मुख्य समाचार :


मदन तामाङ हत्याकाण्ड-8 फरवरीभित्र डायरी (सीडी) पेश गर्ने निर्देश

भगौडे आरोपीहरूविरुद्ध भागेको मुद्दा पनि लाग्ने
दार्जीलिङ, 6 फरवरी।
कलकत्ता उच्च न्यायालयले सीबीआइलाई आगामी 8 फरवरीभित्र अखिल भारतीय गोर्खालीगका दिवङ्‌गत नेता मदन तामाङ हत्याकाण्डको केश डायरी (सीडी) पेश गर्ने निर्देश दिएको छ।
मदन तामाङ-फाइल फोटो

गत दिसम्बर महिनामा मदन तामाङका छोरा संयोग तामाङले आफ्ना पिताको हत्याबारे भइरहेको जॉंच कार्यको विकासबारे सीबीआइले उनको परिवारलाई कुनै जानकारी नदिएको विषयमाथिनै उच्च न्यायालयमा एक अपील गरेका थिए। यसपछि सीबीआइ सक्रिय बनेको छ भने संयोग तामाङको उक्त अपीलमाथि गत बुधबार प्रथम सुनवाई भएको थियो।

जसमा उच्च न्यायालयले सीबीआइलाई आगामी 8 फरवरीभित्र यस हत्याकाण्डको केश डायरी बुझाउने निर्देश दिएको छ। यसैबीच, सीबीआइले दार्जीलिङ अदालतमा भारतीय दण्ड संहिताको धारा 174 अन्तर्गत एक अपील दर्ता गरेको छ, जसअनुसार यस हत्याकाण्डको आरोपमा परी भागेका आरोपीहरूविरुद्ध जारी भएको वारण्टको उल्लङ्‌घन गरिएको विषयमा पनि मुद्दा चल्नसक्नेछ। भारतीय दण्ड संहिताको धारा 174 अन्तर्गत वारण्टको उल्लङ्‌घन गरिएको खण्डमा आरोपीविरुद्ध अलगै 3 वर्षको जेल सजाय हुनसक्ने प्रावधान छ। यदि उक्त आरोपी 3 पल्टसम्म पनि अदालतमा उपस्थित हुन असक्षम बने सम्बन्धित आरोपीविरुद्ध जरिमानासॅंगै 7 वर्षसम्मको जेल सजाय हुनसक्छ। भारतीय दण्ड संहिताको यस धाराअनुसार, भगौडे आरोपी हत्याकाण्डमा संलग्न नरहेको स्पष्ट हुने भए पनि वा उनी निर्दोष प्रमाणित हुने भए पनि उनीविरुद्ध भागेको आरोपमा मुद्दा चल्न सक्नेछ।

लगभग एक वर्षअघि सीबीआइको हातमा मदन तामाङ हत्याकाण्ड जॉंचको अभिभारा आएपछि प्रथमपल्ट सीबीआइले भगौडे आरोपीहरूविरुद्ध यसप्रकारको सजाय दिने पनि अदालतसमक्ष अपील गरेको छ। हाल मदन तामाङ हत्याकाण्डका मुख्य आरोपी निकल तामाङसितै मोठ 21 जना आरोपी बेपत्ता छन्‌ भने 22औं आरोपी दिलकुमार राईको गत दिसम्बर महिनामा मात्रै हत्या भइसकेको छ। सीआइडीले मदन तामाङ हत्याकाण्डको आरोपमा मोठ 30 जना आरोपीविरुद्ध चार्जशीट दर्ता गरेको थियो। स्मरण रहोस्‌, 21 मई 2010-को दिन गोर्खालीगका दिवङ्‌गत नेता मदन तामाङको मध्य दिनमानै हत्या भएपछि यसै हत्याकाण्डको आरोपमा गोजमुमोका एक शीर्ष नेताका रूपमा रहेका निकल तामाङलाई सीआइडी अनि पुलिसले एक संयुक्त अभियान चलाएर 16 अगस्त 2010-को बिहान पुलबजार थानाअन्तर्गत कैंजले बस्ती परिसरबाट पक्राउ गरेको थियो।

उनलाई 18 अगस्त 2010-को दिन दार्जीलिङको चीफ जुडिशियल म्याजिस्ट्रेट अदालतमा पेश गरेपछि सीआइडीले उनलाई आफ्नो हिरासतमा लिएको थियो। तर सीआइडीले आफ्नो हिरासतमा लिएको 4 दिनपछिनै यस हत्याकाण्डका प्रमुख आरोपी निकल तामाङ पिन्टेल भिलेजको सीआइडी हिरासतबाटै बेपत्ता बनेका थिए। यसपछि मदन तामाङ हत्याकाण्डसॅंगै निकल तामाङ बेपत्ता भएको घट्‌नाको जॉंच कार्य राज्यको उच्च न्यायालयले सीआइडीबाट सीबीआइलाई हस्तान्तरण गरेको थियो। सीआइडी अनि पुलिसले यस घट्‌नाको आरोपमा अघिबाटै 9 जनालाई पक्राउ गरिसकेको छ भने आरोपमा पक्रा परेका सुवास तामाङलाई कलकत्ता उच्च न्यायालयबाट सशर्त जमानत प्राप्त भइसकेको छ। राज्यको उच्च न्यायालयले यस हत्याकाण्डको जॉंच कार्यको अभिभारा 20 जनवरी 2011-को दिन सीबीआइलाई सुम्पेको थियो।

0 comments: on "मदन तामाङ हत्याकाण्ड-8 फरवरीभित्र डायरी (सीडी) पेश गर्ने निर्देश"