मुख्य समाचार :


गोरामुमो समर्थकहरू फेरि विचल्नीमा?

मनोज वोगटी
कालेबुङ, १९ मई।

गोरामुमो समर्थकहरू फेरि विचल्नीमा पर्न सक्ने सम्भावना बढ़ेर गएको छ। त्यो सम्भावना गोरामुमो प्रमुख सुवास घिसिङ आफैले निर्माण गरेका हुन्‌। अब घिसिङको गलत राजनैतिक चालको दण्ड तिनका समर्थकहरूले पाउन सक्ने लख पनि काटिएको छ। सोनादामा भएको गोरामुमो र गोरामुमोबीचको संघर्ष नै घिसिङको पुन पलायनको कारण बनेको छ। घिसिङ आफ्नो असुरक्षाको कारण नै राती नै सुइटाप दिएपछि तिनका समर्थकहरू दोस्रोपल्ट पनि विचल्नीमा पर्ने देखिएको छ। मुद्दालाई लिएर गोरामुमो नेता सुवास घिसिङले पुरानै राग मात्र अलापेनन्‌।

जनताले चाहेको छुट्टैराज्य गोकाल्याण्डको माग कहिल्यै नगरेको भनेर आफैलाई विवादमा पनि मुछे। तिनले त्यसो भनेदेखि नै तिनका समर्थकहरूको आशा घिसिङबाट मर्‍यो। गोरामुमोले विधानसभा चुनाउमा नितान्तै अल्पमत प्राप्त गर्नुको कारण पनि घिसिङको त्यही गैरजिम्मेवारी वक्तव्य नै रहेको राजनैतिक पर्यवेक्षकहरूको ठनाइ छ। अब पहाड़बाट कहिल्यै नफर्किने अनि स्थायीरूपले पहाड़बास हुने घोषणा गर्दै छैटौं अनुसूचीको मुद्दा नै बोकेर पहाड़ छिरेका सुवास घिसिङ चुनाउ सकिएपछि पहाड़बाट भाग्न कर लाग्यो। सोनादामा गोरामुमो र गोजमुमोबीच भएको संघर्षले नै घिसिङलाई पहाड़बाट खेदायो। मोर्चाले घिसिङ पहाड़ छिरेदेखि नै अशान्ति हुनसक्ने बताइरहेको थियो। ठीक सोनादामा मोर्चाले गरेको शंका यथार्थमा परिणत भयो। सोनादामा भएको घटनाले ठूलोरूप लिन अघि नै घिसिङले राती नै पहाड़ छोड़े।

आज आएर मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले तिनले पहाड़ छोड़ेको कारण रविन राईको मृत्यु नै रहेको शंका गरेका छन्‌। तिनको शंका अनुसार घिसिङलाई प्रशासन र अस्पतालपक्षले रविनको मृत्यु भइसकेको जनाइसकेको थियो। प्रशासनले हिंसा भड्‌किने डरले नै आज मात्र रविनको मृत्यु भएको बताएको हुनसक्छ। मोर्चाले सोनादा काण्डमा प्रमुख दोष नै घिसिङको बताएकोले घिसिङ पहाड़ छोड्न बाध्य बने। तिनले पहाड़ त छोड़े तर तिनका समर्थकहरूलाई भने विचल्नीमा पारे। यसअघि पनि तिनले पहाड़ छोड़ेपछि तिनका समर्थकहरूले निक्कै राजनैतिक यातना भोगेका थिए।

तिनी फेरि फर्किएपछि तिनका समर्थकहरूमा सास आएको थियो भने गोरामुमोको अस्तित्व देखाउन उनीहरू नै छाती खोलेर सड़क ओर्लिएका थिए। तर न त गोरामुमोले जित्यो न त गोरामुमो प्रमुख नै पहाड़मा बस्न सके। यसको कारण अब फेरि गोरामुमो समर्थकहरू र गोरामुमोका नेताहरूले यातना भोग्न पर्ने हो त ? यो प्रश्न अहिले स्वाभाविकरूपले उठेको छ। किन भने हिंसा सोनादा काण्डले मच्चाइसकेको छ। गोजमुमो समर्थकहरू घिसिङको पहाड़ प्रवेश अनि तिनका समर्थकहरूको प्राणघातक आक्रमणदेखि खुशी छैनन्‌। उनीहरू आक्रोशित बनेका छन्‌।

यस्तोमा जनहलरले जे पनि गर्न सक्ने परिस्थिति छ। गोजमुमोले अहिलेसम्म सहनशील व्यवहार देखाइरहेको छ, तर यसप्रकारको प्राणघातक आक्रमणले मोर्चालाई हिंसामा ओह्राल्न समय लाग्दैन। मोर्चा प्रमुख विमल गुरूङले सबैलाई संयम राख्ने अपील गरिएको छ। अहिलेसम्म कतै पनि मोर्चा समर्थकहरूले हिंसात्मक कार्य गरेको छैन। तर चुनाउपछि पहाड़मा हिंसा शुरू हुने अनुमान भने सबैले गरेका थिए।

कतै रविन राईको मृत्युले मोर्चाको संयम तोड्ने त होइन? अब प्रशासनले निभाउने जिम्मेवारीपूर्ण पदक्षेपमा नै पहाड़को शान्ति अल्झिएको छ। पहाड़का जनता भने हिंसात्मक परिस्थितिको विरोधमा छन्‌। पहाड़मा गणतन्त्र स्थापनाको निम्ति अब पुलिस प्रशासनमा नै दायित्व आइपरेको छ।

0 comments: on "गोरामुमो समर्थकहरू फेरि विचल्नीमा?"