मुख्य समाचार :


दागोपाप क्षेत्रलाई लिएर गठन हुने जीटीए खारेज गरेर मोर्चा टास्क फोर्समा सम्मिलित होस्‌-मोक्तान

मनोज वोगटी
कालेबुङ, 9 मार्च।
राज्यका मुख्य सचिव समर घोषले जीटीए दागोपाप क्षेत्रमा नै गठित हुने बताएका छन्‌। मुख्यमन्त्रीले पनि यही बताएका छन्‌। जीटीएको त्रिपक्षीय सम्झौतामा पनि यही कुरा लेखिएको छ।
जीटीए गठन हुँदै गर्ने अनि सीमाङ्‌कनको कार्य हुँदै गर्ने शर्तमा मोर्चा महासचिव रोशन गिरीले जीटीएको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्‌। तर रोशन गिरीले नै फेरि तराई डुवर्सलाई आश्वास्त गराउँदै भनेका छन्‌, तराई र डुवर्सका गोर्खाहरू ढुक्कले बस्दा हुन्छ, किन भने जीटीएमा तराई र डुवर्सको अन्तरभुक्ति नभएसम्म जीटीएको चुनाउ गरिने छैन। लेखनीमा अर्को र कथनीमा अर्को कुरा देखिएकोले नै अब जीटीए गठनको कुराले तराई, डुवर्स र पहाडमा समस्या निम्त्याउने स्पष्ट छ।

यही समस्यालाई नजिकबाट बुझिरहेको गोर्खाल्याण्ड टास्क फोर्सले दागोपाप क्षेत्रमा नै जीटीए गठन हुने हो भने मोर्चाले गरेको आन्दोलनको कुनै अर्थ नरहने अनि दागोपापमा गठन भएको जीटीए छुट्टै राज्यको आन्दोलनमा होमिएकाहरूको निम्ति एउटा ऐतिहासिक धोका हुने बताएका छ। टास्क फोर्सका राष्ट्रिय समन्वयक आर मोक्तानले भने, राज्यका मुख्य सचिवको कुरा अनुसार स्पष्ट छ कि जीटीए दागोपाप क्षेत्रलाई लिएर नै गठन हुनेछ। यसको अर्थ जीटीए दागोपाप कै केही ठूलोरुप मात्र हुनेछ। मोर्चाले दागोपापमा नै जीटीए राख्ने हो भने यो यस दलको निम्ति सबैभन्दा अप्रिय निर्णय र जनाकांक्षा विरोधी षडयन्त्र हुनेछ। यसकारण दागोपाप क्षेत्रमा नै जीटीए गठन गरिने हो भने मोर्चाले जीटीएलाई पूर्णरुपले खारेज गर्नुपर्छ। तिनले बताए अनुसार दागोपापमा जीटीए राख्नु कुनै उपलब्धी होइन। यो समयको वर्वादी मात्र हो। छुट्टै राज्यको आन्दोलनलाई ब्रेक दिने षडयन्त्र मात्र हो।

दागोपापमा नै जीटीए गठन हुने हो भने मोर्चाले सधैँभरिको निम्ति गोर्खाल्याण्ड विरोधीको कलङ्‌क निधारमा बोकेर हिँड्‌नुपर्छ। यसै पनि जीटीएको उमेर लामो छैन। धेरै समयसम्म जनतालाई भ्रममा राख्न सकिन्न। गोर्खाल्याण्डको निम्ति आन्दोलन गर्नै पर्ने स्थिति हुनेछ। यसो हो भने अहिले नै बुद्धि पुर्‍याएर मोर्चाले दागोपाप क्षेत्रमा गठन हुने जीटीए खारेज गर्नुपर्छ। मोक्तानले मोर्चालाई सुझाव पनि दिएका छन्‌। आर मोक्तानले भने, गोर्खाल्याण्ड टास्क फोर्ससित केवल एउटा मुद्दा छ, त्यो हो छुट्टै राज्य। यसको निम्ति फोर्सले देशका विभिन्न राज्यका मन्त्रीहरू, सासंदहरू, विधायकहरू लगायत बुद्धिजीवीहरूलाई छुट्टै राज्यको औचित्य बुझाउने कार्य गर्दै आइरहेको छ। यदि मोर्चा छुट्टै राज्यप्रति समर्पित दल हो भने यदि मोर्चा पैसा र चौकीको पछि कुद्ने दल होइन भने, यदि मोर्चाले जनताको आकांक्षाको कदर गर्छ भने मोर्चाको निम्ति टास्क फोर्सको ढोका खुल्ला छ। टास्क फोर्स चहान्छ मोर्चा पनि टास्क फोर्समा सम्मिलित होस्‌ र क्षेत्रीय-राष्ट्रियरुपमा छुट्टै राज्यको निम्ति कटिबद्धरुपले अघि बढोस्‌।

