिरहेको छ, त्योदेखि नै बेखबरहरू नेताको लेबलमा भाषणबाजी गर्छन्‌। न अध्ययन छ न आफूले बोलेको शब्द र वाक्यको प्रभाव थाहा छ। मञ्चमा चढ्‌छ र भन्दिन्छ-‘हामीले धोका दिएका छैनौं।’ यसरी स्पष्टिकरण दिइरहनुपर्ने स्थिति आइञ्जेलसम्म पनि उनीहरूले बुझेका छैनन्‌ कि उनीहरूको ‘शक्ति’लाई कता दुरुपयोग गरिएको छ। यसैलाई पुष्टि गर्न कुनै विचारक, दार्शनिक, कवि, लेखकको वाक्य उधारो लिनु अनिवार्य छैन। ठीक उस्तै उनीहरूको समाचार सम्प्रेषण गर्ने पत्रकारले लेख्न पर्छ- ‘महाजुलूसपछि भव्य उपस्थितिबीच तिनले भने,......।’
    यसरी बोल्ने र लेख्नेबीच हुर्किएको चेतनाको स्तरले नै दार्जीलिङको अहिलेको स्थिति निर्माण गरिदिएको छ। बोल्नेले बोलेको सच्याएर लेख्ने पत्रकारहरूले जुन लठेप्रो राजनैतिक बयानबाजीलाई प्रोत्साहित गरिरहेको छ, यो ठूलो समस्याको रुपमा स्थापित भयो। बोल्नेले माओवादी पसेको भन्छ, लेख्नेले यसलाई गतिलो मसलाकोरुपमा लिएर टपलिड बनाउँछ। के हो माओवादी? न बोल्नेलाई थाहा छ न त लेख्नेलाई। मानौं माओवादी विश्वका कुनै ठूलो अपराधिक ग्याङ हो। माओवादीको अर्थ कालेबुङमा बेग्लै, बङ्गालमा बेग्लै, भारतमा बेग्लै र नजिकको  नेपालमा बेग्लै कुन कुन आधारसत्ताको भरमा बुझ्ने हो?

च्यानलहरू बन्द भयो। यो समाचार भयो। किन बन्द भयो त्यो समाचार भएन। कसरी बन्द भयो त्यो समाचार भएन। कसको कारण बन्द भयो त्यो समाचार भएन। भनिदियो-च्यानल बन्दमा हाम्रो हात छैन र लेखिदियो त्यही। पढ्‌नेले के बुझे? के बुझाइयो पढ्‌नेलाई?
दवाब, बन्द र पत्रकारहरूको विलखबन्दबीच पनि एउटा गहिरो वास्तविकता लुकेर बस्यो। मालिक पक्षले सोझै एक राजनैतिक पार्टीको गुणडागर्दीबाट हुने नोक्सनीको भयलाई अघि राखेर च्यानल बन्द गरेको बताए। तिनको बयानमा च्यानलको वैद्धता र अवैद्धताको कुरा छैन। फेरि कसले वैद्धता र अवैद्धताको कुरा गरिरहेका छन्‌? लेखिएन। किन गरिरहेका छन्‌ लेखिएन। नलेख्दा के छोपियो के देखियो? नलेख्दा लेखेको नचाहनेहरू निक्कै खुशी भए होलान्‌ तर नलेख्नु ‘असुरक्षा’ को ज्वलन्त उदाहरण नलेख्नेहरूले नलेखेरै अभिव्यक्त गरिरहेको कुरा एउटा निक्कै प्रभावकारी ‘पोइन्ट’ हो भनेर बुझ्नेहरू होलान्‌? लुकाइएको कुरा नलेखिदिनु एउटा त दवाब होला अर्को विरोध पनि हो। तर त्यो विरोध नै हो भनेर बुझ्ने लेख्ने पत्रकारहरू कति होलान्‌?

पत्रकारले कतिसम्म बोलेकोलाई कतिसम्म सेन्सर गर्ने? फरिया कतिसम्म उचाल्नुपर्छ डर्टि गर्ल विद्या वालनलाई थाहा नहोला? समस्या अ-पत्रकारहरूको जमातले पत्रकारको खोल ओडेर निर्माण गरिरहेको हो कि? पत्रकारहरूको यही नन्सेन्स-पत्रकारिताको आङमा बुँइ चड्‌ने र हुङ्‌कार गर्ने संस्कृति उचाल्ने नेताहरूको स्थायित्व बुझाइनु अब सॉंच्चि नै अनिवार्य रहेको छ। नेतालाई नेता हुनुको भ्रम र पत्रकारलाई पत्रकार हुनुको भ्रमले जुन अगणतान्त्रिक परिस्थितिको निर्माण गरिदिएको छ यो समाज विचलनको ठूलो जिम्मेवार पक्ष बनेको छ। यसैको विरोधमा आवाज उठिरहेको छ कि आवाजमा दलगत स्वार्थ टॉंसिएको छ? अहिले छानबिन हुनुपर्ने कुरा यो पनि छ। पत्रकारलाई दबाएर दबिँदैन। पत्रकारको हत्या नै गरिए कुरा अर्कै हो। हत्या जत्तिको काफरेपन अर्को होइन। पत्रकारहरूलाई सम्झाइएको छ 86मा पत्रकारको हत्या भएको इतिहास। किन? कुन औचित्यको निम्ति?

हल्ला छ, ‘होसियार बस है पत्रकारहरू हो, 86 जस्तो होला नी!’
‘डराईँ दिउँ म?’- एक पत्रकारले मलाई सोधेे।
नडराई उपाय नै छैन। अहिले कालेबुङका पत्रकारहरू डराउनु बाध्य छन्‌। सामुहिकरुपले डराइरहेका छन्‌। घोषणा गरेर नै डराइरहेका छन्‌। नेताले डराउनुपर्छ भनेकोले डराईरहेका छन्‌। डराउनुको कुरा धेर मनको बाघ र थोेरै कटुसत्य जस्तो हो। तरै पनि यो डराएको हल्ला व्यापक फैलिएको छ। फैलाइएको छ। पाठकहरूले सुने कि सुनेनन्‌ त्यो हल्ला?

अब कालेबुङबाट मिडिया कर्मीहरूलाई जुन दवाब र मानसिक प्रताडना दिइने कार्य भइरहेको छ, यसको प्रभाव दार्जीलिङ जिल्लामा नै कस्तो रहने हो, निक्कै चाखलाग्दो कुरा छ। दवाबबीच पत्रकारहरूले पनि आफ्नो धर्म बिर्सिदिएमा सत्ता र सरकारको अवस्थानमा उल्लेखयोग्य प्रभाव र परिवर्तनको रेखा कोरिँदैन? यसरी पनि सोंचियो।

0 comments: on "चौथो आँखा-1"