मुख्य समाचार :


काव्यात्मक खडेरी खेप्दै विश्व कविता दिवसमा कविहरू

  • मनोज वोगटी
मुर्दालाई आगोको स्वाद हुँदैन
उ मुर्दालाई आगो झोसिरहेछ।

यति लेख्दा लागेको थियो आजको विश्व कविता दिवस खेरो गएन। तर कविता अघि गएन। फेसबुक कोट्याउँदै जॉंदा कविहरूले विश्व कविता दिवसलाई छेक पार्दै कविता लेखिसकेका रहेछन्‌।
कालेबुङमा त के दार्जीलिङमा नै कुनै चालचुल छैन। युनेस्कोले भने  यी कविहरूको भर परेर 21 मार्चलाई 1999 देखि विश्व कविता दिवस भनेर घोषणा नै गरिदिएको छ। पढ्‌न, लेख्न, लेखेका प्रचार गर्न, छाप्न र ग्रामीण संवेदनालाई विश्वसित नै जोड्‌न र फैलिन भनेर युनेस्कोले रोजेको 21 मार्चको दिन कालेबुङका कवि टीका भाइ गोरुबथानमा घरेलु काममा फँसेका थिए। 21 मार्चले तिनलाई भ्याएन। 5 अक्टोबरको दिन नै विश्व कविता दिवस समान्यरुपले चल्दै थियो। तर विशौं शताब्दीले रोमन इपिक पोएट भर्जिलको जन्मदिवस 15 अक्टोबरको दिन तान्यो। घोषित नभए पनि छुटपुट चलिरहेको यो दिवस युनाइटेड नेशन एजुकेशनल साइन्टिफीक एण्ड कल्चरल अर्गनाइजेशनलाई मन परेन। 21 मार्च नै स्थायी घोषणा भयो तर टीका भाइले विश्व कविता दिवस पनि सम्झिन भ्याएनन्‌। विश्व कविता दिवस भनेर थाहा त थिएन तर कवि भूपेन्द्र सुब्बाले कविता भने लेखे। हिउँदे खडेरीले सुकेको चारैतिरको जङ्गलमा लागिरहेको ढँडेलोले होइन सत्ताशक्तिले खाइरहेको समाजमा लागेको आगो भूपेन्द्रले पनि देखेछन्‌।
आगो चिनिसकेपछि मान्छे सबै आगोको दास बन्दै गए/पहिलापहिला उनीहरू आगोले बोल्ने, आगोले हिँड्‌ने ,आगोले उठ्‌ने, आगोले बस्ने  भए/यहॉंसम्म कि आगोबिना खान र सुत्नसम्म नसक्ने भए/पछिपछि उनीहरू आगोकै लागि बोल्ने, आगोकै लागि हिँड्‌ने, आगोकै लागि उठ्‌ने र आगोकै लागि बस्ने भए/यहॉंससम्म कि उनीहरू आगोको लागि एकार्कालाई ढाल्न सम्म नचुक्ने भए। यति लेखिसकेपछि पनि भूपेन्द्रलाई आज चित्त बुझेन। भूपेन्द्रको मात्र होइन कवि सुधीर छेत्रीलाई पनि नेपालका कवि स्वपनिल स्मृतिका बाडुली र सुदूर सपना भित्रका कविताहरू एकपल्ट पढेर चित्त नै बुझेन। तिनले भने, तिनको काग कविताले दिनभरि नै रन्को छुटाइबस्यो। तिनलाई लागेको थियो आउँदो कविता कृतिको निम्ति एउटा कविता आज कै दिन थपौं, तर शिक्षकीयले तिनलाई लामो सोच्ने फुर्सद नै दिएन। उच्चमाध्यमिक परीक्षा गरिरहेका विद्यार्थीहरूले ‘चिट’ निकाले की निकालेनन्‌ भनेर हेर्दै विश्व कविता दिवस सकियो तिनको। तर अहिलेसम्म तिनले लुकाएर राखेको साहित्यिक सिद्धान्तको पुस्तक निकाल्ने तयारीमा रहेको र अनुवाद गर्ने कार्य चलिरहेको कुराको भेद् भने आज कै दिन खोेलियो। कवि सूधीर विध्यालयमा हुँदा कवि कमल रेग्मी पनि विध्यार्थीहरूलाई टेकध्वज जिम्बाको कविता सुनाइरहेका थिए। विश्व कविता दिवसको दिन कविताको साटो गीत पो लेखियो-तिनी भनिरहेका थिए। सुनाए पनि-मौनताको गहिराईमा तिमी शान्ति खोज/ विचारको उचाईमा तिमी बुद्ध खोज। तिनले विश्वलाई यही सन्देश दिए आज। त्यही दिउँकोको घमाइलोमा यता युवाहरूको राजा कवि राजा पुनियानी पनि कलेजमा नै थिए। तर तिनको मनमा गद्देपद्दे छोडिए सिछिए-ले गरेको विश्व कविता दिवसमा गद्दार कविता सुनाउँछु भनेर अटोट थियो।गद्देपद्दे छोडिए सिछिए पॉंच रुपियॉं गोटा कविताको पत्रिका प्रकाशित गरेर बङ्गला लिटल म्याक नामको एउटा आन्दोलन नै गरिरहेका बङ्गाली कविहरूसित राजाको उठबस्‌। बङ्गाली कवि सुरोजित अधिकारीले तिनलाई सॉंझ 6 बजी हुने बङ्गला, नेपाली, हिन्दी, अंग्रेजी कविहरूसित कविता वाचनको निम्ति बोलाएका छन्‌। समाज परिवर्तन गर्ने शक्ति राजनीति नै हो तर कवि राजालाई लागेको छ आजको दिन कमसेकम शब्द मोर्चाबाट कविहरूले त्यही परिवर्तनको निम्ति आफ्नो योगदान गर्नुपर्छ। साम्प्रादायिक, धार्मिक, नश्लीय कट्टरता तिनलाई मन परेको छैन। यसैको निम्ति तिनले ‘गद्दार’ कविता भन्नेछन्‌। गद्दारको निम्ति कवि राजाले आफ्नो तयारी गरिरहेको बेला युवा कवि प्रवीण खालिङ भने रेलमा थिए। राजस्थानबाट दिल्ली फर्किरहेका। दिनभरि नै रेलमा तिनलाई थार मरुभूमिमा उम्रिएको लोक संस्कृति र कवितात्मक गीत-नृत्यले हल्लाइरहेको थियो। संस्कृतिलाई न कवितामा ल्याउन सक्यौं,  न पैसामा-गोर्खे संस्कृतिको दॉंजो गर्दै तिनले बञ्जराहरूको सांस्कृतिक उचाइबारे सुनाइरहेका थिए। बालुवामा उम्रिएको हरियोपनले कविता लेख्ने उर्जा दिइरहेको छ। तर विश्व कविता दिवसमा लेख्न नसक्ने भएँ। थाकेर थिलथिलो छु-तिनी भनिरहेका थिए।

0 comments: on "काव्यात्मक खडेरी खेप्दै विश्व कविता दिवसमा कविहरू"