मुख्य समाचार :


कृषि पर्यटन मेलाको बहानामा विमल गुरूङ र छत्र सुब्बाको भेट


मनोज वोगटी
कालेबुङ,12 जनवरी।
रेली पालामा हिजोदेखि दागोपापले आयोजना गरिरहेको कृषि पर्यटन महोत्सव गोर्खा जनमिुक्ति मोर्चाको सहयोगमा सम्पन्न भइरहेको छ।। यसै बहानामा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङ अनि जीएलओ प्रमुख छत्र सुब्बाको भेटघाट मेलामा भयो। सूत्रले बताए अनुसार कृषि पर्यटन मेलामा मोर्चाबाट छत्र सुब्बालाई पनि निम्तो गरिएको थियो। छत्र सुब्बाले पहिलोपल्ट कुनै राजनैतिक दल संलग्न कार्यक्रममा आफ्नो उपस्थिति दिएका छन्‌। दोषमुक्त बनेर तिनी 11 वर्षपछि घर फर्किए पछि तिनले पहाडको राजनैतिक स्तर जहीँको तहीँ रहेको टिप्पणी गरेका थिए। तिनी गोरामुमोकालमा जेल परेका थिए भने गोजमुमोकालमा तिनको मुक्ति भएको थियो। गोरामुमोले छुट्टैराज्यको मुद्दा छोडेर दागोपाप थापेपछि छत्र सुब्बाले दागोपापको विरोधमा अनि छुट्टै राज्यको आकांक्षामा विद्रोह शुरू गरेका थिए। राजनीतिविदहरूद्वारा छत्र सुब्बा गोरामुमोको निम्ति खतरा बनेपछि घिसिङ हमलाकाण्डको बहानामा तिनलाई जेल हालिएको बताइन्छ। छत्र सुब्बालाई पक्राउ गरिएमा गोरामुमोलाई दोगापोप चलाउनु सहज हुने भएको कारण नै छत्र सुब्बा अनि तिनका सहयोगीहरूलाई जेल हालेको छत्र सुब्बा आफैले पनि बताइसकेका छन्‌। छत्र सुब्बा छुट्टैराज्य बाहेकको कुनै पनि व्यवस्थाको विरोधी हुन्‌। तिनले भनेका छन्‌, छुट्टैराज्य बाहेक अन्य कुनै पनि व्यवस्थामा हस्ताक्षर गरिसकेपछि त्यो दलले छुट्टै राज्यको निम्ति कुनै पनि आन्दोलन गर्न सक्दैन। तिनले यो कुरा गोजमुमोले जीटीए थापेको सन्दर्भमा पत्रकारहरूलाई जेलमुक्त भएर कालेबुङ आएपछि बताएका हुन्‌। केही दिन अघि छत्र सुब्बालाई युजीआरएफ नेता अजय दाहालले आफ्नो पुस्तक विमोचनको कार्यक्रममा मुख्य अतिथिको रुपमा बोलाएका थिए, तरतिनी कार्यक्रममा उपस्थित बनेनन्‌। तिनले अजय दाहाललाई पत्र पठाएर कार्यक्रममा आउन नसकेपनि तिनको लेखनीप्रति कामना चढाएका थिए। तर तिनलाई गोर्खा जनमुक्ति मोर्चाको सक्रियतामा भएको कृषि मेलामा देखियो। 'दूध बेचेँ तर जाति बेचिन, पानी बेचेँ तर मुद्दा बेचिन' भन्ने छत्र सुब्बा आफू पनि एक कृषक हुन्‌। उद्घाटनी कार्यक्रममा मोर्चाका प्रायः सबै नेताहरू उपस्थित थिए। यतिको उपस्थिति टी एण्ड टुरिज्म फेस्टिबलमा पनि देखिएको थिएन। विमल गुरूङले त टी एण्ड टुरिज्म फेस्टिबलमा आफ्नो उपस्थिति समेत दिएका थिएनन्‌। तर तिनी सपत्निक रेलीपालाको कृषि पर्यटन मेलामा उपस्थित थिए। सूत्रले बताए अनुसार मोर्चा अध्यक्ष विमल गुरूङ अनि छत्र सुब्बाको यो भेट धेरैवर्षपछि भएको हो। जब दुवै गोरामुमोमा सक्रिय थिए तब उनीहरूकोे मित्रता थियो। विमल गुरूङले कतिपय असुविधामा छत्र सुब्बालाई सहयोग गरेको पनि बताइन्छ। गुरूङ र सुब्बाले एकार्काको सौहार्दपूर्ण भेटमा हात मिलाए। उनीहरूबीच के के कुराकानी भयो, त्योबारे कसैलाई पनि थाहा नरहेको भएपनि सूत्रले उनीहरूको बातचित भएको बताएको छ। स्थानीय गेष्टहाउसमा दुइको कुराकानी भएको हल्ला सुनिए पनि कसैले पनि यसलाई पुष्टि गर्न सकेनन्‌। विमल गुरूङ र छत्र सुब्बाको भेटघाट अनि बातचितलाई राजनैतिक सचेतहरूले निक्कै गम्भीररुपमा लिएको भए पनि मोर्चा सूत्रले बताए अनुसार दुइबीच सामान्य कुराकानी बाहेक केही भएन। उनीहरूबीचको भटघाटले खुफिया विभागलाई भने निक्कै सक्रिय बनाएको छ। स्मरणीय छ, विमल गुरूङले छत्र सुब्बाको उन्मुक्तिमा मोर्चाको ठूलो हात रहेको बताइसकेका छन्‌। पत्रकारहरूले छत्र सुब्बालाई आराम गर्न दिनुपर्ने अनि उनलाई अहिले नै उस्काउन नहुने पनि तिनले बताएका थिए। यता छत्र सुब्बाले भने जीटीएको जमेर बिरोध गरेका थिए। तिनले जीटीएलाई पनि 'दागोपाप'-कै चश्माले हेरेका छन्‌। तिनले भनेका छन्‌, यस्तो व्यवस्था हो भने म उहिल्यै ल्याउने थिएँ। मलाई यस्ता धेरैवटा अफरहरू आएको थियो। तर म एक सुता पनि डग्मगाइनँ। किन भने म केवल छुट्टैराज्य चहान्छु। छुट्टैराज्यले सबै साना ठूला समस्याको समाधान गर्ने छ। यता तिनीसित नै जेल परेका तिनका सहयोगीहरू विजय छेत्री अनि गुञ्जे लामा भने मोर्चामा पसिसकेका छन्‌। छत्र सुब्बा पनि मोर्चामा पस्ने हुन्‌ वा आफ्नै आन्दोलन गर्ने हुन्‌ केही निश्चित छैन। तिनले भनेका छन्‌, मैले आन्दोलन गर्नुपर्छ भने जनताले भन्नुपर्छ। जनता पैसाको पछि दगुरिरहेका छन्‌। पहिले जनतालाई पैसा चाहिएको हो कि राज्य? त्यो पक्का गर्नुपर्छ। जनता अघि बढेर आएमा म निश्चय नै आन्दोलन गर्नेछु।


0 comments: on "कृषि पर्यटन मेलाको बहानामा विमल गुरूङ र छत्र सुब्बाको भेट"