मुख्य समाचार :


आह्वानको एकदिने नाट्य कार्यशाला सम्पन्न ‘अभिनय उसले राम्ररी गर्नसक्छ, जसले समाजलाई नजिकबाट हेर्छ’

कालेबुङ, 29 जनवरी:
‘अन्य ठाउँको तुलनामा दार्जीलिङ आज नाटकमा शून्यमा छ’- ’परालको आगो’ सिनेमाबाट भारत, नेपाल लगायत रुसमा समेत ख्याति कमाउने नाटक-सिने निर्देशक प्रताप सुब्बाले यसो भने। सिद्धान्त र पढ़ाइलेखाइमा उति विश्वास नराख्ने स्वघोषित व्यवहारवादी प्रताप सुब्बाले नाटकको साधना व्यावहारिक रूपले यसलाई लेखेर, मञ्चित गरेरै मात्रै गर्न सकिने इच्छाशक्तिको आवश्यकतामाथि जोड़ दिए। वर्तमान युवाहरूतिर आशाको दृष्टिले हेर्दै तिनले भने, अब दार्जीलिङे नाटकको भविष्य युवाहरूको हातमा छ। शनिवार बीबी गुरुङ स्मारक सुकना उच्च विद्यालयमा आह्वान-द्वारा आयोजित एकदिने नाट्य कार्यशालामा स्रोत व्यक्तिको रूपमा नाटकको व्यावहरिक सत्र सञ्चालन गर्दै तिनले यी कुरा भनेका हुन्‌।
‘हामीले सही ढङ्गमा नाटकको विकास गराउनु हो भने हामीले नाटक हेर्नु पनि पर्छ, नाटकबारे अध्ययन पनि गर्नु पर्छ’ नाटक र सिनेमा दुवै क्षेत्रमा सक्रिय अर्का स्रोत व्यक्ति मुक्ति उपाध्यायले कार्यशालामा भने। नाटक सम्बन्धी बढ़ीजस्ता परिभाषा समयसँगै फेरिसकेको एवं हामीमाझ नाटक लेख्ने, खेल्ने र हेर्ने दीर्घ परम्पराको अभाव भएकोले अचेल मानिसले नाटकै हेर्न छाड़िसकेको उल्लेख गर्दै तिनले सञ्चालन गरेको सैद्धान्तिक सत्रमा नेशनल स्कूल अफ ड्रामा (एनएसडी), नयॉं दिल्ली, कलकत्ता र असमतिरको नाट्य परम्परा, अपेरा, जात्रा आदि थिएटर नाट्यपरम्पराको सन्दर्भ पनि झिके। संवाद, दृश्य, ध्वनिको नाटकमा रहेको महत्त्वमाथि प्रकाश पार्दै तिनले मञ्चनका नयॉं तक्निकीमाथि पनि आफऱैहरूले सृजनात्मक ढङ्गमा सोच्नु र अनुशीलन गर्नुपर्ने मुक्ति उपाध्ययले आह्वान गरे। मञ्चको गतिशील र सम्भाव्य प्रयोगमाथि तिनले रोचक प्रस्तुति दिए।
सक्रिय कवि-समाचोलक टीका भाइले आतिथ्य सम्बोधनमा भने, अभिनय उसले राम्ररी गर्नसक्छ, जसले समाजलाई नजिकबाट हेर्छ। तिनले भारतीय नाटकमा भइरहेका विविध प्रयोगहरूको उल्लेख गर्दै नाटकको सम्भावनामाथि गहिरो मन्तव्यहरू राखे। नाटकले समाजको यथार्थलाई प्रभावी ढङ्गमा समाजका सबै तब्कालाई छुने गरी वहन गर्न सक्ने भएकोले नाटकलाई गम्भीर रूपमा लिनपर्ने सुझाउ राखे। वर्तमान अडियो-भिजुअलको प्राविधिक प्रभावले ओझेलमा परका नाटकहरूलाई फेरि जनतामाझ सफलतापूर्वक लानसकिने विश्वास दह्रो गरी राख्दै तिनले नाटकको गरिमालाई विभिन्न दृष्टिकोणमा स्थापित गरे।      
‘हामीले के गर्न खोजेका हौँ, त्यो लक्ष्य स्पष्ट भएदेखि स-साना अस्पष्टता स्वत हराएर जान्छन्‌’- कार्यशाला पर्यवेक्षकका रूपमा रहेका स्थापित कवि- साहित्य उपासक ज्ञानेन्द्र खतिवड़ाले आफ्नो पर्यवेक्षकीय टिप्पणीको अवधिमा भने। नाटकको रूप र प्रकारबारे उल्लेख गर्दै तिनले भीमनिधि तिवारीको ‘सॉंढ़े’ विश्व-नाटककै क्षेत्रमा एउटा बेजोड़ सटायरको कृति रहेको जानकारी दिए। युवाहरू यसरी सचेत भएर समाजलाई सचेत र शिक्षित गराउन निरन्तर लागिरहनुपर्ने सुझाउ तिनले राखे।
कार्यशालाको व्यावहारिक सत्रमा सिलगढ़ी र पार्श्ववर्ती इलाकाबाट उपस्थित नाट्यप्रेमी सहभागीहरूले दुइ टोलीमा विभाजित भई तत्काल लघु नाटकको सामुहिक रचना गरी तत्काल मञ्चन पनि गरे। स्रोत व्यक्तिद्वयले तत्काल मञ्चित लघु नाटकहरूको सकारात्मक तत्काल मूल्याङ्कन गर्दै सहभागीहरूको सुषुप्त प्रतिभाको समान भावले प्रशंसा गरे। आउँदो दिनमा नाटकमाथि यस्तै सक्रियता कायम राख्दै पूर्ण नाटकहरू मञ्चन गर्ने सल्लाह पनि स्रोत व्यक्तिहरूले दिए।
 

0 comments: on "आह्वानको एकदिने नाट्य कार्यशाला सम्पन्न ‘अभिनय उसले राम्ररी गर्नसक्छ, जसले समाजलाई नजिकबाट हेर्छ’"