मुख्य समाचार :


राजनैतिक अन्योलता र दिशाहिन जनता

नयॉं शक्तिले टिप्ने हुन्‌ त भाका?
कालेबुङ,29 जनवरी।
गोर्खा जनमुक्ति मोर्चाले राष्ट्रिय मुद्दा छोडेर क्षेत्रीय समाधानमा राजनैतिक  धार तिखारेपछि मोर्चाको आँतभाव सबैले छर्लङ्ग चालपाएका थिए। अहिले यता क्षेत्रीय मुद्दामा हस्ताक्षर गरिराखेर पार्टीलाई भने राष्ट्रियकरण गर्न खोजेको जस्तो मोर्चालाई देखिएको छ। वास्तविक मुद्दाको भने अत्तो पत्तो नरहेको अवस्थामा पहाडमा जुन राजनैतिक चर्तिकला देखिँदैछ, यसले दार्जीलिङको भविष्य त अन्धकारतिर नै धकेल्दैछ नै सम्पूर्ण गोर्खाहरूको मुद्दा पनि दिशाहीन भएको छ। एउटा, दुइटा काम गरेर धेरै समय चुपचाप बस्ने गोर्खाल्याण्ड टास्क फोर्स, केवल हल्ला मात्र गर्ने क्रामाकपा, गोर्खालिग अनि अर्को शक्तिको तयारीको भनक दिने छत्र सुब्बा र अजय दाहालहरूले अहिले जुन राजनैतिक सक्रियता देखाइरहेको छ, त्यसले फेरि अर्को गोरामुमो वा गोजमुमो अथवा अर्को सुवास घिसिङ अनि विमल गुरूङलाई नै स्थापना गर्ने अर्को संकेत दिइरहेकोले जनतामा भने राजनैतिक उल्लास देखापरेको छैन। जनताको मुद्दा भने छुट्टै राज्य तर राजनैतिक दलले भने हस्ताक्षर गरेको छ गोर्खाल्याण्ड टेरिटोरियल एड्‌मिनिष्ट्रेशनमा। छुट्टै राज्यको निम्ति भएको आन्दोलन थामियो जीटीएको निम्ति। तबदेखि नै अस्थिर रहेको दार्जीलिङको राजनीतिले अहिले विभिन्न रुप धारण गरिसकेको छ।
गोर्खा जनमुक्ति मोर्चाले अहिले नै छुट्टै राज्य नहुने ग्यारेण्टी दिइसकेको छ। जसले सोझै ठुट्टै राज्य ल्याउन सक्छु भन्छ उ महामूर्ख रहेको घोषणा पनि मोर्चाले नै गरिसकेको छ। यसैकारण खुड्‌किलो हुँदै जानुपर्ने राजनैतिक बाध्यता देखाइसकेको मोर्चाको विरुद्ध अहिले अर्को राजनैतिक शक्ति जन्मिने स्थितिमा छ। कृषि मेलामा छत्र सुब्बाले विमल गुरूङलाई भने, मलाई जनताले छुट्टै राज्यको आन्दोलन गर्ने आह्वान गरिरहेको छ, तपाईँले पनि सहयोग गर्नुपर्छ। यसको उत्तरमा विमल गुरूङले तिनलाई के भने यो कुरा भने तिनले बताएका छैनन्‌। तर केही दिनपछि विमल गुरूङले भने, मैले छुट्टै राज्यको मुद्दा छोडेको छैन, जनतालाई कसरी हुन्छ बुझाएर फेरि छुट्टै राज्यको आन्दोलन गर्नेछु। यता छत्र सुब्बाले क्षेत्र भ्रमण गर्ने क्रम तीब्र पारिसकेका छन्‌। तर छत्र सुब्बाले छुट्टैराज्यको आन्दोलन गर्न सक्ने हुन्‌ वा होइनन्‌ तिनको कार्यसूची र बौद्धिकतामा नै निर्भर रहनेछ। यता अजय दाहालले पनि अर्को राजनैतिक शक्ति स्थापित हुन सक्ने बताइसकेका छन्‌। गोरामुमो छैटौं अनुसूची बोकेर बसेको छ। गोटाफोले राष्ट्रियस्तरमा कार्यक्रम गर्ने बताइसकेको छ तर कसैले पनि छुट्टै राज्यको निम्ति जनताको बौद्धिकतालाई छुन सक्ने कुनै पनि कार्यक्रम भने गरिरहेको छैन। अहिलेको अवस्थामा जनतालाई जुन अन्योलतामा राखिएको छ, यसकोपछि कुनै ठूलै राजनैतिक चलखेल रहेको स्पष्ट छ। जबसम्म जनता मोर्चामाथि विश्वास गर्न बाध्य छन्‌ तबसम्म कुनै पनि शक्तिको कुनै दाल नगल्ने पनि स्पष्ट छ। डा. हर्कबहादुर छेत्रीले बारम्बार भन्ने गरेका छन्‌, कुनै पनि दलले छुट्टै राज्यको आन्दोलन गरोस्‌, गणतन्त्रमा एउटा गतिलो विपक्षको खॉंचो पर्छ तर कसैले आन्दोलन भने गर्दैन तर आलोचना भने गर्छ। यस्ता आलोचकहरूको कुनै काम राजनीतिमा छैन। अब भने विस्तारै नयॉंशक्ति स्थापनाको परिस्थिति बनिरहेको छ तर त्यो शक्ति कति भरोसा लाग्दो हुनेछ, त्यो भने स्पष्ट छैन। दिशाहिन राजनीतिमा अब जनताको दिशा कुन दलले आफूतिर तान्ने हो, भविष्यले बताउने देखिएको छ।

0 comments: on "राजनैतिक अन्योलता र दिशाहिन जनता"