मुख्य समाचार :


‘गोर्खाहरूबीच फाटो ल्याउने मोर्चाको षडयन्त्र’

 उत्तम छेत्री दिल्ली
कालेबुङ,20 जनवरी।
देशका विभिन्न प्रान्तमा रहेका गोर्खाहरूसित सामाजिक कार्य गर्दै आइरहेका दिल्लीका उत्तम छेत्रीले गोर्खा जनमुक्ति मोर्चाले देहरादून विधानसभा चुनाउमा गरिरहेको राजनैतिक हस्तक्षेपको विरोध गरेका छन्‌। तिनले टेलिफोन गर्दै भने, जुन मोर्चाले मोर्चा गठन गरेको कारण छुट्टै राज्यको निम्ति होइन भनिसकेको छ। जुन मोर्चाले 11 पल्टको त्रिपक्षीय वार्तामा कहिल्यै गोर्खाल्याण्डको मुद्दा उठाएको छैन भनिसकेको छ, जुन मोर्चाले गोर्खाल्याण्ड राज्य गठन गर्नेप्रति दया जाग्छ भनिसकेको छ, त्यो मोर्चाले कुन अभिप्साको निम्ति देहरादूनमा राजनैतिक हस्तक्षेप गरिसकेको छ? यसकोे एउटै उद्देश्य हो, त्यहॉंका गोर्खाहरूबीच फाटो ल्याउनु। तिनले देहरादूनका गोर्खाहरूले आफ्नै प्रयासमा त्यहॉंको राज्य सरकारसित लडेर राज्यबाट गोर्खाहरूले 14 प्रतिशत आरक्षण प्राप्त गरिसकेको बताउँदै त्यहॉंको राज्यले गोर्खाहरूलाई ओबीसीको दर्जासमेत दिइसकेको पनि बताए। तिनले भने, त्यहॉं गोर्खाहरूको क्षेत्रीय राजनैतिक सङ्गठनहरू छन्‌। दार्जीलिङबाट गएको मोर्चाले त्यहॉंको राजनीतिमा हस्तक्षेप गर्नु ती क्षेत्रीय राजनैतिक दलहरूबीच वैमन्स्यता उत्पन्न गर्नु बाहेक केही होइन। जसरी डुवर्समा आदिवासी पनि गोर्खाबीच वैमन्स्यता उत्पन्न गरिसकेको छ, त्यसरी नै देहरादूनमा पनि गरिरहेको छ। तर  1 करोड 43 लाख गोर्खाहरूले मोर्चाको नाडी छामिसकेको छ। मोर्चालाई दार्जीलिङमा नै पत्याउँदैन, देशभरिका गोर्खाहरूले पत्याउने कुरा आएन। मोर्चाको उद्देश्य त्यहॉंका गोर्खाहरूको देहरादून सरकार, स्थानीय सम्प्रदाय अनि प्रशासनसित रहेको भाइचारा विथोल्नु मात्र हो। छेत्रीले बताए अनुसार देहरादूनमा दुइवटा बलियो गोर्खा राजनैतिक सङ्गठनहरू छन्‌। गोर्खा डेमोक्रेटिक फ्रण्ट अनि अखिल भारतीय गोर्खा कंग्रेस। यी दलहरूले स्थानीय गोर्खाहरूको हकहीतको निम्ति सरकारसित आवाज उठाउने, त्यहॉंको प्रशासनिक क्षेत्रमा गोर्खाहरूको सहभागिता गराउने कार्य गरिरहेको छ। तिनले दाबी गरे अनुसार देहरादूनमा अहिले मोर्चाको शाखा पनि विघटन गरिएको छ। देहरादून मोर्चा शाखाका सचिव रविविश्वास राईले डिसम्बरमा नै मोर्चा शाखालाई भङ्ग गरिसकेका छन्‌। त्यहॉं अहिले जो पनि मोर्चासित संलग्न कार्यकर्ता छन्‌, उनीहरू मोर्चाले पैसा दिएर पालेर राखेका कार्यकर्ताहरू हुन्‌। तिनले के पनि दाबी गरेका छन्‌ भने अहिले मोर्चाले देशभरिका गोर्खाहरूलाई दिएको धोकाको कारण दार्जीलिङप्रति कसैले विश्वास गर्न सकिरहेको छैन। जब कि छुट्टै राज्यको निर्माण दार्जीलिङ जिल्लामा नै गर्न उचित हुने भएकोले देशभरिका गोर्खाहरूले दार्जीलिङ कै नेतृत्वको भरोसालाग्दो पहलको अपेक्षा गरिएको छ। छुट्टै राज्यको निम्ति गोर्खा सङ्घ संस्थाहरूलाई एकिकृत गर्नको साटो यसरी फाटो ल्याउने राजनीति गर्नु जति वैमानी कार्य अरु केही नहुने पनि तिनले बताएका छन्‌। तिनी अनुसार देशका कुनै पनि राज्यका गोर्खाहरूले त्यहॉंको परिस्थिति अनुसार राजनीति गर्ने गर्छन्‌। स्थानीय गोर्खाहरू मात्र होइन अन्य सम्प्रदायको हक र हीत हुने मुद्दामा उनीहरूले बोल्ने गरेका छन्‌। यसै कारण छुट्टै राज्यको सवाल उठ्‌दा उनीहरूले झट्ट समर्थन गरिहाल्न सक्दैनन्‌। कुनै पनि अर्को राज्यको राजनैतिक सङ्गठनले त्यहॉं हस्तक्षेप गर्नु रैथाने समग्र गोर्खाहरूको सुरक्षाको सवालमा उचित हुनेछैन। केही व्यक्तिलाई लाभ पुर्‍याउने भए पनि व्यक्तिको लाभको निम्ति होइन समग्र जनताको लाभको कार्य गरिनुपर्छ। मोर्चाले केवल दार्जीलिङको विकासको निम्ति देशभरिका गोर्खाहरूको आस्था रहेको छुट्टै राज्यको आन्दोलनलाई विराम लगाउनु हानिकारक राजनीति बनेको छ। मोर्चाको कारणले सबैतिर परिस्थिति बिग्रने कार्य भइरहेको छ। दार्जीलिङका जनता डरको कारण अहिले नै बोल्न नसकेपनि समय आएपछि बोल्नेछन्‌। मोर्चाको हरेक कुटनीतिको विरुद्धमा अहिले देशभरिका गोर्खाहरू एकमतमा रहेका छन्‌- तिनले बताएका छन्‌।

0 comments: on "‘गोर्खाहरूबीच फाटो ल्याउने मोर्चाको षडयन्त्र’"