मुख्य समाचार :


हिमालयन पिपल्स च्यानलको अन्तरक्रियाको फलस्वरूप नै विमल गुरूङले पनि गर्न लगाए बौद्धिक चर्चा

  • 15 हजार जीएलपीले पाउने भयो नोकरी
  • सम्झौतापत्र केन्द्रमा पठाइयो, सचिवहरूले गर्नेछन्‌ हस्ताक्षर-विमल
मनोज वोगटी
कालेबुङ,8 जुलाई।
हिमालयन पिपल्स च्यानलले विभिन्न दललाई लिएर 4 जुलाईको दिन राजनैतिक खेमामा भइरहेको अन्तरविरोधबारे अन्तरक्रिया गरेको थियो। जसलाई मोर्चा अध्यक्ष विमल गुरूङले कालेबुङ आएको समय च्यानलमा हेर्न पाएको अनि अन्तरक्रियामा दलहरूको गुनासो देखिएकोले नै कालेबुङमा अन्तरक्रिया गर्न लगाएको आज बताए।

आज रामकृष्ण रङ्गमञ्चमा मोर्चाले नै गरेको बौद्धिक चर्चामा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले दर्शककोरूपमा सहभागिता दिएका थिए भने तिनले चर्चापछि कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चाले ग्रहण गर्ने व्यवस्थाको कुरा बाध्यता नरहेको स्पष्ट पारे।

तिनले मोर्चाले जुन किसिमका कार्यक्रमहरू गर्‍यो त्यसले पहाड़को सामाजिक, शैक्षिक, आर्थिक क्षेत्रमा प्रशस्त असर गरेको कुरा स्वीकार्दै आन्दोलन कै क्रममा जनताबाट गोर्खाल्याण्डको निम्ति नभएर क्षेत्रीय समस्याहरूबारे मेमोरेण्डम आउन थालेपछि जनताको असुविधालाई ध्यानमा राखेर राज्य सरकारको उच्च विचार र सौहार्द सम्बन्धलाई पनि कदर गर्दै व्यवस्था थापिरहेको पनि स्पष्ट पारे। तिनले अन्य दललाई केन्द्र गर्दै गोर्खाल्याण्डको निम्ति आनदोलन भइरहेको समयमा जनताबाट विकासको निम्ति मोर्चालाई मेमोरेण्डम आउँदा यसो गर्नु हुँदैन भनेर कहिल्यै जनतालाई सुझाव नदिएको बताउँदै मोर्चा जिम्मेवारी दल रहेकोले नै यो व्यवस्था ग्रहण गर्ने बताउँदै भने, प्राधिकरण पनि विपक्षले टिप्पणी गरेको कारण नै खारेज गरिएको थियो। तर यसपल्ट जति नै विरोध होस्‌, मोर्चाले यो व्यवस्था थापेर नै देखाउने छ।

तिनले दागोपाप मोर्चाले नचलाएकोले घोटलामा मोर्चालाई मुछ्‌नु गलत हुने बताउँदै अब थापिने व्यवस्थालाई मोर्चाले सहीरुपले सञ्चालन गर्ने अनि यसअवधी भूल भएमा टिप्पणी गर्न सकिने बताउँदै भने, आन्दोलनले विकासलाई रोक्यो अब आन्दोलनसित नै विकास पनि गर्दै जानेछौं। यो व्यवस्थामा म रहने छैन। जतिबेला कुनै पनि राज्यको आन्दोलनले समाधानको मार्ग पाउँछ तब म आन्दोलन गर्नेछु। तेलङ्गनाको समस्या समाधान हुने समय आयो भने म नै आन्दोलन चर्काउनेछु। तिनले मुख्यगरी कर्णल डीके प्रधान अनि तारा सुन्दासलाई जताभावी टिप्पणी नगरिदिने र कुरा बुझेर मात्र टिप्पणी गरिदिने अपील पनि गरे। तिनले भने, म ऐनाको फ्रेम बनाउने हुँ, ऐना हेर्नुहोस्‌ र बाल कता फर्काउने हो फर्काउनुहोस्‌। तर आफ्नो अनुसार पनि राम्रोसित हेरेर कुरा गर्नुहोस्‌। टिप्पणी गर्नेहरूलाई व्यवस्था टिप्पणी गरिदिने पनि तिनले अनुरोध गरे।

तिनले मोर्चाले बुझाएको सम्झौता पत्र र राज्यले तयार पारेको सम्झौतापत्रमा दुवै पक्षको सहमति आज भएको अनि अनि आफूले सहमतिमा हस्ताक्षर गर्ने अनुमति दल सचिव रोशन गिरीलाई दिएको कुरा पनि खुलाए। बोल्दाबोल्दै तिनलाई मुख्यमन्त्रीको फोन आएको थियो भने फोनमा कुराकानी गरिसकेपछि तिनले 18-19 तारिकभित्रमा त्रिपक्षीय सम्झौता हुन सक्ने सूचना बङ्गालका मुख्यमन्त्री ममता व्यनर्जीले दिएको पनि सबैलाई अवगत गराए। तिनले 15 हजार जीएलपीलाई बङ्गाल सरकारले प्यारा मिलिटेरी, बीएसएफ, पुलिस, इएफआर आदिमा नियुक्ति गर्ने भएको कुरा पनि आफ्नो सम्बोधनमा भने। यसमा 9 हजार तराई डुवर्सका जीएलपी रहेको पनि तिले जनाए। तिनले यो व्यवस्थालाई गोर्खाल्याण्ड पुग्ने खुड्‌किलोकोरूपमा ग्रहण गर्नुपर्ने जनाउँदै पहिलो प्याकेजकोरूपमा 200 करोड़ दिएको पनि जनाए।

राज्यपालले व्यवस्थामा पदाधिकारीहरूलाई शपथ ग्रहण गराउने बताउँदै सम्झौतापत्रमा हस्ताक्षर गर्न अघि सबैको हातहातमा पुर्‍याउने पनि जनाए। तिनले हस्ताक्षर गर्न अघि सबै दललाई राखेर नै कुरा बुझाइने पनि जनाए। तिनले भने, सीमाङ्‌कनको रिपोर्ट आएपछि र ठीक रहे मात्र चुनाउ हुनेछ। चुनाउ नभइजेल व्यवस्था सञ्चालनमा आउने छैन। तबसम्म दागोपाप प्रशासक, डीएम अनि तीन विधायकले अस्थायीरूपले चलाउनेछन्‌।

तिनले केन्द्रमा विचाराधिन रहेको रिजर्ब फरेष्टको कुराको फलाफल पनि केही दिनभित्रमा आउने पनि जनाएका छन्‌। व्यवस्था पछिबाट धोका नहोस्‌ भन्ने पक्षमा नै आफू रहेको जनाउँदै तिनले भने, स्टडी फोरमलाई कुनै धोका नहोस्‌ भनेर जनाइसकेको छु। धोका हुनेछैन। तेलङ्गनाको कुरा आउने वित्तिकै म गोर्खाल्याण्डको आन्दोलन गर्नेछु। चाहे ममता व्यानर्जी रिसाउन्‌। जुन व्यवस्थामा सम्झौता हुनेछ, यसमा राज्य केन्द्र अनि मोर्चाका सचिवहरूले नै हस्ताक्षर गरोस्‌ भन्ने विचारमा म छु।

0 comments: on "हिमालयन पिपल्स च्यानलको अन्तरक्रियाको फलस्वरूप नै विमल गुरूङले पनि गर्न लगाए बौद्धिक चर्चा"