मुख्य समाचार :


के हो घिसिङको राजनीति ?

मनोज वोगटी
कालेबुङ, १९ मई।

तीनवर्षपछि पहाड़ त पस्यो त्यो पनि पुरानै छैटौं अनुसूचीको मुद्दा लिएर, तरै पनि सुवास घिसिङलाई तिनका समर्थकहरूले माया गरे। तिनी पहाड़ चढ़ेकै कारण तिनको निम्ति लुकेर बसेका गोरामुमो समर्थकहरू छाती खोलेर बाहिर निस्किए। जब सुबास घिसिङले सत्ताच्युतपछि पहिलोपल्ट जनसभा गरे, तब आफूले कहिल्यै गोर्खाल्याण्ड नमागेको स्पष्ट पारे। गोरामुमो समर्थकहरूलाई त्यहीँदेखि सुबास घिसिङले अन्योलमा राख्ने काम मात्र गरेनन्‌ बँचे खुचेका गोरामुमो समर्थकहरूलाई थप यन्त्रणा पनि उपहारमा दिए।

गोर्खा जनमुक्ति मोर्चाको जन्म भएपछि सुबास घिसिङले कहिल्यै प्रतिक्रिया जनाएनन्‌। म पहाड़मा नै बसे मारकाट हुने भएकोले नै पहाड़बाट मधेश झरेको हुँ-सुवास घिसिङले मोर्चाले पहाड़बाट तिनलाई लखेटेपछि मधेशमा पुगेर यसो भनेका थिए। तिनी भन्थे, राज्य र केन्द्रमा गोर्खाल्याण्ड राज्य निर्माणको परिस्थिति छैन। जबसम्म यो परिस्थिति बनिँदैन तबसम्म चरणबद्ध दाबी तीब्र गरिनुपर्छ। दागोपाप थापे अनि ठीक 15 बर्षपछि तिनले छैटौं अनुसूचीको मुद्दा उठाए। चरणवद्द दाबी, तिनको यही थियो। तर छैटौं अनुसूचीको खेस्रा बाहिर आएपछि पढ़ेलेखेकाले त्यसको विरोध गरे।

विपक्ष रहेका पहाड़का सबै दल विरोधमा उठे। केन्द्रको स्ट्याण्डिङ कमिटीलाई कुरा बुझ्न कर लाग्यो। त्यसपछि थन्कियो यो मुद्दा। राज्य केन्द्र अनि गोरामुमोबीच त्रिक्षीय सम्झौतामा हस्ताक्षर भइसकेको थियो, तरैपनि विरोधको कारण यसलाई बीलकोरूपमा पास गर्न सकिएन। छैटौं अनुसूचीको जुन खेस्रा थियो, त्यसमा नै घिसिङले धोका पाइसकेको थियो भन्ने हल्ला बुद्धिजीवीको शिविरमा खुब चलेको थियो। मोर्चा जन्मिएपछि त्यसको कुनै विरोध नगर्नु घिसिङले वाम सरकारबाट पाएको धोकाको उपज मान्नेहरू पनि धेरै छन्‌। जब मोर्चाले पनि गोर्खाल्याण्डको मुद्दालाई छोड़ेर अन्तरिम प्राधिकरणको कुरा उठायो तब नै हराइसकेको गोरामुमो सल्बलाएको सबैलाई थाहा छ।

गोरामुमोलाई विश्वास छ, यदि गोर्खाल्याण्ड भन्ने पार्टी आएन भने वैधानिक र क्षमताको हिसाबमा छैटौं अनुसूची नै उपयुक्त मुद्दा हो। तर गोजमुमोले प्राधिकरण छोड़ेर गोर्खाल्याण्ड कै कुरा गरेपछि गोरामुमोले विधानसभा चुनाउमा लाजमर्दो हारको सामना गर्नुपर्‍यो। राजनैतिक पर्यवेक्षकहरू के मान्छन्‌ भने घिसिङ पहाड़ चढेकै दिन गोजमुमो अघि घुँड़ा टेकिसकेका थिए। यसै कारण मिरिकको जनसभाबाट तिनले गोर्खाल्याण्ड कहिल्यै नमागेको घोषणा गरेर गोरामुमोको हारलाई निश्चित बनायो।

जबसम्म तिनले गोर्खाल्याण्ड कहिल्यै नमागेको कुरा गरेका थिएनन्‌ तबसम्म तिनलाई तिनका धेरै समर्थकहरूले विश्वास गरेका थिए। तर तिनले आफैलाई हानी पुग्ने जुन राजनैतिक भाषामा गोर्खाल्याण्ड नमागेको कुरा गरे धेरै तिनका समर्थक निराश बने। आखिर घिसिङ के चहान्छन्‌? राजनैतिक शिविरमा यो प्रश्न मडारिरहेको छ। आखिर किन घिसिङले गोर्खा जनमुक्ति मोर्चालाई हानी पुर्‍याउने कुनै पनि जोखिम उठाएनन्‌? जब गोरामुमो नराम्रो घतले हार्‍यो तिनले सुटुक्क फेरि दार्जीलिङ छोड़े।

तिनी पहाड़मा रहँदा तिनका समर्थकहरू उत्तेजित हुने अनि यसको कारण अशान्ति हुने खबरदारी गोजमुमोले बारम्बार गर्दा गर्दै पनि सोनादा काण्ड भएपछि घिसिङको पहाड़वास अनिश्चित बनिसकेको थियो। कुनै ठूलो घटना हुनुभन्दा अघि नै तिनले पहाड़ छोड़ेकोले बुद्धिमत्तापूर्ण निर्णय घिसिङले गरेको धेरैको भनाइ छ भने धेरै नै मोर्चाको खबरदारीको डर पनि घसिङ भाग्नुको कारण रहेको बताइरहेका छन्‌। तिनी यसप्रकारले सुटुक्क हिँडिदिएकाले तिनका समर्थकहरू भने फेरि विचल्नीमा पर्ने सम्भावना व्यापक छ।

बल्लबल्ल घर आइपुगेका मोर्चा नेताहरू अनि तिनका समर्थकहरू फेरि अब खेदुवा लाग्न सक्ने संकेत सोनादा काण्डले दिएको छ। घिसिङले पहाड़ छोड़ेपनि तिनका समर्थकहरूको निम्ति सोनादामा अशान्ति रोपिराखेका समिक्षकहरूले ठानेका छन्‌। किन भने सोनादा काण्डमा घाइते रविन राईको आज मृत्यु भएको छ। जसको विरोधमा मोर्चाले 24 घण्टे बन्द पनि डाकेको छ।

घिसिङले देखाएका राजनैतिक व्यवहारको स्रोत र कारक तत्वहरू के हुन्‌? किन घिसिङले खप्न नसक्ने राजनैतिक गोटी फ्यॉंकिरहेका छन्‌? किन तिनका घरिघरि राजनैतिक हार भइरहेको छ? के यसले अब घिसिङ पहाड़को निम्ति असक्षम र प्रौड राजनीतिज्ञ हुन्‌ भन्ने सन्देश दिइरहेको छैन? आखिर के हो घिसिङको राजनीति?यति विध्न प्रश्नहरू अहिले खड़ा भइरहेको छ, जसको जवाब घिसिङ आफैले पनि दिन सक्दैनन्‌।

0 comments: on "के हो घिसिङको राजनीति ?"