मुख्य समाचार :


भारतीय गोर्खा राइफल्सका सैनिकहरु सम्मानित

नयाँदिल्ली, २६ जनवरी|

भारतीय सेनाको गोर्खा राइफल्सलाई बुधबार भारतमा विभिन्न सैनिक पदवीद्वारा सम्मान गरिएको छ। भारतको ६३ औं गणतन्त्र दिवसका अवसरमा गोर्खा राइफल्ससहित अन्य सैनिक गणका सदस्यहरूलाई उनीहरूको बहादुरीपूर्ण सेवाका लागि सम्मान गरिएको हो। भारतीय रक्षा मन्त्रालयका अनुसार, पहिलो गोर्खा राइफल्सका राइफलम्यान तेजबहादुर गुरुङलाई उच्च सैनिक सम्मानमध्येको एक सौर्य चक्र प्रदान गरिएको छ। पाँचौं गोर्खा राइफल्सका ब्रिगेडियर गोपाल गुरुङलाई सेना मेडल (डिभोसन टु ड्युटी), तथा आठौंका नायक विष्णुप्रसाद श्रेष्ठ र पहिलो गणका राइफलम्यान बुद्धिजंग गुरुङलाई सेना मेडल (ग्यालेन्टरी) प्रदान गरिएको उक्त मन्त्रालयले जनाएको छ।

सबैभन्दा उच्च भारतीय सम्मान (भारत रत्न) बाट खेलकुद क्षेत्रका विशिष्ट व्यक्तिहरू यसपटक सम्मानित हुने अपेक्षा गरिए पनि त्यसो हुन सकेन। सन् २००८ पछि यो सम्मान कसैलाई प्रदान गरिएको छैन। खासगरी कला, साहित्य र विज्ञान क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउनेलाई यो सम्मान दिने गरिए पनि पछिल्लोपटक खेलकुदका लागि पनि खुला गरिएको थियो ।

आरोही तेन्जिङ नोर्गे शेर्पासहित हक्कीका खेलाडी ध्यानचन्द र राइफल सुटिङमा ओलम्पिक स्वर्णपदकधारी अभिनव विन्द्राको नाम भारतीय खेलकुद मन्त्रालयले भारत रत्नका लागि सिफारिस गरेको थियो। नेपालमा जन्मिएका शेर्पाले एडमन्ड हिलारीसँगै विश्वको अग्लो शिखर सगरमाथा सबैभन्दा पहिला आरोहण गरेका थिए। यसअघि भारतीय क्रिकेटका हस्ती सचिन तेन्दुलकरको नाम पनि उक्त पुरस्कारका लागि सिफारिस गर्ने अनुमान गरिएको थियो।

0 comments: on "भारतीय गोर्खा राइफल्सका सैनिकहरु सम्मानित"