मुख्य समाचार :


जीटीए अघि नै पञ्चायत चुनाउ गोरामुमो बन्द गर्ने गोजमुमो खोल्ने

 


कालेबुङ, ९ जनवरी|
दार्जीलिङ जिल्लामा पञ्चायत चुनाउ राजनैतिक दलहरूको निम्ति 'काम पाइनस बुहारी घोप्टाउँदै उठा'-जस्तै भएको छ| एउटा दलले बन्द गरेको पञ्चायत चुनाउ अर्को दलले गराउने भएको छ| पहाडमा कुनै पनि एउटा दलको शक्तिलाई केन्द्र र राज्य सरकारले बलियो शक्ति मान्ने गरेको कुरा यही पञ्चायत चुनाउबाट स्पष्ट हुन्छ| किन भने दार्जीलिङ जिल्लामा गोरामुमोले पञ्चायत चुनाउ हुँदैन भनेपछि आजसम्म यसको चुनाउ भएको छैन| दार्जीलिङ जिल्लामा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले २००४ देखि पञ्चायत चुनाउ बन्द गर्‍यो तर अब गोजमुमोले पञ्चायत चुनाउ फेरि गर्ने भएको छ| गोरामुमोले पञ्चायत चुनाउ नगर्ने मात्र होइन ग्रामपञ्चायत प्रधानहरूलाई राजीनामा समेत गर्न लगाएको थियो| पञ्चायत कार्यालयहरू सरकारद्वारा नियुक्त कर्मचारीहरूको भरमा चलिरहेको भए पनि ग्रामीणवासी सरकारी धेरै सुविधाहरूबाट बञ्चित बन्न परिरहेको थियो| अब ग्रामीणवासीले विकासको मुख देख्न पाउने संकेत मोर्चाले दिएको छ| किन भने गोजमुमो जीटीए अघि ग्राम पञ्चायत चुनाउ होस् भन्ने चहान्छ| भर्खरै नगरपालिका चुनाउबाट गोर्खा जनमुक्ति मोर्चाले सरकारलाई पहाडमा आफ्नो पकडबारे राम्रै सन्देश दिइसकेको छ| किन भने नगरपालिका चुनाउमा मोर्चाको निर्विरोध विजय भइसकेको छ| यस अघिको विधानसभा चुनाउमा पनि मोर्चाको जित भारीमतले भएको थियो| यसै चुनाउदेखि नै पहाडमा विपक्षको अस्तित्वमाथि संकट देखापरेको थियो| मोर्चाले आन्दोलन थन्काएपछि आफ्नो ध्यान विकासमा अडाएको छ| अहिले नै छुट्टै राज्य हुन नसक्ने स्पष्ट पार्दै मोर्चाले आन्दोलनबाट निस्किएर विकासको निम्ति राजनीति गरिरेको छ| यसै कारण नै मोर्चाले विधानसभा अनि नगरपालिका चुनाउमा जित हासिल गरिरहेको छ| अन्य दलहरूले बङ्गालको विकास एजेन्सीको निम्ति राजनीति नगरेको अनि बङ्गाल सरकार अधिनस्त दार्जीलिङ जिल्ला रहेकोले पहाडको विकासलाई एउटा स्वाभाविक प्रक्रिया मान्दै चुनाउतिर ध्यान नदिएर मूल मुद्दा छुट्टै राज्यमा नै आफ्नो ध्यान केन्द्रित गरिरहेको छ| ती दलहरूको भनाइ अनुसार दार्जीलिङको विकास गर्ने कार्य राज्यको हो| चलिरहेको आन्दोलन विकासको निम्ति नगरिएकोले आन्दोलनको स्वरलाई विकासको  पहाडले रोक्नु सर्वभारतीय गोर्खाहरूको हितको निर्णय नहुने भन्दै उनीहरूले आफ्नो क्षमता अनुसारको आन्दोलन गरिरहेको छ|
 मायावतीले उत्तरप्रदेशलाई चारभागमा विभक्त गर्ने भएपछि पहाडका विपक्षका दलहरू अहिले एक अराजनैतिक सङ्गठन भागोपको छातामुनी बसेर गोर्खाल्याण्ड टास्क फोर्सबाट राष्ट्रिय आन्दोलनको निम्ति तयारीमा बसेको छ| यता गोजमुमो भने छुट्टैराज्यको मुद्दालाई फालेर केवल पहाडको विकास र चुनाउतिर मुखरित भइरहेको छ| अहिले आन्दोलनको धार दुइभागमा विभक्त छ| एउटा दार्जीलिङ जिल्लाको तीन महकुमाको विकास, यसै महकुमाभित्र विभिन्न चुनाउहरू अनि त्यहॉं आफ्नो दलीय सत्ता कायम गर्ने दिशामा मोर्चाको ध्यान बलियोरुपमा पुगिरहेको छ भने अन्य दलहरू यी सबैबाट बेवास्ता बनेर केवल छुट्टै राज्यको निम्ति मात्र केन्द्रित बनिरहेको छ| यस्तै अवस्थामा मोर्चाले अहिले पहाडमा फेरि पञ्चायत चुनाउ गर्ने भएको छ तर दुइस्तरीय नै| यसै पनि गोरामुमोले गरेको भूलहरूको संशोधन गर्दै अघि बढिरहेको मोर्चाले गोरामुमोले जुन अवस्थामा ग्राम पञ्चायतको चुनाउलाई छोडेको थियो, त्यहीँबाट मोर्चाले शुरुवात गर्ने भएको छ| जीटीएको सम्झौता अनुसार त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ हुनुपर्ने भए पनि अहिले त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ सम्भव नरहेको भन्दै दुइस्तरीय चुनाउ नै जीटीएको गठन अघि हुने मोर्चाले बताएको छ| स्पष्ट छ, अब मोर्चाले पहाडमा ग्राम पञ्चायत चुनाउको निम्ति दलीय चहलपहल शुरू गर्ने छ| यो चहलपहलभित्र विपक्षी शक्तिले गरिरहेको छुट्टै राज्यको आन्दोलन कसरी कतै विलाएर जाने त होइन भन्ने शंका पनि उपार्जन गरिदिएको छ| मोर्चाले ग्राम पञ्चायत चुनाउलाई अघि राखेर पञ्चायत क्षेत्रको विस्तारणको उचित कार्यलाई पनि अघि सारिरहेको छ| एकातिर गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले दार्जीलिङमा चार जिल्ला बनाइनुपर्ने माग गरिरहेको छ भने  मोर्चाले पनि ग्राम पञ्चायत क्षेत्रको वृद्धिको माग अघि राखेको छ|

0 comments: on "जीटीए अघि नै पञ्चायत चुनाउ गोरामुमो बन्द गर्ने गोजमुमो खोल्ने"