मुख्य समाचार :


जीटीए भए पनि नभए पनि युवा मोर्चालाई फरक नपर्ने

कालेबुङ 11 फरवरी:
गोर्खाल्याणको आन्दोलन बुलुन्द गर्ने घोषणा गरेर पनि निष्कृय बनेको युवा मोर्चाले जुलस र पथसभाबाट आज गोर्खाल्याण्डको माग गरेको छ। कार्यक्रम स्थगित गरेर बसेको युवा मोर्चाले आफ्नो कार्यक्रमहरू गर्न शुरु गरेको छ। युवा मोर्चा अनि नारी मोर्चाले कालेबुङमा आज जुलूस निकाल्यो। यस अवसरमा युवा मोर्चा अनि नारी मोर्चा कार्यकर्ताहरुको ब्यापक उपस्थिति रहेको थियो। छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै मोर्चाको भातृ सङ्गठन युवा मोर्चा अनि नारी मोर्चा कार्यकर्ताहरुले यहॉंको डम्बर चौकबाट जुलूस निकालेका थिए। यस अवसरमा गोर्खाहरुलाई छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्नु पर्ने माग गर्दै शहरमा नाराबाजी गरिएको थियो।

डम्बर चौकबाट शुरु भएको जुलूसले यहॉंको दश माईल फाटक हुँदै शहर परिक्रमा गरे पछि पुन: डम्बर चौकमा आईपुगेर पथसभामा परिणत भएको थियो। यस अवसरमा पथ सभालाई सम्बोधन गर्दै युवा मोर्चा कालेबुङ महकुमा समितिका सहसचिव बारुद थापाले घरी घरी मोर्चालाई गोर्खाल्याण्डको आन्दोलन ड्रप गरेको बिपक्षी राजनैतिक दलहरुका नेताहरुले आरोप लगाउँने कार्य नगर्नु भन्ने सुझाव दिदै मोर्चाले कहिल्यै गोर्खाल्याण्डको मुद्दा ड्रप नगरेको दाबी गरे। सुवास घिसिङले चलाएको आन्दोलनमा जब दागोपापको सम्झौता भयो त्यस समय दागोपापको सम्झौता पत्रमा नै गोर्खाल्याण्डको आन्दोलन ड्रप गरेको लेखेको बताउँदै तर यता गोजमुमोले भने जीटीएमा सम्झौता गर्दा पनि गोर्खाल्याण्डको मुद्दालाई त्याग्ने कार्य नगरेको तिनले बताए। तिनले कुनै पनि राजनैतिक पार्टीहरुको नाम नलिईकन बिपक्षी दलहरुप्रति कटाक्ष गर्दै पहाडमा मोर्चाले गणतन्त्रको स्थापना गरेको दाबी गरे। तिनले भने, युवा मोर्चालाई जीटीए गठन हुँदा अथवा गठन नहुँदा कुनै फरक पर्दैन। युवा मोर्चा गोर्खाल्याण्ड नभएसम्म आन्दोलनमा लागि पर्नेछ।

तिनले झ भने, जबसम्म छुट्टै राज्य गठन हुँदैन तबसम्म युवा मोर्चाको आन्दोलन जारी रहने छ। तिनले बिगतका नेताहरुले जुन प्रकारका गल्तिहरु गरे त्यस्ता गल्तिहरु मोर्चाले कहिल्यै नदोहोर्‍याउने ठोकुवा पनि गरे। यसै सन्दर्भमा नारी,मोर्चा कालेबुङ महकुमा समितिका सचिव बन्दना योन्जनले पनि भनिन्‌, भारत स्वाधीन हुनलाई गान्धी मात्र लडेका थिएनन, सुवासचन्द्र बोस पनि लडेका थिए। यदि गोर्खाहरुलाई सरकारले छुट्टै राज्य गोर्खाल्याण्ड दिँदैन भने युवाहरु सुवासचन्द्र बोस जस्तो अनि नारीहरु झॉंसी की रानी र मिरा बाई बनेर आन्दोलनमा ओर्लिने छन्‌। समुएल गुरुङले पनि गोजमुमो गोर्खाल्याण्डको मागमा अडीग भएर बसेको दाबी गरे।

आन्दोलनकालमा मोर्चाले जनतालाई नढॉंटेको तर विपक्षले मोर्चाले जनतालाई ढॉंट्यो भन्ने आरोप लगाइरहेको बताए। तिनले भने, केन्द्र र राज्य सरकारले जीटीएको खेस्रामा मोर्चासित सम्झौता गरेको छ। तर सम्झौता भएर पनि जीटीए कार्यान्वयन नहुँदा सरकारप्रतिको विश्वास मोर्चाबाट हराउन थालेकोे छ। यदि सरकारले गोर्खाल्याण्ड गठनको निम्ति ढिलो पहल गर्दा पहाडको शान्ति प्रक्रिया भङ्ग भए त्यसको दायी सरकार हुनेछ।

0 comments: on "जीटीए भए पनि नभए पनि युवा मोर्चालाई फरक नपर्ने"