मोक्तान अनुसार यतिबेला राज्य र केन्द्रलाई दार्जीलिङ लगायत देशका गोर्खाहरूले छुट्टै राज्यको आन्दोलन यथावत छ भनेर प्रमाणित गर्नुपर्छ। मोक्तान अनुसार दुइवटै आन्दोलनमा तराई र डुवर्सका जनताले छुट्टैराज्यको आन्दोलनलाई सहयोग गरेको छ। पहिलो आन्दोलनबाट तराई र डुवर्सले धोका पायो। यसपल्टको आन्दोलनकारीले तराई र डुवर्स नछोड्‌ने प्रतिश्रुति दिइसकेको छ। यसपल्ट पनि तर धोका हुने निश्चित छ। मोर्चाले पनि पुरानै इतिहास दोहोर्‍याउनु भनेको जीटीएको छोटो उमेरपछि मोर्चामाथिको जनविश्वासमा खिया पलाउनु हो। मोक्तानले अझ भने, डुवर्स र दार्जीलिङ बङ्गालको भूभाग नै होइन। तराई, डुवर्स र पहाड छुट्टै राज्यको दाबीको क्राइटेरिया हो।

यसबारेमा टेबलमा बसेर नै बुझाइन सकिन्छ। जीटीएमा तराई र डुवर्स छोड्‌नु भनेको पैसा र दागोपापको चौकीपछि कुद्ने राजनीति गर्नु हो। जनताले सबै कुरा बुझ्ने भएकोले लामो र इमान्दार राजनीति गर्न नसके जनताले निश्चित समयमा ठीक जवाब दिने छ। जस्तो सुबास घिसिङलाई दिइएको थियो। यसकारण मोर्चाले जीटीए दागोपाप क्षेत्रमा गठन नगरोस्‌। जीटीएलाई खारेज गरेर गोर्खाल्याण्ड टास्क फोर्समा सम्मिलित भएर आन्दोलनको निम्ति अघि आओस्‌।

बजट सत्रमा आवाज नउठाए
विधायक र सासंदले राजिनामा दिनुपर्छ
कालेबुङ, 9 मार्च।
गोर्खा जनमुक्ति मोर्चा छुट्टै राज्यको निम्ति कटिबद्ध छ के? भन्ने कुरामा गोर्खाल्याण्ड टास्क फोेर्सले सन्देह गरेको छ। मोर्चा गोर्खाल्याण्ड प्रति इमान्दार छ भने फेरि अर्को दागोपाप थापेर जनताको आकांक्षा विरोधी निर्णयमा नआउनुपर्ने विचार टास्क फोेर्सको छ। टास्क फोर्स अनुसार छुट्टै राज्यको आवाज विधानसभा अनि संसदमा उठाइनुपर्छ। जबसम्म विधानसभा र संसदमा छुट्टै राज्यको आवाज उठाउँदैन तबसम्म दार्जीलिङ पहाडमा मात्र जुलूस, धर्ना, पोष्टरिङ वा यस्ता अनेकौं कार्यक्रम गरे पनि त्यसको ठीक अर्थ लाग्दैन। विधानसभा र संसदको पटलमा प्रतिनिधिहरूले राखिएको मागलाई बल पुर्‍याउनको निम्ति नै कुनै पनि दलले विभिन्न क्षेत्रमा जनतालाई सडक उतार्नुपर्छ। जनताको आन्दोलनलाई देखाएर नै विधायक र सासंदहरूले छुट्टै राज्यको जनताको आकांक्षालाई देखाउन सक्छन्‌। अहिलेसम्म नै दार्जीलिङका सांसदले छुट्टै राज्यको आवाज कति उठाए, त्यसको असर कति पर्‍यो भन्ने कुरा छर्लङ्ग छ। आजसम्म नै विधायकहरूले विधानसभा पटलमा कति आवाज उठाएका छन्‌, त्यो पनि छर्लङ्ग छ। जहॉं आवाज उठाउनुर्ने त्यहॉं आवाज नै नउठ्‌ने हो भने उनीहरूलाई जनताको प्रतिनिधि हुने हक नै नरहने गोर्खाल्याण्ड टास्क फोेर्सले बताएको छ। आर मोक्तानले भने, यसै महिना बजट सत्र भइरहेको छ। जनता चहान्छन्‌ कि दार्जीलिङका सांसद जसवन्त सिंह अनि विधायकहरू डा. हर्कबहादुर छेत्री, त्रिलोक देवान र डा. रोहित शर्माले सांसद अनि विधानसभाको पटलमा जोरसित छुट्टै राज्यको आवाज उठाउनुपर्छ। यदि आवाज उठाउने क्षमता छैन भने तत्कालै उनीहरूले राजिनामा दिनुपर्छ। उनीहरूको त्यागपत्रलाई गोर्खाल्याण्डप्रतिको इमान्दारिता मानिने छ।

