मुख्य समाचार :


देहरादून मसुरी विधानसभा चुनाउमा मोर्चा प्रचार गर्ने पिपल्स फोरमले विरोध

प्रवीण गुरूङ

कालेबुङ,20 जनवरी।
गोर्खा जनमुक्ति मोर्चाले देहरादूनको मसुरी विधानसभामा जगदीस चौहानलाई उम्मेद्वार बनाएको छ, जसको प्रचारमा मोर्चा अध्यक्ष विमल गुरूङ लगायत शीर्ष नेताहरू प्रचारमा जाने भएका छन्‌। मोर्चा पक्षबाट पाइएको जानकारी अनुसार मोर्चालाई राष्ट्रियस्तरमा विस्तार गर्न अनि राष्ट्रभरिका गोर्खाहरूको मूल राजनैतिक दलकोरुपमा मोर्चालाई स्थापित गर्ने कार्य चलिरहेको थियो। यसै कारण नै देहरादून विधानसभा चुनाउमा मोर्चाले आफ्नो उम्मद्वार खडा गरेको हो। यस चुनाउमा मोर्चाको उम्मेद्वारको जित भएमा देहरादूनमा मोर्चाले राजनैतिक किल्ला गाड्‌ने छ। तर मोर्चाको यसप्रकारको राजनीतिलाई पिपल्स फोरमले देशभरिका गोर्खाहरूलाई असुरक्षित गर्ने पहलकोरुपमा लिएको छ। पिपल्स फोरमका महासचिव प्रवीण गुरूङले भने, देहरादूनका गोर्खाहरूले रैथाने राजनैतिक परिस्थिति अनुसार नै राजनीति गर्छन्‌। त्यहॉं बाहिरका दलले हस्तक्षेप गर्नु, त्यहॉंको सरकार र अन्य सम्प्रदायसित दुश्मनी लिनु हुन्छ। त्यहॉं बाहिरका पार्टीले हस्तक्षेप गरे त्यहॉंका गोर्खाहरू असुरक्षित हुन्छन्‌। यसैकारण मोर्चाको यस्तोखाले साम्प्रादियक पहलको तीब्र विरोध पिपल्स फोरमले गर्ने छ। यता गोर्खा जनमुक्ति मोर्चाले  देहरादूनमा आफ्नो उम्मेद्वारको निम्ति प्रचार गर्ने भएको छ भने त्यो प्रचारको विरोधमा पिपल्स फोरमले पनि प्रचार गर्ने फोरमका महासचिव प्रवीण गुरूङले बताएका छन्‌। तिनले भने, विमल गुरूङहरूले देशभरिका गोर्खाहरूलाई धोका दिँदै आफ्नो जिल्लाको तीनवटा महकुमाको विकासको निम्ति मुद्दा बेचिसकेका छन्‌। समस्त गोर्खाहरूको मुद्दा रहेको छुट्टै राज्यको मुद्दालाई दार्जीलिङ जिल्लामा पैसा, चौकी र हैकम स्थापित गर्न बङ्गालको विकास एजेन्सी ग्रहण गरिसकेको छ। मोर्चाको यसप्रकारको स्वार्थको कारण देशभरिका गोर्खाहरूले अहिले जीटीएको विरोध मात्र गरिरहेका छैनन्‌। दार्जीलिङका नेतृत्वहरूबाट देशभरिका गोर्खाहरूले मोर्चाको क्षेत्रीय स्वार्थको कारण विश्वास पनि गुमाइसकेका छन्‌। यस्तो अवस्थामा अर्को राज्यमा त्यहॉंको राजनैतिक परिस्थिति अनुसार राज्यका गोर्खाहरूको हक र हितको निम्ति लडिरहेको बेला मोर्चाको हस्तक्षेप हुनु सबैभन्दा गम्भीर भूल हुनेछ। मोर्चाको कारणले त्यहॉंका गोर्खाहरूमा वैमन्यस्यता उत्पन्न हुनेछ किन भने त्यहॉं गोर्खाहरूको रैथाने राजनैतिक दलहरू अघिबाट नै रहेका छन्‌। गुरूङले गोर्खा जनमुक्ति मोर्चाले पहाड र तराईका गोर्खाहरू अनि अन्य सम्प्रदायबीच जस्तो वैमन्यस्यता उत्पन्न गरिसकेको छ, त्यस्तै काम अन्य राज्यहरूमा पनि गर्नु दार्जीलिङका नेतृत्वहरूबाट पूर्णरुपले विस्वास गुमाउनु रहेको बताउँदै भने, देशभरिका गोर्खाहरूले दार्जीलिङको नेतृत्वबाट विश्वास गुमाए पछि मोर्चालाई क्षेत्रीय व्यवस्थाको निम्ति राजनीति गर्नु सहज हुनेछ। पिपल्स फोरमले अहिले आफ्नै कार्यस्वरुपलाई राष्ट्रिय मानकमा स्थापित गरिरहेको अनि देशभरिका गोर्खा सङ्घसंस्थाहरूसित सम्बन्ध स्थापित गर्दै छुट्टै राज्यसम्बन्धमा संयुक्त आवाज उठाउन पहल गरिरहेको बताउँदै भने, मोर्चाले देहरादूनमा जति नै प्रचार गरुन्‌, मोर्चाको स्वार्थ र भेद फोरमले खोल्दै जानेछ। मोर्चाले कसरी देशभरिका गोर्खाहरूलाई धोका दियो त्यसको पर्दाफास फोरमले गर्नेछ। मोर्चा जति नै हिँडोस्‌ पाइला मेट्‌ने काम गर्दै देशभरिका गोर्खाहरूलाई सचेत गराउने कार्य फोरमले गर्ने छ। यसैको निम्ति फोरमका बीस सदस्यीय टोलीको गठन भइसकेको छ। यो टोलीले मोर्चाको झुटको राजनीतिको प्रचार देहरादूनमा गर्ने छ। गुरूङ अनुसार मोर्चाले दाहरादूनका गोर्खाहरूबीच फाटो ल्याउने खेल गरिरहेको कारण छुट्टै राज्यको निम्ति आवाज शक्तिशाली बनाउन त्यो फाटो हुन नदिन फोरमको कर्तव्य रहेको जनाएका छन्‌। मोर्चाको विध्वंशकारी कुटनीतिको पर्दा उघार्ने कार्यको निम्ति फोरम टोली देहरादून प्रास्थान गर्नेछ- तिनले भने।

0 comments: on "देहरादून मसुरी विधानसभा चुनाउमा मोर्चा प्रचार गर्ने पिपल्स फोरमले विरोध"