मुख्य समाचार :


को हुन्‌ त छत्र सुब्बा?

  • अनिल तेलैजा
 सन्‌ 1999 को एक विहान पानी थाप्न जोरधारा हिड़ेका  मेरा सहपाठीहरू आधा दिन बित्दा मात्रै रित्तो भा़डा बोकेर फर्किए।

कुरा बुझ्दा जोरधाराको खोल्सामा निस्किएको एउटा जंगली कुखुरालाई  खेद्दै उनीहरू रौसे बजार पुगेछन्‌। रौसे बजारस्थित आफ्नो घरको आँगनमा पत्रिका पढ़ेर बसिरहेका छत्र सुब्बाकै कुर्सीको मुनि त्यो जंगली कुखुरा लुक्न पुगेछ। अब पर्‍यो फसाद। पत्रिका एकपट्टि थन्काएर मेरा चार जना सहपाठीहरूलाई सुब्बाले घण्टौंसम्म मानव र पशु प्राणीको सम्बन्धमा लामो व्याख्यान नै सुनाएछन्‌। भारतको राजस्थानमा कसरी मान्छे र जंगली पशुहरू एकै स्थानमा आनन्दले बस्ने गर्छन्‌ भन्ने कुरा गरेर छोड़िदिएछन्‌।



उक्त घटना भएको करिब 1 बर्षपछि 11 नोभेम्बर 2000 मा तीनकटरे घटनामा सुब्बाको नाम मुछिएपछि उनी पुनः चर्चामा आए। 28 नम्बर समष्टिको कुमाई चियाबारी अनि रोंगो कुलैनबारीबीचमा अवस्थित तीनकटरेमा जलढका थानाका पुलिस एवं अज्ञात हतियारधारीहरूबीच दोहोरो भीड़न्त भएको थियो। जसमा एकजना होमगार्ड र एकजना जंगीको मृत्यु भएको थियो।

 मणिपुरका जंगीहरू ल्याएर सुब्बाले स्थानीय युवाहरूलाई सशस्त्र प्रशिक्षण दिएको भनिए पनि यसको ठोस प्रमाण अझसम्म  अघि आएको छैन। उक्त घटनापछि भूमिगत रूपमा नै सुब्बाले दागोपापका पार्षद एवं अध्यक्ष सुवास घिसिङलाई राजीनामा दिएर गोर्खाल्याण्ड  आन्दोलनमा सामेल हुने चेताउनीसम्म दिएका थिए।

 तीनकटरे  गोलीकाण्डको तीन महीना नबित्दै 10 जनवरी 2001 मा खरसाङको सात घुम्ती चिलाउने धुरामा सुवास घिसिङमाथि प्राणघातक  हमला भयो। यसमा पनि छत्र सुब्बाकै नाम अघि आयो। सुवास घिसिङका पाइलट अफिसर भीम लामाले खरसाङ थानामा दर्ता गरेको  प्राथमिकीमा पनि  सुब्बाको नाम प्रमुख रूपमा उल्लेख गरिएको छ। तर घटनास्थलमा उनको उपस्थिति भने कतै प्रमाण भएको छैन। घिसिङ आक्रमणको  14  दिनपछि मिरिक थाना अन्तर्गतको भारत नेपाल सिमानाबाट नाटकीय ढंगमा छत्र सुब्बाको पक्राउ गरियो।

 त्यसपछि केवल शंकाकै आधारमा 1 दशक बन्दी जीवन बिताएपछि उनी मुक्त भए। फेल्टर टोपी र यसमा लगाइएको बञ्चरोको प्रतिक, ठाड़ो जुँगा अनि आक्रमक व्यक्तित्व भएको छत्र सुब्बा 86 को आन्दोलनको समय सुवास घिसिङपछि दोस्रो चर्चित व्यक्तित्व हुन्‌।

