मुख्य समाचार :


समकालीनता



बासुदेव पुलामी

मेरै अघिल्तिर ठिङ्ग उभिएको छ

समयको चौडादार निधार।

यो के हो ?

आफैलाई उत्तरको मुलुक थाह छैन।

फ्रस्ट्रेसनदेखि टाडा हुनलाई नै

उसले एउटा झण्डा समातेको हो ।

झण्डाको रङ्ग

र उनीहरूका विचार लत्तपत छन् यतिखेर।

कुन रङ्गले लेख्नु जीवनको रमाइलो गीत ?

जुलुस र गीतको बिचबाट

गाउन खोज्छ

रङ्गीन जीवनको उत्सवमय समय ।

तर

गीतबाटै चोरेर लगेको

जीवनको लय

थाह छैन उनीहरूलाई ।

हातभरि झुण्डिएका सफलताका औलाहरू

दिनहरूले चुडाउँदैछन्।

रातारात अपहृत भएर

हराउदै गइरहेका उनीहरूका विजयहरूले

कसैलाई त नाफा हुँदैछ नै ।

कति दिन थाम्ने हुन्

यसरी ?

एक जेनेरेसन

दुइ जेनेरेसन

तीन जेनेरेसन..

चार......

हामी जस्तै त छन्

उनीहरू पनि।

हड्डी छाला र रगत

एउटै छन् ।

तर तिनीहरू सत्ताधारी युवाहरू हुन् ।

आफ्नो अनुहारमा

उज्यालोको मेरूदण्ड भाचिँएको वर्तमान बोकेर हिँडिरहेका

हाम्रा हात गोडा र औलाहरूले

के देश थाम्न सक्लान् र ?

कारण उनीहरू पनि त यही देशका युवाहरू हुन्।

समय / सन्नाटा / र समकालिनता

अनि ती प्यारा प्यारा अनुहारहरू ।


0 comments: on "समकालीनता"