मुख्य समाचार :


छुट्टै राज्य हुँदैन भनेर सम्पूर्ण गोर्खाहरूलाई गरेको अपमानको साटो

म भए बङ्गभूषण फिर्ता गर्नेथिएँ-खाती
कालेबुङ, 13 फरवरी।
बङ्गालको मुख्यमन्त्री ममता व्यानर्जीले दार्जीलिङका साहित्यिक महारथी इन्द्रबहादुर राईलाई आफ्नै बाहुलीबाट बङ्गभूषण पुरस्कार प्रदान गरिन्‌ तर तर यसै अवसरमा ममता व्यानर्जीले बङ्गाल विभाजन हुँदैन भनेर पनि स्पष्ट पारिन्‌।
तिनले पहाडमा भइरहेको छुट्टै राज्यको आन्दोलनलाई इङ्गित गर्दै गोर्खाल्याण्ड राज्य हुँदैन बरु विकासले नै पहाडको विकास हुने कुरा गरेकी थिइन्‌। पहाडमा अहिलेसम्म पनि अस्तित्वमा रहेको सबैभन्दा पुरानो राजनैतिक दल गोर्खालिगले यसलाई सानो सम्मान दिएर ठूलो अपमान गरेको बुझेको गोर्खालिग महासचिव प्रताप खातीले बताएका छन्‌। तिनले भने, इन्द्रबहादुर राई भारतीय नेपाली साहित्य जगतका शीर हुन्‌।

गोर्खा जातिको गरिमा हुन्‌। भारतीय गोर्खाहरूको श्रीपेच हुन्‌। विश्वमा नै तिनलाई भारतीय नेपालीहरूको साहित्यको मूल नाइके मानिन्छ। नेपाली भाषालाई मान्यता नदिँदा तिनले साहित्य अकादमी पुरस्कार फिर्ता गरिदिने भनेका थिए तर मान्यता प्राप्त भयो। तिनी पद्मभूषण पाउने योग्यका साहित्यकार हुन्‌ तर मोर्चाले तिनलाई षडयन्त्रको शिकार बनायो। खातीले अझ भने, बङ्गभूषण त दियो तर तिनकै सामु गोर्खाल्याण्ड हुँदैन भनिदियो। बुढेसकालमा इन्द्रबहादुर राई जस्तो महारथीलाई मोर्चाको षडयन्त्रले बद्नाम गरिएको छ। खाती अनुसार इन्द्रबहादुर राई भाषा मान्यताको आन्दोलनका सॉंचा योद्धा हुन्‌। जातिमुक्तिको निम्ति तिनले राजनैतिक क्षेत्रमा पनि धेरै योगदान दिएका छन्‌।

तर तिनकै सामू सम्पूर्ण गोर्खाहरूको सयौंवर्षे आकांक्षालाई दबाउँदै मुख्यमन्त्री ममता व्यानर्जीले केवल गोर्खाल्याण्ड हुँदैन वा बङ्गभङ्ग हुदैन मात्र भनिनन्‌, जो पनि राज्य मागेर बङ्गाल विभाजनको कुरा गर्छन्‌ उसलाई ठीक नगर्ने धम्की पनि दिइन्‌। खातीले भने, एकजना वरिष्ट साहित्यकारलाई गोर्खा समुदायमा जति बद्नाम मोर्चाका नेताहरूले गरायो, त्यति नै गोर्खाल्याण्ड आन्दोलनलाई दबाउने एजेन्ट रहेको प्रमाणित गोर्खाल्याण्डको निम्ति जनताले बोल्न पठाएका विधायकहरूले पनि गरे। तिनले अझ भने, रोशन गिरी त छुट्टै राज्यको पक्षमा थिएनन्‌, तिनी सरकारको एजेन्ट हुन्‌ तर विधायकहरू जसलाई सम्पूर्ण गोर्खाहरूले बुद्धिजीवी र बौद्धिक साहित्यिकसम्म मान्छन्‌ तिनलेसम्म बङ्गाल विभाजन हुँदैन, गोर्खाल्याण्ड हुँदैन, माग्यौ भने ठीक गर्दिन भन्दा विरोध जनाएनन्‌। सॉंचो गोर्खा हुन्‌ र छुट्टै राज्य चहान्छन्‌ भने तिनले त्यसै क्षण विरोध गर्ने थिए। तर मोर्चाका नेताहरूले आफू बङ्गालको पैसामा बिक्रि भइसकेको प्रमाण वरिष्ट साहित्यकारलाई बद्नाम गराउँदै दिए। यो भन्दा ठूलो विडम्बना पहाडको राजनीतिमा अर्को हुने छैन।

