दार्जीलिङ जिल्लामा हत्याको घटना अब सामान्य हुन थालेको छ। दिनोदिन हत्याका घटनाहरूको वृद्धि हुनुमा को दोषी छन्? यसबारेमा न त कुनै राजनैतिक सङ्गठनले चिन्ता गरिरहेको छ न त सामाजिक संस्थाहरूले नै। कुनै पनि हत्या हुनसाथ केही दिन विरोध गर्ने झरी च्याउ झैं संस्थाहरूको देखाउने दॉंत जस्ता विरोध केही दिनमा नै सेलाउने घटना जस्तै हत्याको घटना आम भइरहेको छ। पेदोङमा घरदेखि केवल चालिस फीट परमात्र जीना प्रधानको हत्या भएको तीन महिना बित्न लागिसकेको छ तर हत्यारालाई अझ पुलिसले पक्राउ गर्न सकेको छैन।
![]() |
जीना प्रधान |
कालेबुङ पुलिसले महिनादिनमा नै हत्यारा आफ्नो पञ्जामा आउने घोषणा गरेको पनि महिना बित्यो तर अहिलेसम्म हत्याराको सुइँको छैन। कालेबुङका विधायकले हत्यारा पक्राउ गर्नुपर्छ भन्ने कुरामा बारम्बार दवाब दिइरहेका छन्। तिनले राज्यको गृह विभागसम्ममा जीना हत्याकाण्डको कुरा उठाएको पनि बताए।
पुलिसले काम नगरेमा मुख्यमन्त्रीसम्म पनि पुर्याउने हॉंक पनि तिनले दिए तरै पनि कालेबुङ पुलिस असाहय देखिएको छ। कालेबुङ पुलिसले पुलिसी जॉंच चलिरहेको बारम्बार बताइरहेको छ तर कसैलाई पक्राउ गर्न सकेको छैन।
जीनाको परिवारले पुलिसबाट विस्तारै विश्वास हराउँदै गइरहेको बताइरहेको छ। जीनाका हत्याराहरूलाई पक्राउ गर्नु पर्ने सम्बन्धमा नारी मोेर्चाले दवाब दिनुपर्छ भन्ने आह्वान जुल्बोले बारम्बार गरिरहेको छ तर अहिलेसम्मम नारी मोर्चा र पुरुष मोर्चा कसैले पनि चासो देखाइरहेको छैन।
केहीदिन कालेबुङ केही संस्थाहरूले पोष्टरिङ पनि गर्यो, जुलूस पनि निकाल्यो तर विस्तारै उनीहरूको विरोधको स्वर बिलाउँदै गइरहेको छ। आज कसैले पनि चासो नदेखाएपछि पेदोङको इण्द्रेनी संघ अनि परिवारपक्षले जुलूस निकालेको छ। जुलूसमा पुलिसको निष्ट्रियताप्रति विरोध जनाइएको थियो। संघ अनि परिवार पक्षले थानामा एउटा ज्ञापन पनि बुझाएको छ। ज्ञापनमा शीघ्र नै हत्यारालाई पक्राउ गरिनुपर्ने माग गरिएको छ। पुलिसलाई चेतावनी दिँदै जीनाका परिवार अनि तोपखानाका महिलाहरूले शीघ्र नै हत्यारा नपक्रिय सडकमा नै भोकहड्ताल गर्ने बताएका छन्। जीनाकी फूपु जसिन्ता प्रधानले हत्यारा पक्राउ गरे आफूहरू अनशनमा उत्रन बाध्य रहने बताएकी छन्। एकातिर पुलिसी प्रक्रिया निष्ट्रिय नै देखिएको छ भने अर्कोतिर जनतामा पुलिसप्रति रोष बढेर गइरहेको छ। स्मरणीय छ, केही दिन अघि पनि कालेबुङ दस माइलका ग्याछो भोटियाको निर्मम हत्या भयो।
शंकामा दुइजनालाई पक्राउ गरिएको छ तर वास्तविक हत्यारा को हुन् पत्तो पाइएको छैन। कालेबुङमा पनि यस्ता हत्याको घटना आम बनिरहेको छ। गोरामुमोका नेता टीकाराम छेत्रीको हत्या भएको धेरैवर्ष भयो तर तिनको हत्याराको अझसम्म पत्तो पाइएको छैन। आखिर यस्ता हत्याराहरूसम्म किन पुलिस पुग्न सक्दैनन्, निक्कै अचम्म लाग्दो घटना देखिएको छ। हत्याराहरूको पक्राउ गर्नु पर्ने सम्बन्धमा दवाब नै खुकूलो भएकोले नै पुलिसले हत्यारा पक्राउ गर्न नसकेको हो कि पुलिस प्रशासन कै लचिलोपन हो, केही बुझ्न सकिएको छैन।
0 comments: on "जीनाका हत्यारा पक्राउ नगरे भोकहडताल हुने"
Post a Comment