प्रज्ज्वल वोगटी कालेबुङ,5 जुलाई।
दार्जीलिङ पहाड़मा लागु हुनलागेको व्यवस्थाबारे बुझाउन 8 जुलाई शुक्रवारको दिन कालेबुङका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूलाई लिएर मोर्चाले अन्तरक्रियात्मक कार्यक्रम गर्ने भएको छ। साङ्गठनिक कार्यक्रम लिएर मंगलबार बेलुकी डुवर्सबाट सोझै कालेबुङ आइपुगेका मोर्चा अध्यक्ष विमल गुरूङले आज पत्रकारहरूलाई यसप्रकार जानकारी गराएका हुन्।
व्यवस्थाबारे विपक्षका दलहरूले मोर्चामाथि लगाइरहेको आरोप अनि जनतामा देखापरेको अन्योलतालाई स्पष्ट रूपमा बुझाउन नै मोर्चाले उक्त अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको हो। यसैले अन्य दलहरूलाई पनि मोर्चाले स्पष्ट रूपमा बुझाउने प्रयास गर्ने बताउँदै मोर्चा अध्यक्ष विमल गुरूङले भने, यहॉंको अन्य दलहरूका प्रतिनिधि, वुद्धिजिवी अनि अन्यहरूलाई लिएर हामी 8 जुलाईको दिन अन्तरक्रियात्मक कार्यक्रम गर्नेछौं। अन्य दलहरूलाई पनि यो विषयमा स्पष्ट रूपमा बुझाउन चाहन्छौं। हामी हाम्रो पक्षबाट उनीहरूलाई भरपूर बुझाउने कोशिश गर्नेछौं। उनीहरूले चाहे मानोस् या नमानोस् व्यवस्थावारे बुझाउनु हाम्रो कर्तव्य हो।
तिनले अहिले केही राम्रो कुरा पाएको अनि जनताले पनि यसलाई राम्रो दृष्टिले हेरिरहेको बताए। बङ्गालमा अहिले नयॉं सरकार आएकोले मोर्चाले अहिले कुनै प्रकारको उत्तेजित पार्ने किसिमको आन्दोलन नगरेको बताउँदै तिनले भने, 34 वर्षसम्म बामफ्रण्टको शासनकाल अवधि सम्पूर्ण बङ्गाल नै शोषित भएको छ। नयॉं सरकारले अहिले सही दिशा निर्देश गर्ने काम गरिरहेको छ।
यस्तो अवस्थामा नयॉं सरकारले मोर्चाको आन्दोलनलाई सकरात्मक दृष्टिकोणले हेरिरहेकोले अहिले नै कुनै उत्तेजित पार्ने किसिमको आन्दोलन गर्न चॉंहदैनौं। नयॉं सरकारले अहिले राम्रो निर्णय लिएको छ। हामी खुशी छौं। यद्यपी तिनले नयॉं व्यवस्थाले गोर्खाल्याण्ड आन्दोलनलाई भने कुनै असर नपार्ने बताउँदै गोर्खाल्याण्ड आन्दोलन भने यथावत रहने जनाए।
तराई-डुवर्सको भूभागहरूको अन्तरभुक्तिकरण विषयमा बोल्दै तिनले भने, सिमाङ्कनको निम्ति हाइ पाउर कमिटि बनिनुनै हाम्रो निम्ति ठूलो कुरा हो। कमिटिले निरिक्षण गरेर तराइ-डुवर्सको गोर्खाबहुल क्षेत्रहरू व्यवस्थाभित्र गाभिने छ। मोर्चालेे डुवर्सको 196 वटा मौजाहरू मागेको छ तर मोर्चाले मागेको तराई-डुवर्सको कतिपय क्षेत्रहरू नगाभिए ति क्षेत्रहरूको निम्ति मोर्चाले पार्टीगत विचार-विमर्ष गरेर ति क्षेत्रहरूलाई लिएर कुनै ठोस निर्णय अथवा सहूलियत सम्बन्धि सरकारसँग कुरा गर्ने पनि गुरूङले जनाए।
नयॉं व्यवस्था चलाउनको निम्ति दार्जीलिङको 4 वटा खण्डलाई विभाजन गरेर 24 वटा बनाउने अनि 28 वटा समष्टिलाई बढ़ाएर 45 वटा बनाउनपर्ने विषयमा पनि सरकारसँग कुरा गरेकोे जनाए। बोर्ड अफ एडमिन्सट्सन ले हाल अस्थायी रूपमा काम गर्ने भएपनि हाइ पावर कमिटिले सिमाङ्गनको रिपोर्ट बुझाएपछि चुनाव प्रक्रियाद्वारा नै चेयरमेन नियुक्त गरिने बताउँदै तिनले भने, म चेयरमेन हुँदिन। जाहे जोसुकै बसोस्। मेरो लक्ष्य छ, म त्यसैको निम्ति अघि बढ्छु। तेलेङ्गनाका विधायकहरूले अनि मन्त्रीहरूले छुट्टै राज्यको निम्ति आन्दोलन चर्काइरहेको सम्बन्धमा तिनले जब कुनै राम्रो कुरा पाउन लागेको हुन्छ तब थुप्रै अड्चनहरू आउने गरेको भएपनि यसपल्ट भने पहाड़को मूलभूत समस्याहरूको समाधानको निम्ति तराई-डुवर्सको भूभाग गाभिए स्वीकार गर्ने बताएका छन्।
मंगलबाट सॉंझ साङ्गठनिक कार्यक्रम लिएर कालेबुङ आइपुगेका मोर्चा अध्यक्ष गुरूङ ले डेलो टुरिस्ट लजमा नै तिनी हाल रहिरहेका छन्। भोलि तिनले सिप्सु काण्डमा शहीद भएकी खानी निवासी स्व.विमलाई राइको परिवारसित पनि भेट गर्ने भएको छ।
पग्ला कुकुर
12 years ago
0 comments: on "व्यवस्थाबारे बुझाउन मोर्चाले सबै दलहरूलाई लिएर अन्तरक्रियात्मक कार्यक्रम गर्ने"
Post a Comment