गोर्खाल्याण्डको निम्ति दिल्लीमा धर्ना
सासंद र मन्त्रीहरूसित भेटिने
कालेबुङ, 9 मार्च।
गोर्खाल्याण्ड टास्क फोर्सले देशको विभिन्न प्रान्तमा गएर जीटीए गोर्खाहरूको आकांक्षा नरहेको अनि केवल छुट्टै राज्य गोर्खाल्याण्ड मात्र भारतभरिका गोर्खाहरूको आकांक्षा रहेको बुझाउँदै आइरहेको छ। देशभरिका गोर्खाहरूले यो कुरालाई बुझिरहेको कुरा उत्तरखण्डको मैसुरी विधानसभा सिटको निम्ति गोर्खा जनमुक्ति मोर्चाले लडेको चुनाउ र त्यसमा भएको लाजमर्दो हारले नै पुष्टि गरेको छ। केन्द्र सरकार र राज्य सरकार छुट्टै राज्यको पक्षमा रहेकोले दुवै सरकारले विकास र पैसाको लालचमा छुट्टै राज्यको आन्दोलनलाई विथोल्ने प्रयास गरिरहेको बेला गोर्खा जनमुक्ति मोर्चालाई पनि यसैको शिकार बनाइएको पनि बुद्धिजीवीहरू मान्छन्‌। गोर्खाल्याण्ड टास्क फोर्सले बताए अनुसार केन्द्र र राज्यलाई मुद्दाबारे सहीरुपले बुझाउन सकेमा अनि देशभरिका बुद्धिजीवी, सासंद र मन्त्रीहरूलाई पनि सहीरुपले मुद्दाबारे बुझाउन सकिए छुट्टै राज्य असम्भव छैन। यता राष्ट्रपतिले जीटीएको खेस्रालाई अनुमोदन गरिदिए पनि गोर्खाल्याण्ड टास्क फोर्सका राष्ट्रिय समन्वयक आर मोक्तानले बताएका छन्‌, हामीले स्पष्ट पारेका छौं, जीटीए स्थायी समाधान होइन अनि छुट्टै राज्यको आन्दोलन यथावत छ। हामी तबसम्म नै प्रयासरत छौं, जबसम्म केन्द्रले हाम्रो मुद्दा स्पष्टसित बुझ्नेे छ।
यसैक्रममा फोर्सको कार्यक्रम राष्ट्रियस्तरमा नै तय रहेको बताउँदै 11 मार्चको दिन फोर्सको बैठक दिल्लीमा हुने जनाएका छन्‌। तिनले भने, यो बैठकपछि 12 मार्चको दिन फोर्सले सांसद, मन्त्री अनि बुद्धिजीवीहरूलाई भेट्‌ने छ। जीटीए होइन छुट्टै राज्यको जनाकांक्षो हो भन्ने बुझाइने छ। 19 मार्चको दिन जन्तरमन्तरमा धर्ना र जनसमावेश हुनेछ, जहॉं विभिन्न राज्यका सासंद, क्षेत्रीय-राष्ट्रिय नेता, बुद्धिजीवीहरूले सम्बोधन गर्ने छन्‌।

0 comments: on "दागोपाप क्षेत्रलाई लिएर गठन हुने जीटीए खारेज गरेर मोर्चा टास्क फोर्समा सम्मिलित होस्‌-मोक्तान"