मुख्य समाचार :


विमल बम्किए छत्रसित

‘कालेबुङमा 15-20 माओवादी पसेका छन्‌’
मनोज वोगटी
कालेबुङ,6 फरवरी।
हिजो दार्जीलिङमा छत्र सुब्बासित भएको कुराकानीबारे सत्य कुरा भन्छु भनेर गरेको घोषणा आज विमल गुरूङले पुरा गरे।
विमल गुरूङ
विमल गुरूङ पूर्व-अर्ध सैनिक मोर्चाका चौथो स्थापना दिवसको निम्ति कालेबुङ आएका थिए। तिनले रामकृष्ण रङ्गमञ्चबाट कालेबुङको कृषि मेलामा भएको छत्रसितको भेटमा भएको कुराकानीबारे बोल्दै तिनले दुइबीचको संवाद सार्वजनिक गरे।

तिनी अनुसार कुराकानी यस्तो भएको थियो।

छत्र सुब्बाः घरमा दाजुभाइहरू आएर आन्दोलन गरौं भन्दैछन्‌। आन्दोलन गरौं भनेको।
विमल गुरूङः ताकत छ र समर्थन छ भने गर्नुहोस्‌।
छत्र सुब्बाः त्यसो भनेर भएन, भाइ बेगर कसरी आन्दोलन गर्नु। भाइको सपोर्ट हुनुपर्छ।


गुरूङले भने, मलाई पो सपोर्ट माग्दैछन्‌। आँट छ भने एक्लै गर्नुपर्छ। म आन्दोलन गरिरहेको छु। जनतालाई ढॉंटेको छैन। जीटीए त 44 महिनाको आन्दोलनमा जनतालाई असुविधा पर्‍यो भनेर, सरकारको प्रस्ताव र सुझावमा सम्झौता गरिएको हो। हाम्रो मूल मुद्दा त छुट्टै राज्य हो। यदि हामीले भूल गरेको छ भने हाम्रो घॉंटी रेट्‌दा हुन्छ। म ढॉंटेर राजनीति गर्ने मान्छे होइन। तिनले छत्रलाई कटाक्ष गर्दै भने, छत्र सुब्बा जिरो छन्‌। छत्र सुब्बाको फेल्टर टोपी मन पराउनु तर तिनको गिदी होइन। कुन दिन दसबाह्र जना केटाहरू बटुल्छन्‌ अनि कसैलाई ‘ठ्याङ्ग’ पार्छन्‌। यस्तो मान्छेले आन्दोलन गर्छ? आन्दोलन नै गर्छ भने लु आउन्‌ हामीसित, म संगसंगै घुमाउँछु। हामीसित यत्रा बुद्धिजीवी, बौद्धिक मान्छे छन्‌ र त सकेका छैनौं। तिनले सक्छ? आउँछौं भने आउ हामीसित तर अगणतान्त्रिकरुपले होइन। लुट्‌ने, मार्ने विचारले होइन।

तिनले छत्रसितको संवादलाई अझ स्पष्ट पारे।

मैले छत्र सुब्बालाई भने, कुन दिन सीपीआरएमले खाडलमा हाल्छ है।
छत्र सुब्बाले भने, क्रामाकपाले मलाई निकालेको हो नी त।


गुरूङले भने, ममताको नयॉं सरकार आएपछि विनाकारण छत्र सुब्बा जेलमा सडिरहेका छन्‌, तिनलाई मुक्त गर्नुपर्छ भनेर ममता व्यानर्जीसित वान टु वान बसेर मैले कुराकानी गरेको हो। सात घुम्तिको मुद्दा त छिनाफाना भयो, तीन कटेरीको मुद्दा त जिउँदै छ, कसरी तिनलाई छोड्यो?

मैले ममता व्यानर्जीसित वान टु वान बसेर तपाईँलाई मुक्त गरेको हो भन्दा छत्र सुब्बाले हल्कासित ‘हो र भाइ?’ पो भने। यस्ता गिदी नभएकोले कसरी गर्छन्‌ आन्दोलन? विमल गुरूङ अनुसार छत्र सुब्बा मुखमा झ्याम्पल खॉंद्ने मान्छे हुन्‌। जब कि मोर्चाले 44 महिनाको आन्दोलनमा कुनै हत्या नगरेको तिनको किटान थियो। तिनले भने, 86मा 12 सय शहीद भयो। गोर्खाल्याण्डको निम्ति 27 जुलाईको दिन। तर कालेबुङमा धेरै मान्छे मरेका छन्‌। अरु हत्यामा छत्र सुब्बा संलग्न थिए। मान्छे मारेर आन्दोलन हुँदैन। तिनले यसैबीच कालेबुङमा 15 देखि 20 जना माओवादी पसेको किटान गरेका छन्‌। यसबारे ममता व्यानर्जीलाई अवगत गराइएको पनि तिनले बताए।

कालेबुङमा राम्रो नभइरहेको बताउँदै तिनले आफ्नै प्रतिनिधिहरूलाई सचेत बस्ने अनुरोध गरे। तिनले भने, याद राख्नु हिंसा जसले गर्छ उसलाई ‘चिङ्‌ना’ टिपेको जस्तो हुनेछ। तिनले छत्र सुब्बालाई सतर्क गराउँदै भने, छत्र दाजु, तपाईँ जे पनि खेल्नु हुँदैछ जोगिएर खेल्नु होस्‌। वातावरण ठीक छैन। म गणतान्त्रिक छु। जगा जगामा गएर विमल र म मिल्यौं भन्नु हुँदैन। नीति मिल्नुपर्छ। दुइचारजनाले चम्कॉंउदैमा चम्किनु हुँदैन।

0 comments: on "विमल बम्किए छत्रसित"