मुख्य समाचार :


जीटीए खारेज गर्ने मोर्चाको निर्णयलाई स्वागत

‘सबैले नै छुट्टै राज्यको आन्दोलन गर्नुपर्छ’

कालेबुङ, 4 फरवरी।
गोर्खा जनमुक्ति मोर्चाले जीटीए खारेज गरेर छुट्टै राज्यको आन्दोलन गर्ने भनेर बनाएको सोंचलाई क्रामाकपाले स्वागत जनाएको छ।
क्रामाकपा महासचिव तारामणि राई

मोर्चाले गोर्खाल्याण्डको आन्दोलन थन्काएर नै जीटीएमा हस्ताक्षर गरेको थियो।लाख विरोध हुँदा पनि मोर्चाले जीटीएको मुद्दालाई छोडेन। यता जीटीए ढिलो हुँदा युवा मोर्चाले छुट्टै राज्यको निम्ति आन्दोलन गर्ने हल्ला गरे पनि ममता व्यानर्जीले एकै बचनमा युवा मोर्चालाई थन्काइदिएको छ। मोर्चा जीटीए गठन हुने कुरामा आशावादी थियो तर राज्य सरकार र केन्द्र सरकारबीचको द्वन्द्वको कारण जीटीए गठन हुने सम्भावना छैन।

यसै कारण मोर्चा दुवै सरकारको रवैयाप्रति रिस्ले चुर भएको छ। यस्तो अवस्थामा मोर्चाले के गर्नु पर्ने भन्ने कुरामा झट्ट निर्णय पनि गर्न सकिरहेको छैन। झिनो आशा बोकेरै बसेको मोर्चाले 17 अप्रेलको दिन सुकनामा जनसभा गर्दै फेरि जीटीएलाई थन्काएर छुट्टै राज्यको आन्दोलन गरिने भनेर गरिएको मोर्चाको घोषणालाई क्रामाकपाले स्वागत जनाएको छ। क्रामाकपा महासचिव तारामणि राईले भने, अहिले केन्द्रसम्मलाई जीटीए नै सम्पूर्ण देशका गोर्खाहरूको समस्याको समाधान हो भनेर राज्य सरकार र सम्झौता गर्ने दलले प्रचार गरेको छ। तर जीटीए दार्जीलिङ जिल्लाको तीनवटा महकुमालाई लिएर विकास गरिने एउटा एजेन्सी मात्र हो।

दार्जीलिङ जिल्लाको तीन महकुमाको विकास एजेन्सीलाई देखाएर सबै गोर्खाहरूको समस्याको समाधान भएको देखाउनु छुट्टै राज्यको मुद्दाको निम्ति हानिकारक हो। यसैको विरोधमा गोर्खाल्याण्ड टास्क पोर्स अनि क्रामाकपा आफैले पनि देशका विभिन्न सङ्गठनहरूसित मिलेर जीटीए गोर्खाहरूको समस्याको समाधान होइन अनि छुट्टै राज्य नै गोर्खाहरूको समस्याको समाधान रहेको बताउने कार्य भइरहेको छ। यसैको निम्ति गोर्खाल्याण्ड टास्क फोर्सले उत्तरपूर्वि क्षेत्रमा छुट्टै राज्यको औचित्य बुझाउने कार्यक्रम गरिरहेको अनि अर्कोतिर छुट्टैराज्य पक्षधर कम्युनिष्ट सङ्गठनहरूसित मिलेर क्रामाकपाले पनि विभिन्न कार्यक्रम गरिरहेको राईले बताएका छन्‌। तिनले भने, जीटीए छुट्टै राज्यको मुद्दाको मार्गमा बाधक बनेको छ। मोर्चाले गरेको भूललाई सच्याउने कार्य भइरहेको छ।

छुट्टै राज्यको मुद्दा जिउँदै रहेको छ भन्ने कुरा प्रमाणित गर्ने कार्य जारी छ। अहिले मोर्चाले जीटीएको प्रस्ताव खारेज गरेर छुट्टै राज्यको निम्ति आन्दोलन गर्छ भने यस्तो पहललाई स्वागत जनाउनुपर्छ। तिनी अनुसार यतिबेला छुट्टै राज्यको निम्ति एकता देखाउने परिस्थिति छ। एउटै मञ्चमा आउन नसके पनि विभिन्न सङ्गठनबाट नै होस्‌ तर केवल एउटा मुद्दा छुट्टैराज्यको निम्ति मात्र आन्दोलित भएमा केन्द्रले मुद्दाप्रतिको एकता देखिहाल्ने छन्‌। यही एकता देखाएर नै सबैले आफ्नो आफ्नो पक्षबाट चाप दिन सके मुद्दाको निम्ति धेरै फाइदाजनक कदम हुने छ।

अर्कोतिर जीएलओ नेता छत्र सुब्बाले गर्ने भनिरहेको आन्दोलनलाई पनि क्रामाकपाले स्वागत जनाएको छ। तिनले भने, छत्र सुब्बा गोर्खाल्याण्डको कट्टर आन्दोलनकारी थिए। तिनको मुक्तिको निम्ति क्रामाकपाले जति पनि आन्दोलन गर्‍यो,त्यसमा कुनै स्वार्थ थिएन। तिनलाई मुक्त गरेर क्रामाकपामा ल्याउने सोंच थिएन, तर आन्दोलनकारी बिनाकारण सरकारी षढयन्त्रमा परेर जेलमा सडाउनु क्रामाकपालाई उचित लागेन। तिनको मुक्तिको निम्तिनै क्रामाकपाले आन्दोलन गरेको थियो। अहिले तिनले पनि छुट्टै राज्यको आन्दोलन गर्छ भने क्रामाकपाले यसलाई सकरात्मक लिन्छ। किन भने जसले पनि आन्दोलन गर्छ उसित एउटै मुद्दा छुट्टै राज्यको हुनु अनिवार्य छ। पछिबाट सरकारी चलखेलमा अरु पार्टी र नेताहरू झैं सुब्बा पनि शिकार नहुन्‌।

क्रामाकपाले भने अनुसार मोर्चाले जीटीए थन्काएर छुट्टै राज्यको आन्दोलन गरेमा अनि जम्मै दलहरूले पनि केवल छुट्टै राज्यको आन्दोलन गरेमा मुद्दामा सबै दलको एकता देखिने छ। अहिलेको परिस्थितिमा चाहिएको यही कुरा हो। यता दोस्रो एसआरसीको गठनको कुरा चलिरहेकोले पनि यस्तो खाले कदमले मुद्दालाई सहयोग पुग्ने क्रामाकपाको सोंच रहेको पनि राईको टिप्पणीबाट बुझिएको छ।

0 comments: on "जीटीए खारेज गर्ने मोर्चाको निर्णयलाई स्वागत"