कालेबुङको जोरधारस्थित रौसे बजारमा जुलाई 1945 मा जन्मिएका छत्र बहादुर सुब्बा कालेबुङको एसयूएमआइमा  कक्षा आठसम्म पढ़ेका हुन्‌।
तीन जना दिदी बहिनी र चार जना दाजु भाइबीचमा उनी जेठा हुन्‌। ठूलो मान्छे हुन्छु, गाड़ी किन्छु र आमा बाबालाई तीर्थमा लैजान्छु भन्ने बालक  छत्रले यही सपना साकार गर्न सेनामासम्म भर्ना भए। 1985 मा सेनाबाट अवकाश लिएपछि 1986 मा घिसिङ नेतृत्वको गोर्खाल्याण्ड आन्दोलनमा सामेल भइ  गोर्खा भोलेन्टियर सेल (जीभीसी) खोलेर युवाहरूलाई जंगी प्रशिक्षणसम्म दिएका थिए। तर 1988 मा दागोपापमा  त्रिपक्षीय सम्झौता भइ आन्दोलनले बीट मारेपछि यसको भर्त्सना गर्दै छत्रले गोर्खा लिबरेशन अर्गनाइजेशन (जीएलओ) नामको संगठन गठन गरे। यसै संगठनबाट उनले चुनाउसम्म लड़ेका थिए। जीवनको थुप्रै उतार चड़ाउ भोगिसकेका सुब्बा 10 बर्षे बन्दी जीवन विताएर वर्तमानमा आफ्नै घर रौसेमा बसिरहेका छन्‌। मुक्तिपछि आङ्गूले पानी बेचेको,दूध बेचेको तर  माटो र मुद्दा नबेचेको वयान दिँदै पुनः चर्चामा आएका छन्‌। पुनःएकपल्ट पहाड़को राजनीति छत्र केन्द्रित बन्दै गइरहेको छ। प्रत्येक दिन नै छत्रको नाममा कुनै न कुनै समाचार अघि आइरहेको छ। यस्तो परिस्थितिमा छत्र सुब्बाले अलग राज्यको आन्दोलन पुनः शुरू गर्ने घोषणा गरेपछि उनीसितै बन्दी जीवन विताएर आएका उनका सहयात्रीहरूले  उनको विषयमा कस्ता विचार राखेका छन्‌? यसलाई पनि एकपल्ट बुझ्न आवश्यक देखिन्छ।

 बिजय  छेत्री अनुसार छत्र सुब्बा एकल निर्णय गर्ने व्यक्ति हुन्‌। अनुशासित र धार्मिक प्रवृतिका सुब्बामा आक्रमकता धेर रहेको उनी बताउँछन्‌। एकतन्त्रात्मकतालाई विशेष प्रमुखता दिने सुब्बाले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा निक्कै चासो राख्ने गरेको पनि छेत्रीले बताए।  मुक्त भएपछि  पनि  आन्दोलन शुरू गर्ने जस्ता राजनीतिक विषयहरूमा चर्चा नभएको र यद्धपि अचानक उनको आन्दोलन पुनः शुरू गर्ने निर्णयले आफूहरू चकित भएको पनि उनले बताए। उनका अर्का सहयात्री कुमार छेत्री अनुसार उनको स्वभाव निक्कै आक्रमक , आफूमात्र निर्णय लिने बताउँछन्‌। बन्दी अवस्थामा सुब्बालाई अलग कोठामा राखेकाले 10 बर्षको समयभित्र यस्तो धेरै सम्पर्क  हुन नसकेको पनि उनको भनाइ छ।

छत्र सुब्बासंगै बन्दी जीवन बिताएका शरण देवानले सुब्बालाई अनुशासित,धार्मिक व्यक्तिसंगै मानवीय दृष्टिकोणमा राम्रो मान्छे बताउँछन्‌। यद्धपि अरूको विचारमा चॉंड़ै प्रभावित हुने र केही आक्रमक स्वभाव  रहेको पनि बताउँछन्‌। छत्रको रिहाइमा उनको मुद्दा लड़ने वकील  अखिल विश्वास पनि छत्र सुब्बालाई उद्देश्यप्रति प्रतिबद्ध, अनुशासित,धार्मिक प्रवृतिका व्यक्ति ठान्छन्‌।

0 comments: on "को हुन्‌ त छत्र सुब्बा?"