मनोज वोगटी
कालेबुङ,27 अगस्त।
सद्भावना र समप्रितिको निम्ति निकालेको पथयात्रालाई सिलगढीमा अवरोध गर्नु राज्य सरकारले साम्प्रादायिक शक्तिलाई बङ्गालमा स्थापित गर्नु रहेको क्रामाकपाले जनाएको छ। क्रामाकपा महासचिव तारामणि राईले बङ्गालबाट मुक्ति नभई गोर्खाहरूको चिन्हारीको समस्याको समाधान नहुने अनि भारतवर्षभरिका गोर्खाहरूको राजनैतिक सुरक्षा नहुने बताउँदै गोर्खा जनमुक्ति मोर्चाले हस्ताक्षर गरेको अनि लागू हुन नसकेको जीटीएले चिन्हारी र राजनैतिक सुरक्षा दुवै नदिने बताए। राईले भने, आमरा बाङ्गाली, बङ्गला भाषा बचाओ समिति, शिव सेना जस्ता साम्प्रादायिक सङ्गठनहरूलाई पालेर क्रामाकपाको गणतान्त्रिक पहललाई दबाउनु, यस पहलमा पुलिस बल नै लगाउनुबाट स्पष्ट हुन्छ कि राज्य सरकारको दृष्टिकोणमा कुनै परिवर्तन छैन। तिनले गोर्खाहरुले दिल्लीमा कुनै पनि गणतान्त्रिक कार्यक्रम गर्न अनुमति पाउँछ, आफ्नै राज्यमा किन पाउँदैन? आफ्नै आँगनमा किन पाउँदैन?भन्ने प्रश्न उठाउँदै अझ भने, बङ्गाल दुइवटा छ, एउटा पोलिटिकल एउटा इन्टलेक्चुवल। हामी दुवै बङ्गाललाई गोर्खाहरूको आन्दोलन साम्प्रादायिक होइन भनेर बुझाउन चहान्छौं तर राज्य सरकारले यो पहलमा बाधा उत्पन्न गर्छ। यसको सोझो अर्थ निस्कन्छ कि बङ्गाल जाति विभेदको पक्षमा छ।
घरि क्रामाकपाले जीटीएको विरोध गर्छ घरि पक्षमा रहेको जस्तो दोधारे कुरा किन गर्छ भन्ने प्रश्न गर्दा तिनले भने, क्रामाकपा बिकासको विरोधमा छैन, जीटीएले विकास गर्छ भने हाम्रो विरोध छैन तर मोर्चाले जीटीएले नै चिन्हारीको पचास प्रतिसत समस्या समाधान गर्छ भनेर जुन भ्रम उत्पन्न गर्दैछ त्यसको भने विरोध गर्छ। क्रामाकपा स्पष्ट छ, कि जीटीएले मोर्चा भन्ने राजनैतिक दलको समस्या समाधान गर्ला तर गोर्खाहरूको गर्दैन। मोर्चा भनेको देशभरिको गोर्खा होइन तर आन्दोलन भनेको देशभरिका गोर्खा हो। देशभरिका गोर्खाहरूको चिह्नारी र राजनैतिक सुरक्षाको सवालमा नै छुट्टैराज्यको दाबी गरिएको हो। राज्यले मात्र देशभरिका गोर्खाहरूको चिह्नारी र राजनैतिक सुरक्षा हुन्छ जो जीटीएले हुँदैन। हाम्रो भनाइ स्पष्ट छ कि हामीले तीनवटा महकुमाका गोर्खाहरूको कुरा गरेका होइनौं, देशभरिका गोर्खाहरूको कुरा गरेका हौं। हामीलाई थाहा छ कि गार्खाल्याण्ड राज्य हुन गाह्रो छ तर असम्भव छैन। तिनले क्रामाकपाले मोर्चा सरकारबीचको तालमेल र सम्झौतालाई वास्ता नराख्ने तर आन्दोलनको नाममा भइरहेको धोका बारे भने जनतालाई अवगत गराउँदै आफ्नो आन्दोलनलाई राज्य केन्द्रित नगरेर राष्ट्रिय बनाउने बताए। तिनले भने, आन्दोलनको रूपरेखा तीनस्तरमा बनाइएको छ। एउटा हो क्षेत्रीयस्तरमा गणतान्त्रिकरूपले गरिनुपर्ने सबैप्रकारका कार्यक्रम, दोस्रो हो राष्ट्रभरिका अन्य जातिलाई गोर्खाहरूको अधिकारको औचित्य बुझाउने अनि तेस्रो हो संसदीय क्षेत्रमा सहमति बनाउने। अहिले भइरहेका कार्यक्रमहरू टोकन कार्यक्रम मात्र हुन्। तिनले जीटीएको विरोध नगरेपनि जीटीए आफैले उत्पन्न गरेका अन्तर विरोधहरूले अनि क्रामाकपाका कार्यक्रमहरूले नै जनतामा वास्तविकता र गद्दारी चिन्ने वातावरण तयार पार्ने बताउँदै भने, जीटीए उनीहरूको कुरा हो। छुट्टैराज्यको निम्ति गरिरहेको आन्दोलन विकाससित साट्छ अनि आन्दोलनलाई बाधा हुँदैन भनेर लेख्दै आन्दोलन गर्न नसक्ने परिस्थिति बनाउँछ, त्यसमा हाम्रो दोष छैन। तर मोर्चाले आफूहरूले आन्दोलन नगरेपनि हाम्रो आन्दोलनलाई बाधा उत्पन्न गर्नेछैन। तिनले जीटीएको आर्थिक क्षमताको कुरामा निरुपणीय दृष्टि राख्दै भने, जीटीएले 6 सय करोड पाउने रहेछ। तर हामी बिजुली मात्र बेच्यौं भनेर हजार करोड पाउँछौं। बन्यसम्पद छ, गाडीको रेभिन्यु मात्र वर्षमा 20 करोड हुन्छ। चियाबाट मात्र ज्योतिबसुको पालोमा 10 हजार करोड आम्दानी गर्थ्यो। यस्ता आर्थिक सम्भाव्यताका हजारौं आधारहरू छन्। क्रामाकपाले यसको पुस्तक नै पनि प्रकाशित गरिसकेको छ। हजार सय करोड रेभिन्यु राज्य सरकारलाई दिएर 6 सय करोड पाउनु गोर्खाहरूको उपलब्धी होइन। जनताले यी कुराहरू बुझ्नेछन्। जनताले असली आन्दोलनकारी दललाई नचिनेसम्म, आफै समीक्षा गरेर आन्दोलन नचिनेसम्म छुट्टैराज्य पाउनसक्ने परिस्थिति निर्माण हुन सक्दैन। क्रामाकपा तर प्रयासरत छ।
पग्ला कुकुर
12 years ago
0 comments: on "राज्यलाई हजार सय करोड दिएर 6 सय करोड ल्याउनु जीटीएको उपलब्धी होइन-राई"
Post a Comment