मुख्य समाचार :


ऐठनमा नगरपालिका -पानी बेच्न बन्द

कालेबुङ,22 मार्च।
काकाकुल बनिरहेको कालेबुङले आज पिउने पानी किन्न पाएन। पीएचईले मेटाउन नसकेको कालेबुङबासीको तिर्खालाई स्थानीय झोडाहरूबाट पानी बाहनमा लादेर त्यसैलाई बेचेर एकतिरले दुइ शिकार गर्ने वाहन चालकहरूले आज पानी नै बेचेनन्‌।
कालेबुङ नगरपालिकाले 6 वटा स्रोतको पानी पिउने योग्यको नरहेको खुलासा गर्ने वित्तिकै नगरपालिकाले दोष्याएका स्रोत लगायत अन्य स्रोतबाट पानी बेेच्नेहरूले आज नगरवासीलाई पानी दिएनन्‌। हिजको दिनसम्म नै उनीहरूले नगरवासीलाई वाहनमा लादेर ल्याइएको पानी बेचिरहेका थिए। विश्व जल दिवसको छेक पारेर नगरबासीलाई सचेत गराउँदै कतिपय स्रोतहरूबाट ल्याइेको पानी पिएमा अनेकौं रोग लाग्ने सन्देश दिएपछि पानी बेच्नेहरू असुविधामा परेका हुन्‌। आज उनीहरूले पानी नबेचेपछि नगरबासीलाई स्वास्थ बनाउने नगरपालिका नै आजदेखि उल्टै अस्वस्थ बनेको छ।

रेली रोडस्थित कुट्टी डॉंडा डुंग्राबस्तीमा कालेबुङ वाटर सप्लाई ड्राइभर एसोसिएसनले 35 वटा वाहन अचल राखी आजदेखि हडताल शुरू गरेको छ। जबसम्म नगरपालिकाले एसोसिएसनसित बैठक गरेर नगरपालिकाले देखाएको समस्यामाथि बहस गरेर त्यसको कुनै निचोड निस्कँदैन तबसम्म एसोसिएसनले कालेबुङ नगरवासीलाई पानी नदिने भएको छ।‘कालेबुङमा पानीको हाहाकार हुँदा त्यही नगरपालिकाले हाम्रो जम्मै वाहनहरूबाट ल्याएको पानी नगरमा वितरण गर्दा अशुद्ध भनेन। हाम्रो पानी अशुद्ध भन्छ भने नगरपालिकाले शुद्ध पानी देओस्‌।’-एसोसिएसनका अध्यक्ष स्यामल राईले भने। एसोसिएसनको दाबी अनुसार नगरपालिकाले 2010 मा बर्खाको समयमा परीक्षण गरेको हो। बर्खाको बेला बाहिरबाट पनि झोडामा पानी पसेको हुन्छ। त्यसबेला परीक्षण गरेको रिपोर्टको आधारमा अहिले पिउने योग्यको छैन भन्नु सान्दर्भिक नरहेको भन्दै अध्यक्षले नगरपालिकालाई आग्रह गरे, ‘पानी पिउने लायकको छ, छैन, पुनः परीक्षण गरियोस्‌।’ पानी बेचेर केवल जीविकोपार्जन मात्र होइन, नगरपालिकाले पानी पुर्‍याउन नसकेका नगरपालिकाका आधा हिस्सा नगरबासी नै उनीहरूबाट आश्रित छन्‌। उनीहरूको यो पेशा नयॉं भने होइन। सन्‌ 1985 देखि बिस्तारै कालेबुङमा पानीको हाहाकार मच्चिएपछि उनीहरूलाई पानी बेच्न परेको स्थानीय सन्तोष पाण्डेको भनाइ छ।

