मनोज वोगटी
कालेबुङ, 26 अगस्त।
साङ्गाठानिक विमर्ष र अन्तरक्रियाको निम्ति कालेबुङ आइपुगेका दार्जीलिङ डुवर्स फोेरमका महासचिव प्रवीण गुरूङले एक भेटमा भारतवर्षका गोर्खाहरूले संवैधानिक र राजनैतिकरूपले चिन्हारीको सुरक्षाको निम्ति नै छुट्टैराज्य मागिरहेको भए पनि भट्टाचार्यको सरकारपछि फेरि व्यानर्जीको सरकारले पनि गोर्खाहरूलाई नै लगाएर त्यसलाई दबाएको बताए।
ममता व्यानर्जीहरूलाई चिह्नारीको संकट हुनसक्छ र पश्चिम बङ्गाललाई हटाएर बङ्ग थप्नु हतार पर्छ भने गोर्खाहरूले चिह्नारीको निम्ति नै राज्यको दाबी गर्दा किन दबाउँछ त? भन्ने प्रश्न उठाउँदै तिनले भने, विमल गुरूङ जस्तो राजनैतिक असचेत र लोकल मानसिकता बोकेको नेतालाई देखाउने दॉंत बनाएर बुद्धिजीवी भनेर लेबल लगाइएका बङ्गालकै नोकरशाह र व्यक्तिगत महत्वाकांक्षी नेताहरूले मुद्दालाई पैसा र चौकीको निम्ति साट्ने जुन कर्तुत गरे यसको विरूद्ध अब युवाशक्ति सङ्गठित भइरहेको छ। ढिलो होस् तर युवाशक्तिले बौद्धिक परिस्थिति तयार पारेर फोरमले बङ्गालबाटको मुक्तिको निम्ति आन्दोलन गर्ने शक्ति सञ्चय गर्नेछ।
तिनले मोर्चाका नेताहरूलाई पद र पैसामा किनेर विमल गुरूङलाई पनि धोकामा राखेर जुन ऐतिहासिक भूल गर्यो, त्यसको परिणति अब देखिन शुरू भएको पनि बताउँदै भने, अघिबाट नै कानून विभागमा पठाएर सबै कुरा ठीकठाक रहेको भनिएको जीटीएको बील फेरि कानून विभागमा पुग्नुले मोर्चाको बुद्धिजीवीहरूको बुद्धि र दलाली स्पष्ट हुन्छ। वास्तवमा मुख्यमन्त्रीले आफै हस्तक्षेप गर्ने प्रशासन पहाडमा स्थापित गरेको उचित हुनेथियो किन भने पहाडमा फेरि दोस्रो घिसिङ जन्मिन पाउने थिएन।
तिनले अझ भने, सम्झौता नाटक मात्र थियो अब सम्झौतापत्रमा भएका अधिकारहरू छॉंटेर मोर्चाको योग्यता अनुसारको दागोपाप मात्र थमाउने चलखेल केन्द्रियस्तरमा भइरहेको छ। तिनले खरसाङमा भएको गोरामुमोमाथि गोजमुमोको आक्रमणले पनि मोर्चाको मानसिकता र घिसिङे प्रवृृति स्पष्ट देखिने बताए। तिनले भने, के गोजमुमोबाहेक अरू कुनै पनि दलले राजनीति गर्न पाउँदैन? यसको उत्तर पाउँदैन हुन्छ भने उनीहरू गणतन्त्रका हत्यारा हुन्, यस्ता हत्याराको स्थापना ममता व्यनर्जी र विमल गुरूङले रेका हुन्। इतिहासका दोषीहरूलाई समयले माफ गर्नेछैन।
जनतालाई अत्याचार गर्न र एकक्षत्र तानाशाह बुद्धदेवले घिसिङ अनि ममताले विमल जन्माएर गोर्खाहरूको मूल मुद्दा दबाउने काम भएको कुरा जनतालाई बुझाउन फोरमले शीघ्र्र नै जनसभाको आयोजना दार्जीलिङमा गर्ने बताउँदै तिनले भने, गणतन्त्रका हत्यारा सरकार र मोर्चाको आन्द्राभुँडी गॉंसिएकोले हाम्रो कार्यक्रममा बाधा हुनसक्छ। तरै पनि हामी जनतालाई कुरा राखेर नै छोड्नेछौं। सरकार बद्लिए पनि बङ्गालमा गोर्खालाई दमन गर्ने नीति नबद्लिएको अनि पार्टी बद्लिए पनि पहाडमा तानाशाह नबद्लिएको बताउँदै भने, अत्याचार धेर भयो भने पड्किन्छ।
जीटीएको विरूद्ध बङ्गालबाट मुक्तिको निम्ति जनता एक हुन अब समय लाग्नेछैन। तिनले मोर्चाले अहिलेसम्म जति पनि ज्यानमालको क्षति गरेको छ, त्यसका दोषीहरूलाई कानूनी कार्वाही गर्नुपर्ने माग पनि राखेका छन्। तिनले भने, नत्र हामी उचित ठाउँमा निवेदन गर्नेछौं। हाइकोर्टमा पीआईएल गर्नेछौं। विमल गुरूङले जीटीएलाई गोर्खाल्याण्ड भन्दा पनि राम्रो बताइरहेको सन्दर्भमा तिनले विमल गुरूङबाट आइरहेको केहीदिनको टिप्पणीले नै तिनले जीटीए थापेको पैसाको निम्ति मात्र रहेको स्पष्ट भएको बताउँदै विमल गुरूङले पैसाको निम्ति बार्गेनिङ शुरू गरेको बताए।
जीटीएले जनतालाई फाइदा नहुने तर स्टडीफोरमका नेताहरूको निम्ति भने पुरै बन्दोबस्त भइरहेको बताउँदै तिनले भने, फोरमका तीनजना प्रतिनिधि त विधायक बनिहाले, एकजना बङ्गालको प्राइमेरी स्कूल बोर्डको दार्जीलिङ जिल्लाको चेयरम्यान छन्। अब रहेकालाई स्कूल सर्विस कमिशन, पव्लिक कमिशन अनि नेपाली एकाडेमी ठिक्क छ। एकजना सिन्कोनाको डाइरेक्टरको पदको निम्ति तयार छन्। एकजना बङ्गाल र जीटीएको कोअर्डिनेटर छन्, यता कन्ट्राक्टरहरू प्रसस्तै, नेताहरूको निम्ति कमिशन छ तर जनतालाई के छ धोकाबाहेक? तिनले 3,720 जना अस्थायी कर्मचारीहरूलाई वामफ्रण्ट सरकारले स्थायी गर्ने भएको थियो, ममता र जीटीएले के गर्यो? भन्ने प्रश्न उठाउँदै अलगराज्यले नै सबै समस्याको समाधान गर्ने बताए।
0 comments: on "स्टडी फोरमका सदस्यहरूले पायो गोर्खाल्याण्ड, जनताले पायो धोका-फोरम"
Post a Comment