मुख्य समाचार :


सासंद र विधायकहरूले राजिनामा देओस्‌-गोटाफो

कालेबुङ,20 जनवरी।
दिल्लीमा छुट्टै राज्य गोर्खाल्याण्डको प्रचार अभियानको बेला गोर्खाल्याण्ड टास्क फोर्सले एउटा  सबैभन्दा गम्भीर परिस्थितिको सामना गर्नु पर्‍यो।
आर मोक्तान

जसलाई पनि भेट्‌ने कार्य भयो सबैले जीटीएलाई देखाएर गोर्खाहरूको समस्याको समाधान भइसकेको कुरा नै गोटाफोसित गर्‍यो। यसै दिल्ली प्रचार कार्यक्रमपछि गोटाफोले जीटीएलाई छुट्टै राज्यको मार्गमा ठूलो बाधाकोरुपमा प्रचार गरिरहेको छ। गोर्खा जनमुक्ति मोर्चाका भोट लड्‌ने नेताहरूले जनतासित जीटीएको निम्ति भनेर भोट मागेनन्‌, गोटाफोका राष्ट्रिय समन्वय संयोजक आर मोक्तानले भने, उनीहरूले छुट्टै राज्य गोर्खाल्याण्ड भनेर भोट मागे। जनताले भोट दिएर जिते तर अहिलेसम्म कुनै पनि ती नेताहरूले छुट्टै राज्यको माग संसद अनि विधानसभामा उठाएनन्‌। अब यसपल्टको बजटसत्रमा पनि उनीहरूले छुट्टै राज्यको निम्ति कुनै आवाज उठाएनन्‌ भने उनीहरूले सांसद अनि विधायकको पदबाट राजिनामा दिनुपर्छ। आर मोक्तानले  अहिले दोस्रो राज्य पुनर्गठन आयोग बसाउने कुरा चलिरहेको बेला छुट्टै राज्यको मुद्दाको निम्ति बाधा बनेको जीटीएको कुरा हुनु नहुने बताउँदै यतिबेला छुट्टै राज्यको आवाज उठ्‌नुपर्ने बताएका छन्‌। तिनले भने, मायावतीले जुन राजनैतिक परिस्थितिको निर्माण गरिदिएकी छन्‌ जसको कारण दोस्रो राज्य पुनर्गठन आयोग समेत बसाइने कुरा चलिरहेको छ। तर दोस्रो राज्य पुनर्गठन आयोग बसाइएमा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा ओझलमा पर्ने निश्चित छ। मोक्तान अनुसार जीटीएलाई नै छुट्टै राज्यको विकल्पकोरुपमा केन्द्रिय नेताहरूलाई बुझाइने कार्य भएको छ।
 यस कारण दोस्रो राज्य पुनर्गठन आयोग बसाइएमा कसैले पनि छुट्टै राज्य गोर्खाल्याण्डको कुरा उठाउने छैनन्‌। किन भने गोर्खाल्याण्डको समस्या जीटीए मार्फत समाधान भइसकेको उनीहरूले बुझेका छन्‌। केन्द्र सरकारले समेत जीटीए नै गोर्खाहरूको समस्याको समाधान रहेको ठानेकोले आयोगभित्र छुट्टै राज्यको मुद्दा पर्ने छैन। मोक्तानले भने, यस्तो परिस्थितिमा पनि गोर्खाल्याण्डको निम्ति चुनाउ जित्नेहरूले छुट्टै राज्यको सम्बन्धमा चुइँसमेत बोलेका छैनन्‌। किन उनीहरू मौन छन्‌? सासंद जसवन्त सिंहलाई सासंद बनाएर पठाउनुको एउटै कारण छ छुट्टै राज्यको निम्ति तिनले सांसदमा कुरा राख्न। तर तिनले कहिल्यै छुट्टै राज्यको मुद्दालाई गम्भीररुपले उठाएका छैनन्‌। जुन उद्देश्यको निम्ति तिनलाई जिताइएको हो, त्यो उद्देश्यपूर्तिको निम्ति तिनले आवाज नउठाउनुमा के रहस्य छ? मोक्तानले अझ भने, पहाडका तीनजना विधायक छुट्टै राज्यको आवाज विधानसभामा गुञ्जाउने अनि गुञ्जाउन नसके राजिनामा समेत गर्ने घोषणा गर्नेहरू पनि बोलेका छैनन्‌। यसपल्ट पनि उनीहरूले आवाज नउठाएमा उनीहरू छुट्टै राज्यको मुद्दाप्रति गम्भीर र इमान्दार नरहेको जनताले बुझ्नुपर्ने छ। किन भने अहिलेको परिस्थिति छुट्टै राज्यको निम्ति एक भएर आवाज उठाउने रहेको छ। तिनले जनतालाई छुट्टै राज्यको निम्ति आवाज उठाउन आफूहरूलाई प्रतिनिधि बनाइदिने अपील गरेर जनताको भोटले जितेपछि जनताको मुद्दाप्रति ध्यान नदिने विधायकहरू अनि सांसदलाई जनताको प्रतिनिधि हुने कुनै नैतिक अधिकार पनि नरहेको मोक्तानले बताएका छन्‌।

0 comments: on "सासंद र विधायकहरूले राजिनामा देओस्‌-गोटाफो"