मुख्य समाचार :


साई शोकमा बन्द

मनोज वोगटी
कालेबुङ,27 अप्रेल।


श्री सत्य साई बाबाको शोकमा आज कालेबुङ बन्द रह्यो। पुट्टपर्तीमा साई बाबालाई समाधिस्थ गर्दै गर्दा कालेबुङ सुनसान थियो। सधैँ राजनैतिक दाबीको निम्ति बन्द डाक्ने गोर्खा जनमुक्ति मोर्चाले यसपल्ट साई शोकको निम्ति बन्द डाकेको थियो। मोर्चाले डाकेको बन्द केवल साई बाबालाई श्रद्धाञ्जली चढ़ाउन रहेको थियो। विश्वभरि नै आध्यात्म गुरूको रूपमा मात्र होइन जिउँदो भगवानकैरूपमा रहेका साई बाबालाई आज पुट्टपर्तीमा समाधिस्थ गरिँदैथियो। यसैकारण साई बाबालाई अन्तिम श्रद्धाञ्जली चढ़ाउन मोर्चाको आह्वानमा सबैले बन्दलाई अक्षरस्‌ पालन गरेका थिए। बिहानदेखि नै कालेबुङ नगर सुनसान रहेको थियो तर मोर्चाले यानवाहनलाई भने छुट दिएकोले यसको चलाचल देखियो। यान वाहन चलेपनि वाहनहरूको भीड़ सधैँजस्तो देखिएन।

पसलेहरूले दोकानपाट बन्द गरेका थिए भने कोही पनि कर्मचारीहरू कार्यालय गएनन्‌। सरकारी गैरसरकारी सबै कार्यालयहरू बन्द गरिएको थियो भने कुनै पनि विद्यालय पनि खुलेन।मोर्चाले भनेको थियो, बाबाको शवयात्रा निकालेदेखि तिनलाई समाधिस्थ गरिञ्जेलसम्म सबैले तिनलाई श्रद्धाञ्जली चढ़ाउन पहाड़, तराई र डुवर्स नै बन्द हुनेछ। बन्दको आह्वान मोर्चा नेताहरूले फरकफरकरूपले गरपनि कोही पनि अन्योल परेनन्‌। सबैले आफ्नै इच्छाले बन्दलाई पालन गरेका थिए। कालेबुङ नगर मात्र होइन राजमार्ग वरिपरिका क्षेत्रहरूमा पनि सुनसान देखिएको थियो।

राजमार्ग छेउछाउ साई भक्तहरूले साईको तस्वीर राखेर प्रर्थना गरिरहेका थिए। कालेबुङ नगर वरिपरिका साई मन्दिरहरूमा धेरै दिनदेखि नै लगातार अखण्ड भजन चलिरहेको थियो, जो अझ पनि जारी नै रहेको छ। साई मन्दिरहरूमा साई भजन र प्रार्थना निरन्तर नै थियो। साई भक्तहरू अनुहारमा शोक छाएको थियो। आज दिनभरि नै कालेबुङमा शोकको लहर छाएको थियो भने सॉंझपख दोकानपाट खुलेको थियो।

0 comments: on "साई शोकमा बन्द"