मुख्य समाचार :


लेप्चा विक्षोभ शुरू



प्रसासनले माग्यो एकदिनको समय
प्रज्ज्वल छेत्री
कालेबुङ, 22 अगस्त।
छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति गोर्खाहरूले आन्दोलन चर्काए जस्तै अहिले पहाडको आदिवासी लेप्चाहरूले लेप्चा डेभलोपमेन्ट वोर्ड अथवा काउन्सिल हुनुपर्ने मागमा कलकत्तामा धर्ना दिइरहेको छ। लेप्चाहरूको वोर्ड र काउन्सिल पछि विधानसभा अनि संसदमा लेप्चा प्रतिनिधिहरू हुनुपर्ने अनि पहाडका प्राथमिक अनि उच्चमाध्यमिक विद्यालयमा लेप्चा भाषाको पठनपाठन हुनुपर्ने अझ दुइवटा माग छ। यसैको दाबीमा लेप्चाहरूले 19 अगस्तदेखि कोलकातामा तीन टोलीले भिन्नाभिन्नै ठाउँमा धर्ना दिने काम गरिरहेको थियो तर आज कोलकाता पुलिसले ती धर्ना प्रदर्शनकारीहरूलाई हिरासतमा लिँदै थुनुवा पार्‍यो। प्रदर्शनकारीहरूलाई थुनुवा पार्ने वित्तिकै पहाड़का लेप्चाहरूले आज सरकार र पुलिस प्रशासनविरूद्ध विक्षोभ प्रदर्शन गरेका छन्‌।

कालेबुङ थानामा इण्डिजिनस लेप्चा ट्राइबल फोरम अनि लेप्चा युथ एसोसिएसनका लगभग सय प्रतिनिधिहरूले नगरमा विक्षोप प्रदर्शन गर्दै थानामा धर्ना दियो। यसोबीच फोरमका महासचिव पावल सिमिक अनि लेप्चा युथ एशोसिएसनका प्रतिनिधिहरू तमुथिङ लेप्चा अनि आजोक तामसाङले थानामा ज्ञापन चढाएका छन्‌। उनीहरूले थुनुवा पारेका लेप्चा प्रतिनिधिहरूलाई शीघ्र नै मुक्त गर्नुपर्ने माग गरे। कालेबुङ थानाले लेप्चा प्रतिनिधिहरूसित एक दिनको समय मागेको छ। यस सम्बन्धमा फोरमका सचिव पावल सिमिकले भने, एक दिनको समय दिएका छौं तर एकदिनमा पनि मुक्त नगरे पर्सिदेखि लेप्चाका सबै सङ्गठनका हजारौं प्रतिनिधिहरूले थानामा अनिश्चितकालीन धर्ना दिनेछन्‌। तिनले भने, हाम्रो मागलाई अघिल्लो सरकारले पनि अन्देखा गर्‍यो। यसपालीको सरकारमा हामीले आशा राखेका छौं किन भने ममता व्यानर्जीको सरकारले गोर्खाहरूको समस्या पनि समाधान गर्‍यो अनि जङ्गलमहलको समस्या पनि समाधान गर्‍यो।

तिनले जबसम्म मुख्यमन्त्री ममता व्यानर्जीले पक्कापक्की आश्वासन दिँदैन तबसम्म लेप्चाहरूको आन्दोलन जारी रहने बताएका छन्‌। तिनले लेप्चा प्रतिनिधिहरूलाई थुनुवा पार्नु राजनैतिक षडयन्त्र रहेको भने स्वीकार गरेनन्‌। तिनले भने, लेप्चाहरू पहाडका आदिवासी हुन्‌। उनीहरूले आफ्नो अधिकार पाउनुपर्छ। अहिलेसम्म लेप्चा र लेप्चाहरूको संस्कृतिको संरक्षणको निम्ति सरकारले कुनै पदक्षेप गरेन, जब कि हामीले केन्द्र र राज्य दुवै सरकारलाई कुरा राखिसकेका हौं।

0 comments: on "लेप्चा विक्षोभ शुरू"