मुख्य समाचार :


जोखिममा तारामाया



मनोज वोगटी कालेबुङ, 12 अगस्त।
जो होंचो उसैको मुखमा घोंचो भनेजस्तो पीडा भोगिरहेकी तारामायाको गुनासोलाई कमसेकम मीडियाले अनदेखा गर्न सकेन। निकाय र तिनले आस्था राखेको एक राजनैतिक दलसित अनेकौं गुहार लगाइसकेकी तर कसैले पनि पत्तो नदिएपछि तिनी पत्रकारलाई नै आफ्नो गुनासो निकाय र दलका ठूलाहरूसम्म पुर्‍याइदिने अपील गरिरहेकी थिइन्‌। तोपखानाको सयपत्री गाउँमा एक्लै बस्ने वृद्धा तारामाया छेत्रीको घर चारैतिरबाट चर्किएको छ।

दुःख गरेर केही काठ र बॉंसहरूले बनाएको तिनको एउटै सम्पति भनेको नै घर हो। भुइँमा बेढङ्गले बेलाइती विछ्‌याएकी थिइन्‌ तर निरन्तर झरी परेकोले परिवरि धस्किन थालेपछि तिनको जोखिम शुरू भयो। घरको भुइँ चिरा परेर बढिरहेको छ। तल्तिरको देवाल पनि भत्किएको छ। वरिपरि नै चर्किएकोले अब कुनै दिन पैह्रोको मुखमा पर्नु मात्र बॉंकी छ जो हुने कल्पनैले पनि थरथर कॉंप्छिन तारा। तिनी भन्छिन्‌, मेरो त कोही छैन। लोग्ने स्वर्गे भए। एउटा छोरो थियो, मैले पढाउन नसक्ने भएपछि फादरले पढाउन लगे। गाई,बाख्रा पाल्छु र बॉंचिरहेकी छु। बल्लतल्ल सम्पतिको नाममा एउटा घर जोड़ेको, त्यो पनि पैह्रोले लैजाने रहेछ।

वरिपरि चर्किन थालेपछि नै निक्कै बुद्धि खियाउँदै तारा निकायमा पनि पुगेकी भन्छिन्‌। गाउँले नेताहरूलाई पनि भनेकी नै भन्छिन्‌ तर कसैले पनि पटक्क नै सुनिदिएनन्‌। तिनी भन्छिन्‌, गरीबहरूलाई परेको बेला पार्टीले सघाउँछ भन्थे, होइन रहेछ। सरकारले पनि गरीबहरूको निम्ति योजनाहरू बनाएको छ भन्थे, होइन रहेछ। हुन त होला तर ती सबै गरीबको निम्ति होइन होला। कसैले पनि मेरो दुख सुनिदिन्नन्‌। मीडिया कर्मीहरूले सोधखोज गर्दा तिनी भ्रममा नै परिन्‌ अनि भनिन्‌, लु है सरहरू कताबाट आइदिनु भयो। मेरो घर पैह्रोले लैजानै लागेको छ। हेरिदिनुपर्‍यो,राम्रो ठाउँमा घर बनाइदिनु पर्‍यो।

खबरकाजगको मान्छे भनेर बुझाइएपछि मात्र तिनले भनिन्‌, जे भए पनि मेरो कुरा त उनीहरू(निकाय)सम्म पुर्‍याइदिनुहोला। तारामायाले जति आस्थाले मीडियासित कुरा राखिन के त्यो पुरा होला त? ताराले आस्था राखेको राजनैतिक दल र बीपीएलको निम्ति योजना कार्यान्वयन गर्ने निकायको इमान्दार सेवाकर्ममा नै जवाब लुकेको छ।



0 comments: on "जोखिममा तारामाया"