मुख्य समाचार :


मोर्चाले जीटीएको विरोध गरेको होइन ढिलाईको विरोध गरेको हो-विमल

कालेबुङ, 6 फरवरी।
भारतीय गोर्खा पूर्व सैनिक-अधर्र् सैनिक मोर्चाको स्थापना दिवसमा बोल्दै गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले बारम्बार दोहोर्‍याएर भनेका छन्‌ कि मोर्चाले अहिले पनि जीटीएको विरोध गरेको छैन।
तिनले जीटीएको गठन ढिलो हुँदा केन्द्रिय कमिटीको बैठकपछि नै किन ढिलो भएको हो भनेर सोध्न मात्र बोलेको बताए। तिनले भने, जीटीए 6 महिनामा गठन हुन्छ भनेको थियो।

मैले पनि जनतालाई 6 महिना पर्खिनु भनेको थिएँ। जनताले पर्खिए। तर अहिले 6 महिना 19 दिन बितेर गयो तर जीटीए गठन भएन। समय दिएर पनि जीटीए गठन नगरेकाले ढिलाईको विरोध गरेका हौं। तर जीटीएको विरोध गरेका होइनौं। देहरादूनको भ्रमणभरि नै जीटीए गठन नहुँदा आफूलाई कुत्कुती लागेको बताउँदै तिनले समय दिएर पनि जीटीए गठन नगर्दा कतै हाम्रा नेताहरुले नै पो भूल गरेको छ कि भनेर फर्किने बित्तिकै केन्द्रिय समितिको बैठक गरेको अनि बैठकपछि नै ढिलाईको विरोध गरेको तिनले स्पष्ट पारे।

तिनले राज्य र केन्द्र सरकारसित विश्वासमा नै जीटीएको सम्झौता गरेको बताउँदै 27 मार्चसम्म मोर्चाले सरकारलाई डेटलाइन दिएको बताए। तिनले भने, डेटलाइनभित्र जीटीए गठन नगरे 27 अप्रेलको दिन जीटीएको सम्झौतालाई मोर्चाले खारेज गरेर छुट्टै राज्यको आन्दोलन गर्ने छ। तिनले अझ भने, हाइपावर कमिटीले 6 महिना समय मागेको छ, हामीले दुइ महिना बडाएर समय दिएका छौं। तरै पनि जीटीए गठन भएन भने, जनता आन्दोलनको निम्ति तयार रहनु। 34 वर्ष शासन गर्ने माकपा सरकारले गर्न नसकेको काम तृणमूलको सरकारले गर्दा विश्वास गरेको तर अहिले त्यही विश्वासमा घात भएको कुरा पनि गुरूङले बारम्बार दोहोर्‍याए। तिनले भने, राज्य र केन्द्रबीच के चल्दैछ, त्यो हामी जान्दैनौं। बीचमा मोर्चालाई नपार। सरकारले कटिबद्धता प्रकट गरेको छ, त्यो पूरा गर।

कालेबुङ टुँडिखेल
विमल गुरूङले कालेबुङ सबैको टुँडिखेल भएको बताएका छन्‌। तिनले भने, कालेबुङलाई जो पनि आउँछ लात हान्छ। कालेबुङमा एकसाएक नेता निस्कन थाल्यो। टास्क फोर्स भनेको के हो? के को निम्ति टास्क फोर्स? टास्क फोर्सले अन्डर ग्राउण्ड ट्रेनिङ गर्दैछ। कालेबुङको वातारवरण राम्रो छैन। सबै सचेत बस्नु। तिनले आफ्ना प्रतिनिधि र समर्थकहरूलाई सचेत गराउँदै ‘नडराउनू’ भने। चारैतिर याद राख्नु। कालेबुङमा माओवादी पसेका छन्‌। यो कालेबुङको लागि राम्रो होइन। प्रतिनिधिहरू सतर्क बस्नु। सबैलाई सम्झाउनु। रक्तपात नहोस्‌। गोर्खाल्याण्डको निम्ति विश्वास गर्नेलाई राम्रो भन्दैनौं। मोर्चा जनता नठगियोस्‌ भनेर काम गर्दैछौं-तिनले भने।

