मुख्य समाचार :


बन्ने नै भयो मल्टिकम्प्लेक्स

कालेबुङ, 9 अप्रेल।
अन्ततःनोभेल्टी परिसरमा अत्याधुनिक, वृहत बहुतल्ले मोटर स्ट्याण्ड बनिने नै भयो।
भोलिदेखि नोभेल्टी परिसरमा कालेबुङ नगरपालिकाले मल्टीस्टोरेज कम्प्लेक्सको लागि भित्ता खन्ने कार्य शुरू गर्ने भएको छ। कालेबुङ महकुमा पुस्तकालय तल्तिरको भित्तामा मल्टिस्टोरेज कम्पलेक्स बनाइएर नोभेल्टी परिसरमा वर्षौदेखि रहिआएका मॉं सन्तोषी टोलका 35 परिवारलाई स्थान्तरण गरेर उक्त क्षेत्र खाली गरिने भएको छ। यो आज बसेको प्रशासनिक स्तरीय बैठकले गरेको निर्णय रहेको मोर्चा प्रवक्ता एवं विधायक डा. हर्कबहादुर छेत्री अनि महकुमा अधिकारी एलएन शेर्पाले बताए। यो निर्णय नोभेल्टी परिसरका 35 परिवारले मान्नैपर्छ भन्ने अडान विधायकको छ। कालेबुङको सम्पूर्ण जनताको हीत अनि कालेबुङको भविष्यको निम्ति भन्दै पहाडका शक्तिशाली दल गोर्खा जनमुक्ति मोर्चा अनि विधायकको हिसाबले आज डा. छेत्रीले  नयॉं मोटर स्याण्डमा रहेका 35 परिवारलाई मल्टीस्टोरेज कम्प्लेक्समा सर्नैपर्ने चाप सृजना गरिदिएका छन्‌। नोभेल्टी परिसरमा रहिआएका 35 परिवारको न्यायसङ्गत कागजपत्र नरहेको पनि डा. छेत्रीले बताए। कालेबुङ नगरपालिकाले अघिल्लो हप्ता नोभेल्टी परिसरमा सर्वेक्षण गर्दा सडकको माथिल्लो भाग पुलिस प्रशासनको रहेको दावी गरिएको थियो। यसै विषयमाथि आज कालेबुङ महकुमा अधिकारी, पुलिस प्रशासन, कालेबुङ नगरपालिका, भूमि अनि भूमि सुधार विभाग, पीडब्ल्यूडी अनि विधायकबीच महकुमा अधिकारी कार्यालयमा बैठक भयो। बैठकमा पुलिसले दावी रहेको उक्त जमिन पीडब्लूडीकै रहेको तय भयो। यैसैले नोभेल्टी परिसरमा रहेको जमिनलाई  सर्वसाधरणको पक्षमा पछिबाट कालेबुङ नगरपालिकाई सुम्पिने भएको महकुमा अधिकारी एलएन शेर्पाले बताए। जुन ठाउँका मानिसहरुको निम्ति बैठक भयो उनीहरूलाई भने बैठकमा बोलाइएन। समस्या नै मॉं सन्तोषी टोलका मानिसहरू हुन्‌, जसले कुनै उच्चाधिकारीले लिखितरुपमा उनीहरूलाई स्थान्तरण गर्ने र पुनर्वास गर्ने आश्वासन दिए मात्र ठाउँ छोड्‌ने बताइरहेका छन्‌। तर आज भएको बैठकमा क्षेत्रवासीको यो मागबारे कुन चर्चा नभएको महकुमा अधिकारी एलएन शेर्पाले बताएका छन्‌। गोरामुमोकालमा पनि यस क्षेत्रमा मानिसहरूलाई मल्टिकम्प्लेक्स बनाउनको निम्ति यसरी नै उच्छेद गर्ने प्रयास गरिएको थियो तर त्यसबेला क्षेत्रवासीले न्यायलयमा मुद्दा हालेपछि गोरामुमो ठेगानामा आएको थियो। अहिले पनि क्षेत्रवासीले पुर्खौंदेखिको रैथानेहरूलाई जमिनको मालिकाना हक दिइनुपर्छ भन्ने सम्बन्धमा मुद्दा हालिएको छ। मोर्चाले क्षेत्रवासीसित अनेकौंपल्ट बैठक गरिसकेको छ तर अहिलेसम्म कुनै पनि समाधानको बाटो निस्किएको थिएन। किन भने क्षेत्रवासीको एउटै माग छ, उच्छेद गर्ने नै हो भने पुनर्वासको निम्ति उच्चप्रशासनिक अधिकारीले लिखितरुपमा आश्वासन दिनुपर्छ। नत्र यसै कुनै पनि पार्टी र कुनै पनि लोकल प्रशासनले भन्दैमा क्षेत्रवासीहरू ठॉंउ छोड्‌ने पक्षमा छैन। तर क्षेत्रवासीको यो एकैवटा मागबारे भने कसैले पनि ध्यान नै दिएको छैैन। आज भएको बैठकमा पनि यो कुरा निस्किएन भने बैठकमा क्षेत्रका कुनै प्रतिनिधिलाई समेत बोलाइएन। यस्तोमा क्षेत्रवासीको समस्याको कारण मल्टिकम्लेक्स निर्माण कार्य सम्भव छ के त? भन्ने प्रश्न गर्दा विधायकले सम्भाव रहेको बताए भने क्षेत्रवासीहरूको अडानबारे होइन आज भएको बैठकको निर्णय क्षेत्रवासीले मान्ने पर्ने बताएका छन्‌।

0 comments: on "बन्ने नै भयो मल्टिकम्प्लेक्स"