इन्द्रबहादुर राई पाका भइसकेको बताउँदै खातीले भने, तिनलाई लिएर मोर्चाले गरेको षडयन्त्र पनि तिनले बुझेन होलान्‌। तिनलाई सानो सम्मान त दिइयो तर सम्पूर्ण गोर्खाहरूलाई अपमान गरियो। जो छुट्टै राज्यको निम्ति लड्‌ने एक व्यक्ति थिए, प्रान्त परिषद्का संस्थापक थिए, तिनकै सामू छुट्टै राज्य गोर्खाल्याण्ड हुँदैन भन्दा थप्पडी मारेर स्वागत गराउने रोशन गिरी र डा. हर्कबहादुर छेत्री थिए। खाती अनुसार कोही साहित्यकार यस्ता छैनन्‌, जो गोर्खाल्याण्ड चहान्नन्‌। ती नै साहित्यकारहरू पनि छुट्टै राज्यको निम्ति सडक उत्रिएका हुन्‌।

उत्रिरहेका छन्‌। आफ्नो साहित्यबाट नै उनीहरूले छुट्टै राज्य हुनुपर्ने माग गरिरहेका छन्‌। उनीहरूको पुर्खा र हरेक पुस्ताले नै छुट्टै राज्यको निम्ति लडिरहेका छन्‌। तिनै साहित्यकारहरूको श्रीपेच इन्द्रबहादुर राईलाई बङ्गभूषण दिएर तमाम साहित्यकार, साहित्यकारहरूका पुस्ता, पुर्खाको सपनामा लात मार्दै छुट्टै राज्य हुँदैन भन्नु जस्तो अपमान अर्को के हुन सक्छ? खातीले भने, इन्द्रबहादुर राईको त अपमान भयो भयो, तिनका सन्तानको पनि अपमान भयो। यो अपमान तृणमूल र मोर्चाको सॉंठगाठमा भएको छ। यो अपमानको गोर्खालिगको घोर विरोध छ। यता ममता व्यानर्जीले गोर्खाल्याण्ड हुँदैन भन्दामा नै नहुने कुरा होइन भन्दै तिनले भने, गोर्खाहरूले संवैधानिकरुपले छुट्टै राज्यको दाबी गरेका हुन्‌। मुख्यमन्त्रीको गोजीको कुरा मागेका होइनन्‌।

सम्पूर्ण गोर्खाहरूले छुट्टै राज्य हुनसक्छ भनेर गरिरहेको आन्दोलनलाई कुनै ठोस कारण विना नै हुँदैन भनेर आन्दोलनलाई विथोल्नु मात्र होइन, आन्दोलनकारीहरूलाई दबाएर अशान्ति स्थापना गर्ने घोषणा मुख्यमन्त्री ममता व्यानर्जीले गरिरहेकी छन्‌। छुट्टै राज्यको आन्दोलनलाई सहन गरिने छैन भनेर तिनले छुट्टै राज्यपन्थीलाई दबाएर अशान्ति सिर्जना गर्ने घोषणा गरेकी हुन्‌‌‌। गोर्खालिगले यसको घोर विरोध गर्छ। छुट्टै राज्य अवश्य नै हुनेछ। गोजमुमोले गोर्खाल्याणडको विकल्प जीटीएलाई बनाएको छ।

माओवादीको कुरामा माफ माग्नुपर्छ
गोर्खालिग महासचिव प्रताप खातीले बताए अनुसार गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले कालेबुङमा माओवादी पसेको घोषणा गरेर कालेबुङवासीलाई बद्नाम गरेका छन्‌। तिनको यो घोषणा गैरजिम्मेवारी हो। खातीले भने, विमल गुरूङले जताभावी बोलेर हुँदैन। तिनी नेता हुन्‌ र बोल्छन्‌ भने कालेबुङमा माओवादी पसेको कुरा प्रमाणित गर्नुपर्छ। पुलिस अधिक्षकसम्मलाई कुनै जानकारी नभएको, कुनै खुफिया विभागलाई थाहा नभएको कुरा एउटा पार्टीका चिफलाई कसरी थाहा भयो? तिनले भने अनुसार माओवादी नै पसेको भए इन्टिलिजेन्स विभागले खबरदारी गर्छ। विमल गुरूङले नै माओवादी पसेको छ भनेर घोषणा गर्दा तिनकै सॉंठगॉंठमा पसेको स्पष्ट हुन्छ।


तिनले कालेबुङ जस्तो भाइचारा, मित्रता र बौद्धिक राजनैतिज्ञहरू रहेको ठाउँमा, सचेत जनता बस्ने ठाउँमा यस्ता गैर जिम्मेवारी कुरा गरेर कालेबुङलाई बद्नाम गरेका छन्‌। तिनले कालेबुङलाई बद्नाम गरेकोमा कालेबुङवासीसित माफ माग्नुपर्छ। खातीले अझ भने, तिनले माफ नमागेमा तिनी विरुद्ध कालेबुङका शान्ति श्रृङ्‌खला भङ्ग गरेर आतङ्‌क मच्चाएको आरोपमा शीघ्र्र नै तिनलाई प्रशासनिक कार्वाही हुनुपर्छ।

0 comments: on "छुट्टै राज्य हुँदैन भनेर सम्पूर्ण गोर्खाहरूलाई गरेको अपमानको साटो"