85 देखि नै नगरपालिकाले दोष देखाएका झोडाबाट नै उनले पानी बेचिरहेका छन्‌। यता 85 भन्दा अधिदेखि नै मङ्गलधाम र वरिपरिका क्षेत्रबासी त्यही कुट्टी डॉंडा झोडाको पानीमा नै आश्रित छन्‌। ‘अहिलेसम्म कसैले पनि त्यहॉंको पानी पिएर रोग लाग्यो भन्ने गुनासो गरेका छैनन्‌’-तिनले भने। ‘पानी अशुद्ध छ भनेर होइन तर पानी पुगेन भनेर हामीले दिनहौं गाली खानुपर्छ’-पानी बेच्ने वाहनका मालिक रमेश प्रसादले पनि थपे। 1995 देखि दुइवटा वाहना तिनले पानी बेचिरहेका छन्‌। आजदेखि शुरु भएको हडतालले उनीहरूलाई जति हानी गर्छ, त्यो भन्दा धेर पानी पिउनेहरू असुविधामा पर्ने उनीहरूको दाबी छ। कालेबुङको पर्यटन थेग्ने होटलहरूसमेत उनीहरूकै पानीबाट नै सञ्चालित छन्‌। उनीहरूले पानी दिएन भने होटल चल्दैन। हडतालकारीहरूले भने अनुसार होटल मात्र होइन घर निर्माण गर्नेहरू समेत हडतालले प्रभावित बन्नेछ। कालेबुङमा 35 वटा वाहनले दिनैभरि पानी बेच्ने गर्छ। तर यसरी पानी बेच्न पनि उनीहरूले सञ्चोले पाउँदैनन्‌। किन भने लामेतॉंत बाहनहरूले पानी बेक्दा पानीले बाटो बिगारेको आरोप त खप्न परिरहेकै छ उल्टा नगरमा जाम उपार्जन गर्‍यो भन्ने लाञ्छना पनि सहनुपर्छ। तर उनीहरूले पानी बेचेन भने नगरको आधाहिस्सा नै काकाकुलीमा परिणत हुन्छ।

किन भने उनीहरूले पानी बेच्ने ठाउँमा नगरपालिकाले पानी आपूर्ति गर्नै सक्दैन। यता नगरपालिकाले विश्व जल दिवसको छेक पारेर 6 वटा स्रोत रौसे बजार डुंग्रा बस्ती, 12 माइलको तीनवटा झोडा, सिन्देबुङको कुट्टी खोला अनि डुंग्राको गङ्गी झोडाको पानीमा व्याक्टेरिया रहेको खुलासा नगरपालिका स्वास्थ्य अधिकारी एसडी जिम्बाले गरिदिएका हुन्‌। तिनले यी झोडाबाट पानी पिएमा हेपाटाइटिस ई, सी, टाइफाइड, पखाला, मासी जस्ता रोग लाग्ने बताएका छन्‌। नगरपालिकाको यो खुलासाले ती झोडाबाट पानी बेच्नेहरूले आज पानी बेच्ने कुरै आएन। उनीहरूको किटान के छ भने वर्षौंदेखि यही पानी नगरवासीले पिइरहेका छन्‌ तर उनीहरूले कहिल्यै यस विषयको गुनासो पाएका छैनन्‌। वर्खाको पानी मिसिएको झोडाको पानीको रिपोर्टको आधारमा यस्ता घोषणाले नगरपालिकावासी असुविधामा पर्ने नै भयो, पानी व्यवसाय गर्नेहरू पनि असुविधामा पर्‍यो। जब चालकहरूले हडताल गर्‍यो तब नगरपालिका चेपारोमा पर्‍यो। नगरपालिका अपाध्यक्ष गंगामाया गुरूङलाई अब के गर्नुपर्ने हो भन्ने कुराको तत्काल कुनै पनि सोंच नै आएन। तिनले भनिन्‌, नगरपालिकाले पानी आपूर्ति गर्नै सक्दैन। तिनले शीघ्र नै हडतालकारीहरूसित बैठक गरेर समस्या समाधान गर्ने बाटो निकालिने बताइन्‌।

यता स्वास्थ्य अधिकारी डा. जिम्बाले 2010 को बर्खाको बेला नै निरीक्षण भएको स्वीकारे। तिनले स्वास्थ्य विभागका चिफ मेडिकल अफिसरले दिएको सोही निरीक्षणको रिपोर्टको आधारमा आफूले त्यसप्रकारको वयान दिएको बताए। तिनले भने, हाम्रो उद्देश्य कसैको व्यवसायमा हस्तक्षेप गर्नु र नगरवासीमा पानीको हाहाकर उपार्जन गर्नु होइन। स्वास्थ्यबारे सचेत गराउनुपर्ने भएकोले नै रिपोर्टको आधारमा आफूले बयान दिएको तिनको स्पष्टिकरण छ। पानी बेच्नेहरूले हडताल गरेपछि नगरपालिका यति लाचार भएको छ कि जिम्बाले ती झोडाहरूको पुनः निरीक्षण गर्ने बताएका छन्‌। स्पष्ट छ, हडतालकारीहरूसित नगरपालिकाले कुरा मिलाउने नै छ अनि भोलिदेखि ती झोडाहरूबाट नै पानी बेच्ने कार्य पनि हुने निश्चित छ। आजको समस्याले नगरपालिकाको कार्यतन्त्रमा देखिएको असंवेदनशीलताको पोल खोलेको छ।

0 comments: on "ऐठनमा नगरपालिका -पानी बेच्न बन्द"