मुख्य समाचार :


टास्क फोर्समाथि विधायकले उडाए खिल्ली ‘टास्क होइन ‘पोष्टर’ फोर्स’

कालेबुङ, २ फरवरी|
ओह्राली लागेको मृगलाई बाछाले पनि खेद्छ भन्ने उखान अब मोर्चामाथि चरितार्थ हुँदै जाने हो कि भन्ने शंका उब्जाउने पहाडको राजनैतिक परिस्थितिलाई गोर्खाल्याण्ड टास्क फर्सले निक्कै गरम गर्दै आइरहेको छ| दोस्रो राज्य पुनर्गठन आयोग बसाइए अनि त्यसमा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा नपसे त्यसको दोष सोझै मोेर्चालाई जाने टास्क फोर्सको आरोप शुरु भइसकेको छ| टास्क फोर्सले पहिलो चरणको दिल्लीगामी कार्यक्रमपछि एउटा तथ्य सार्वजनिक गरेको थियो, जो अनुसार केन्द्र सरकारले जीटीए मार्फत गोर्खाहरूको समस्याको समाधान भइसकेको बुझेको छ| तर गोर्खाहरूको समस्याको समाधान भने छुट्टै राज्य हो भने कसरी केन्द्र सरकारले जीटीएलाई नै ती सम्पूर्ण गोर्खाहरूको समस्याको समाधान हो भनेर बुझ्यो त? यो प्रश्‍न मोर्चाको चरित्रतिर फर्किएकोले मोर्चा र टोस्क फोर्सबीच ताममेल छैन| फोर्सले मोर्चालाई दुइपल्ट बैठकमा बोलायो, तर मोर्चा आएन| फोर्स अनुसार मोर्चा छुट्टै राज्यको मुद्दामा इमान्दार छैन र नै बैठकमा नआएको हुनसक्छ| जे होस् अहिले मोर्चा र टास्क फोर्सबीच जुन द्वन्द्व चर्किएको छ, यसैले स्पष्ट पार्छ मदन तामङ र गोर्खालिगपछि मोर्चाले फोर्सलाई एक बलियो विपक्षकोरुपमा पाएको छ| दोस्रो राज्य पुनर्गठन आयोगमा गोर्खाल्याण्डको मुद्दा नपसे मोर्चा दायी हुने फोर्सको चुनौतिबारे प्रश्‍न गर्दा मोर्चाका प्रवक्ता डा. हर्कबहादुर छेत्रीले भने, टास्क फोर्स ‘टास्क फोर्स’ होइन ‘पोष्टर’ फोर्स हो| हामीले सरकारसित ११ पल्ट वार्ता गरेर पनि केही गर्न सकेका छैनौं, पोष्टर फोर्सले पोष्टर टास्दैमा छुटै राज्य हुन्छ र? तिनी अनुसार फोर्सले पहिले जनतामा छुट्टै राज्य माग्न सक्ने योग्यता देखाउनुपर्छ| तिनले अझ भने, फोर्सले उत्तरदायित्वहीन कुरा गर्नु हुँदैन| मोर्चाले कहिले भनेको छ दोस्रो एसआरसी गठन भए मोर्चा चुप लागेर बस्छ भनेर? मोर्चाले आयोग बसेमा तीब्र आवाज गर्ने छ| छेत्रीले जोसित जनसमर्थन छ उसित मात्र सरकारले कुरा गर्ने बताउँदै जनता नै नभएको फोर्ससित सरकारले कुरै पनि नगर्ने किटान पनि गरेका छन्|

मीडिया कि राजनीति?
दोस्रो राज्य पुनर्गठन आयोग मार्च महिनामा बसाइने तम्तयारीमा कंग्रेस पार्टी र केन्द्र सरकार रहेको कुरा राष्ट्रिय मीडियामा नरहेको किटान गर्दै डा. हर्कबहादुर छेत्रीले भने, किन लोकल मीडियामा मात्र यस्तो कुरा आउँदैछ? राष्ट्रिय मीडिया बोलेकै छैन| मीडियाले मीडियाको धर्म पालन गरिरहेको छ कि राजनीति गरिरहेको छ? कुरा बुझ्नु जरुरी छ| यता तिनलाई जनताले मोर्चाले गर्छु भनिरहेको आन्दोलन जीटीएको निम्ति गरिएको बार्गेनिङ मात्र बुझिरहेको कुरा गर्दा तिनी बिच्किए| तिनले भने, कुन जनता? जनता त हामीसित छ| त्यो जनताले किन जीटीए गठन भएन भनेर सोधिरहेका छन्| हामी त्यही प्रश्‍न राज्य सरकारसित सोधिरहेका छौं| जुन जनताले मोर्चाको आन्दोलनलाई बार्गेनिङ बुझ्छन् तिनी जनता होइन्, कुनै विपक्षका क्याडर हुन्| मोर्चाले जीटीएको सम्झौताको शुरूमा नै गोर्खाल्याण्ड ड्रप गरेका छैनौं भनेर लेखेका छौं| जीटीए नै अन्तिम होइन| अध्यक्षले हस्ताक्षर गरेका छैनन्| यदि एसआरसी गठन हुँदैछ अब विधायकहरूले राजिनामा दिनुपर्छ भनेर अध्यक्षलेे भनुन् भोलि नै हामी राजिनामा गर्नेछौं| मोर्चाले जे पनि गरिरहेको छ छुट्टै राज्यको निम्ति नै गरिरहेको छ| डा. छेत्रीले सम्झौतामा ड्प नगरेको कुरा स्पष्टिकरणमा त राखे तर ‘ड्रप’ भनेर लेख्ने र हस्ताक्षर गर्ने गोरामुमो अध्यक्ष सुबास घिसिङको  सम्झौता र हस्ताक्षरको महत्व कति हुँदो रहेछ भनेर मोर्चाले नै आन्दोलन गरेर अर्को सम्झौता गरेर प्रमाणित गरिसकेकोले हस्ताक्षर गर्नु, मुद्दा ड्रप गर्नु र नगर्नुमा कुनै अर्थ नरहेको यता स्पष्ट छ|

0 comments: on "टास्क फोर्समाथि विधायकले उडाए खिल्ली ‘टास्क होइन ‘पोष्टर’ फोर्स’"