skip to main |
skip to sidebar
मनोज वोगटी
कालेबुङ,9 जून।
कालेबुङ नगरलाई सुन्दर बनाउने कि आफ्नो फाइदाको व्यापार गर्ने? ठीक यही प्रश्न उभिएको थियो कालेबुङ नगरका फुटपाते पसलेहरू अघि। यता पसल उठाए हातमुख जोर्ने साधन नै गुम्ने परिस्थिति अनि अर्कोतिर नागरिकको हैसियतमा नगर सुन्दर गर्नुपर्ने दायित्व पनि । जसले दायित्व बुझे उनीहरूले दिएको मीतिभित्र नै पसल हटाए भने जसले बुझेनन् उनीहरूले राखेको पसल नगर प्रशासनले आज उठाइदियो। उनीहरूलाई नगर प्रशासनले हिजो पसल हटाउने अन्तिम मियाद तोकिदिएको थियो।
हिजो हाटको दिन नगरेर आज बेहाटको दिन नगर प्रशासनको पक्षमा महकुमा अधिकारी एलएन शेर्पाले कालेबुङ थानाका अधिकारी, कालेबुङ संरक्षण समिति, हाटबजार व्यापारी सङ्गठन तथा अन्य सङ्गठनका कार्यकर्ताहरूको सहयोगमा फुटपातमा थापिएका पसलहरू हटाए। महकुमा प्रशासक एलएन शेर्पाले भने, यी फुटपातहरू पसल राख्नको निम्ति बनाइएको होइन। हिँड्नको निम्ति बनाइएको हो। तर यसको गलत प्रयोग गरेर यहॉं पसलहरू राखिएकोले भीड वृद्धि भइरहेको थियो। यसको कारण धेरै दुर्घटनाहरूको सम्भावना बढेर गइरहेको थियो। नगर सुन्दरीकरण गर्नु हो भने यी पसलहरूलाई हटाइनु अनिवार्य थियो। यसप्रकारको पहललाई कुनै पनि पसलेले नकरात्मक लिनु हुँदैन। तिनले उनीहरूको पसल उठाइदिए पनि उनीहरूलाई हाटबजारमा स्थान दिने व्यवस्था मिलाइरहेको पनि तिनले जनाए।
हाटबजार व्यापारी सङ्गठनका सचिव रबी प्रधानले भने, उनीहरू पनि व्यवसायी नै हुन्, यसकारण उनीहरूलाई सकिने ठाउँमा स्थान दिने व्यवस्था मिलाइरहेका छौं। नगरमा जहॉंजहॉं पनि फुटपातहरू थिए, सबैमा नै पसल फिजाइएको थियो। जसको कारण फुटपातबाट झरेर सड़कबाट नै हिँड्नपर्ने स्थिति उत्पन्न भइरहेको थियो। महकुमा अधिकारी शेर्पाले यो पहलपछि विस्तारै नगरको मैला व्यवस्थापन, ड्रग्सखोरहरू निर्मूलन, अवैद्ध बिल्डिङ निर्माणमा रोक लगाउने अनि ट्राफिक व्यवस्थापनमाथि पनि पहल गर्ने बताएका छन्।
0 comments: on "उठायो नगरपालिकाले फुटपाते पसल"
Post a Comment