मुख्य समाचार :


छुट्टै राज्यको निम्ति फेरि चल्मलाउँदैछ कालेबुङमा‘थर्ड फोर्स’

मनोज वोगटी
कालेबुङ, 27 फरवरी।
पहाड, तराई र डुवर्सका शिक्षित र क्रान्तिकारी युवाहरूको एक जमातले कालेबुङमा चल्मल गरिरहेको गोप्य सूत्रले बताएको छ।
सूत्रद्वारा प्राप्त थर्ड फोर्सको साङ्गाठानिक ढॉंचारुप-को नक्सा
जमातलाई थर्ड फोर्स नामकरण गरिएको पनि सूत्रको रिपोर्ट छ। यो फोर्सको गोप्य बैठक कालेबुङमा पॉंचपल्ट भयो। खरसाङमा दुइपल्ट, दार्जीलिङमा दुइपल्ट, सिलगढीमा चारपल्ट अनि अहिले तराई-डुवर्समा लगातार बैठक भइरहेको सूत्रले बताएको छ। सूत्र अनुसार यो फोर्सले छुट्टै राज्य नहुनुमा पहाडको राजनैतिक दलहरूको भूल, केन्द्र र राज्यको षडयन्त्र अनि नेताहरूको इमान्दारिता दोषी रहेकोमाथि विमर्ष गरिरहेको छ।
थर्ड फोर्सको वैठकमा बसिसकेका एक नाम बताउन नचाहने व्यक्तिले भने, आन्दोलनलाई अशिक्षितहरूले, गुण्डाहरू, ठेकेदार अनि भूमाफियाहरूले सञ्चालन गरेकोले नै लक्ष्यमा पुग्न नसकिएको हो। यी नै शक्तिहरू लगाएर पहाडमा भाइचारा, एकता, बौद्धिकता र प्रतिबद्धता नष्ट गरिरहेको छ। यसको निम्ति शत्रुले डर्टी फोर शूत्र अप्नाएको छ। डिभाइड, डिपपुलेट, डिप्राइभ अनि डिस्ट्रई।

तिनी अनुसार आन्दोलनलाई नेतृत्व दिनेहरूले शत्रुको षडयन्त्र सूत्र बुझ्दैनन्‌ किन भने उनीहरू अशिक्षित हुन्छन्‌। एक अशिक्षित र राजनैतिक शिक्षाहीन नेताको हातमा सम्पूर्ण भारतका गोर्खाहरूको आकांक्षाको कमान दिनु नै मुद्दा असफलताको प्रथम कडी हो। प्रमुख नेता शत्रुको जालमा पर्ने वित्तिकै तिनीसित रहेका विद्वान, बुद्धिजीवी, सचेत अनि आम नागरिक नै निराशावाद, पराजयवाद अनि अन्तमा समर्पणवादमा पुग्ने हुनाले परिणति शून्य रहेको हो। तिनले संकेत गरे अनुसार थर्ड फोर्सले भारतभरिका गोर्खा शिक्षित युवाहरूसित विमर्ष कार्य थालेको छ।

 यसको निम्ति साइबर सहयोग पनि लिइएको छ। थर्ड फोर्सले विभिन्नरुपको लिखित दस्तावेजहरू पनि तयार पारेको बताइएको छ। जुन दस्तावेज अहिले भारतभरिका छुट्टै राज्य चहाने इमान्दार शिक्षित युवाहररूले पढ्‌ने कार्य भइरहेको छ।

 जसमा आन्दोलनको विफलताको कारण र यसको निवारण, राष्ट्रिय-राज्यीय राजनीति र गोर्खाहरूको सवाल, छुट्टै राज्यको अवधारणा र संविधानको बाटो, देशभरि गठन भएका राज्यहरूको इतिवृत, भारतभरिका गोर्खाहरुले दाबी गरेको छुट्टै राज्य, आर्थिक, सामाजिक, प्रशासनिक सम्भाव्यता लगायतका आन्दोलनकारीको आचार संहितासमेत रहेको पनि सूत्रले बताएको छ। पहाडको तेस्रो र शिक्षित युवाहरूको राजनैतिक शक्तिकोरुपमा गर्भधान भइरहेको थर्ड फोर्सले अहिले नै कुनै पनि कार्यक्रम र घोषणा गर्न नचाहेको पनि बताइएको छ। गोजमुमोले जीटीए थापेपछि अनि यसको सञ्चालन भइसकेपछि भने थर्ड फोर्सले तयार पारेको अवधारणालाई प्रत्यक्षरुपले अघि बढाउने छ। त्यतिञ्जेलसम्मको निम्ति थर्ड फोर्सको सैद्धान्तिकी निर्माणमा सर्वभारतीय गोर्खा शिक्षित युवाहरूसित आन्तरिकरुपले विमर्ष कार्य गरिरहने थर्ड फोर्सको कार्य सिद्धान्त रहेको पनि सूत्रको दाबी छ।

  मोर्चाको धोकालाई जनताले जबसम्म व्यवहारिकरुपले अनुभूत गर्न थाल्दैन तबसम्म  थर्ड फोर्सले जनताको विभिन्न स्तरमा आफ्नो जनचेतना कार्य जारी राख्ने छ। यसको निम्ति को-अर्डिनेशन कमिटी बनाइएको छ। आचार संहितासित नै तयार यो कमिटीले बनाइएको नियम, संविधान र आचार संहितासित नै विभिन्न क्षेत्रमा कार्य गर्ने छ। गुण्डा, दादावादी, कुण्डले र हतियारधारी युवाहरूलाई फोर्समा संलग्न नगराउने अनि शिक्षित युवाहरूलाई भने विभिन्न माध्यमबाट आकर्षित गरेर आन्दोलनको शक्ति सञ्चय गर्ने फोर्सको कार्यविधि रहेको समेत सूत्रले समय दैनिकलाई बताएको छ। फोर्सले सङ्गठनको विधिविधान सहितको दस्तावेज अहिले शिक्षित युवावर्गमा वितरण गर्ने अनि यसको निम्ति लिखित सहमति वा असहमति मागिरहेको पनि सूत्रले बताएको छ।

0 comments: on "छुट्टै राज्यको निम्ति फेरि चल्मलाउँदैछ कालेबुङमा‘थर्ड फोर्स’"