विपक्षलाई झटारो
विमल गुरूङले क्रामाकपाप्रति पनि कटाक्ष गरे। आरबी राईलाई बेकारमा नबोल्ने सुझाव पनि तिनले दिए। तिनले भने, कुरै नबुझी आलोचना नगर। केही भन्नु छ भने टेबलमा आउ। आर मोक्तान हिजोसम्म घरी भूभाग सिक्किमको हो भन्थे, घरी बीजेपीमा गए। अहिले टास्क फोर्समा पसेर के के भन्दैछन्‌। पढेर मात्र परिपक्व हुँदैन। परेर पनि परिपक्व हुन्छ। तिमीले पढेको संविधान र भारतको संविधान मिल्दैन।

पत्रकारहरू खबरदार
कालेबुङ धेरै नै संवेदनशील रहेको विमल गुरूङले स्वीकार गर्दै विपक्षको खोइरो त तिनले खने नै पत्रकारहरूलाई पनि छोडेनन्‌। मुख्य गरेर छत्र सुब्बाको सन्दर्भमा तिनले छत्र सुब्बा हत्या र हिंसामा विस्वास गर्ने मान्छे रहेको बताउँदै पत्रकारहरूलाई होसियारी गराए। तिनले भने, पत्रकारहरूले पनि बुझ्नुपर्छ।
किन भने 86 मा पत्रकारहरूलाई मारिएको छ। सही राजनीति हुनुपर्छ। जतासुकै लेख्नु हुँदैन। लेख्दा कालेबुङमा पत्रकार पनि मारिएको थियो भन्ने कुरा सोच्नु र बुझ्नुपर्छ। हामीले त पत्रकारहरूलाई गालि गरेका छैनौं। आन्दोलनलाई यहॉंसम्म ल्याउने पत्रकारहरू नै हो भनेर इज्जत गर्छौं। साह्रै रिस्‌ उठ्‌‌‌यो भने सेमिनार राख्नु। हामी आउँछौं। अरुलाई पनि बोलाउनु। जीटीएमा के गल्ती छ के राम्रो छ विमर्ष गर्नु।

तिनले कालेबुङमा जस्तो नकरात्मक राजनीति कतै नरहेको अनि पत्रकारहरूलाई उनीहरूलाई धेर प्रथमिकता दिएको बताउँदै भने, दार्जीलिङको च्यानलमा त कसैको देखाउँदैन। देखाउन दिँदैनौं। पटक्क दिँदैनौं। अब कालेबुङमा पनि त्यसै पो गर्नुपर्छ कि? तिनले कालेबुङमा केही नेताहरू नराम्रो बोल्ने रहेको र सबैलाई पर्सनल्ली चिनेको पनि बताए।

युवा मोर्चालाई काम
विमल गुरूङले कालेबुङमा भइरहेको विभिन्न राजनैतिक चलखेल र उथुल पुथुललाई ध्यानमा राख्ने निर्देश युवा मोर्चालाई दिएका छन्‌। कालेबुङमा माओवादी पसेको देखि लिएर छत्र सुब्बाको राजनीति अनि टास्क फोर्स र केही कालेबुङका छुच्चा नेताहरूको समेत खोइरो खनेपछि तिनले युवा मोर्चालाई भने, युवाहरू सतर्क बस्नु। तगडा बस्नु। कसैले हेप्यो भने नछोड्‌नु। तर गणतान्त्रिक बस्नु। कालेबुङमा राम्रो मति छैन। 24, 27 समष्टी र लाभाको जङ्गलमा याद गर्नु। त्यहॉं ट्रेनिङ हुँदैछ। ममता व्यानर्जीलाई पनि यो कुरा भनेको छु।

0 comments: on "मोर्चाले जीटीएको विरोध गरेको होइन ढिलाईको विरोध गरेको हो-विमल"