मुख्य समाचार :


डेटलाइन, आन्दोलन र परिणति

गोर्खाल्याण्डको कुरा गर्दा मोर्चा गोटाफोसित किन रिसाएको हो बुझिएको छैन-क्रामाकपा
कालेबुङ, 13 फरवरी।
जीटीए दिएन भने छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गर्छौं- मोर्चाको अहिलेको अडान यो हो।
10 मार्च 2010 को दिन सम्झाना गराउने फोटो

यसको अर्को अर्थ हो - जीटीए दियो भने छुट्टै राज्यको आन्दोलन हुँदैन। परिस्थिति भने मोर्चाले छुट्टै राज्यको आन्दोलन नै गर्नुपर्ने भइरहेको छ। ममता व्यानर्जीले जीटीए ढिलो हुनुमा केन्द्रको दोष देखाएका छन्‌। यसैले कि त अब 27 अप्रेलको घोषणा फिर्ता गर्नु पर्‍यो कि त आन्दोलन नै गर्नुपर्‍यो। डेटलाइनको आन्दोलन मोर्चालाई फापेको छैन। 10 मार्च 2010 को डेटलाइन पछि 27 अप्रेल मोर्चाको बलियो डेटलाइन हो। बङ्गालकी मुख्यमन्त्री ममता व्यानर्जीले भनिन्‌, बङ्गाल विभक्त हुँदैन। पहाडमा विकास हुनेछ। पहाड, तराई र डुवर्स मिलेर बस्नुपर्छ।

तिनले यो वयान केहिल्यै फेरेनन्‌। जीटीएको सम्झौता अघिदेखि सम्झौतासम्म अनि अहिले पुरस्कार दिँदासम्म नै यही वयान दिइरहेकी छन्‌। बारम्बार तिनले बङ्गभङ्ग होबेना भनेर स्पष्ट पारिसकेकी छन्‌ कि जीटीएको सम्झौतामा गोर्खाल्याण्डको मुद्दा ‘ड्रप’गर्नु र नगर्नुको कुनै अर्थ छैन। हिजो कालेबुङमा भएको युवा-नारी मोर्चाको पथसभमामा प्रतिनिधिहरूले आफ्नो सम्बोधनमा मोर्चाले मुद्दा ड्रप नगरेको कुरा बुझाए।

 उनीहरू अनुसार ड्रप नगरेकोले मोर्चाले जनतालाई धोका दिएको छैन। ड्रप नै नगरे पनि मुख्यमन्त्री ममता व्यानर्जीको साम्राज्यकाल भरि नै छुट्टै राज्यको मुद्दा उठाइन नसकिने स्पष्ट छ। किन भने ममता व्यानर्जीले भनेकी छन्‌, जसले पनि बङ्गभङ्गको मुद्दा अघि लाएर पहाडको शान्ति श्रृङ्‌खला भङ्ग गर्छ उसलाई राज्य सरकारले सहन गर्ने छैन। राज्य कदापी विभाजन हुँदैन। पहाडको समस्याको समाधान विकासले गरिनेछ।

यता गोर्खाल्याण्ड टास्क फोर्स अनि क्रामाकपाले जीटीए छुट्टै राज्यको मार्गमा बाधा रहेको स्पष्ट गरिरहेको छ। जीटीए थापेर पहाडमा शान्ति स्थापित गर्न नै जीटीएको सम्झौता भएको ममता व्यानर्जीको वयानले स्पष्ट पार्छ अनि ममता व्यानर्जीले नै मोर्चाका केन्द्रिय नेताहरू अघि बङ्गभङ्ग हुँदैन, यस्तो कोशिष गर्नेलाई सहने छैन भनेर बारम्बार नै खबरदार गरिरहेकोले पनि स्पष्ट हुन्छ कि जीटीएपछि पनि छुट्टै राज्यको आन्दोलन हुँदैन। क्रामाकपा महासचिव तारामणि राईले यसै सन्दर्भमा भने, गोटाफोले छुट्टै राज्यको कुरा गर्दा किन मोर्चा रिसाएको हो हामीलाई थाहा छैन। मुद्दा ड्रप गरेको छैन भन्नेले अरुले मुद्दाको उठान गर्दा आक्रोसित हुन पर्ने कारण देखिँदैन। ममता व्यानर्जीले बारम्बार बङ्गभङ्ग हुँदैन भनिसकेपछि छुट्टै राज्यको सन्दर्भमा राज्य सरकारको कुरा स्पष्ट भएको छ। एकजना मुख्यमन्त्रीले गोर्खाल्याण्ड हुँदैन भन्दा नहुने होइन। छुट्टै राज्यको निम्ति त्यसैकारण गोटाफो र क्रामाकपाले राष्ट्रियस्तरमा काम गरिरहेको हो। यता जीएलओ नेता छत्र सुब्बाले पनि भने, जसरी दागोपाप धोका हो उसरी नै जीटीए पनि धोका हो। जनताको आकांक्षा होइन जीटीए। जीटीए मोर्चाको आकांक्षा हो। यसमा सम्झौता गर्नेले छुट्टै राज्यको आन्दोलन गर्न सक्दैन। यसैकारण नै छुट्टै राज्यको आन्दोलन हुनुपर्छ भन्ने अडान मेरो हो। म आन्दोलन गर्छु नै।


 गोर्खालिग प्रताप खातीले भने, मोर्चा र विमल गुरूङलाई काउन्टर पार्टी र नेताकोरुपमा स्थापित गरिएको हुँनाले मोर्चाले जनताको होइन सरकारको कुरा मानेको हो। सरकारले छुट्टै राज्य हुँदैन भनेको कुरालाई मोर्चाले मानेको छ। नत्र ममता व्यानर्जीले बङ्गभङ्ग हुँदैन भन्दा त्यहीँ विरोध गर्नुपर्ने हो। किन विरोध भएन? जनताले बुझ्नुपर्छ। जीटीएको नाममा छुट्टै राज्यको आन्दोलनको धम्की सरकारलाई दिइरहेकोछ। हेरौं 27 अप्रेलको डेटलाइनपछि मोर्चाको आन्दोलन कस्तो हुन्छ। यो डेटलाइन पनि पुरा नभएमा जनताले विमलको साथ छोडेर गोटाफोलाई समर्थन गर्नुपर्छ।
 मोर्चाले दिएको डेटलाइन अब निक्कै महत्वपूर्ण बनेको छ। सबैले नै यो डेटलाइन छुट्टै राज्यको निम्ति होइन जीटीएको निम्ति दिइएको बुझिरहेको समयमा अब 27 पछिको राजनैतिक परिणति कस्तो हुने हो निक्कै गम्भीर विषय बनेको छ। मोर्चा र राज्य सरकारबाट छुट्टै राज्य नहुने कुरा स्पष्ट भएकोले यता गोटाफोलाई क्षेत्रीय अनि राष्ट्रियरुपमा कार्य गर्न सजिलो भएको गोटाफोले बताएको छ।

0 comments: on "डेटलाइन, आन्दोलन र परिणति"