मुख्य समाचार :


गोर्खाहरूको समस्याको समाधान त भइसकेको छ-पासवान

 
दिल्ली, 9 दिसम्बर।
लोक जनतान्त्रिक पार्टीका नेता तथा सांसद राम विलास पासवानले गोर्खाल्याण्ड टास्क फोर्सको टोलीलाई आज सोझै भने, गोर्खाहरूको समस्याको त समाधान भइसकेको छ। तपाईँहरूले गोर्खाल्याण्ड एड्‌मिनिष्ट्रेशन टेरिटोरियल ग्रहण गरिसक्नु भइसकेको छ। गोर्खाल्याण्ड टास्क फोर्सका अध्यक्ष.डा एनोसदास प्रधान, सचिव मुनिश तामङ, राष्ट्रिय संयोजक आर मोक्तान लगायत पहाडका चार अनि दिल्लीका दुइवटा दलका प्रतिनिधिहरूले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दाबारे कुराकानी गर्न पासवानसित भेटघाट गरेका थिए। जहॉं प्रतिनिधिहरूले छुट्टै राज्यको कुरा गर्ने वित्तिकै पासवानले गोर्खाहरूको समस्या समाधान भइसकेको जनाए। डा एनोस दास प्रधानले जनाए अनुसार पासवान मार्फत नै केन्द्रका नेताहरूलाई जीटीए नै छुट्टै राज्यको विकल्पकोरुपमा ग्रहण गरिएको अनि भारतभरिका गोर्खाहरूको चिह्नारी र राजनैतिक सुरक्षाको सवाललाई जीटीएसित साटिसकेको कुरा पत्तो पाइएको बताएका छन्‌। प्रधानले भने, राम विलास पासवानसित खुवै सौहार्दपूर्ण कुराकानी भयो। तिनीबाट नै हामी स्पष्ट भयौं कि जीटीएलाई सम्पूर्ण गोर्खाहरूको समस्या समाधानको सूत्रकोरूपमा ग्रहण गरिएको छ। केन्द्रिय नेताहरूलाई जुन भ्रममा राखिएको छ, त्यो पासवानदेखि तोड्‌न शुरू भएको छ। तिनले भने, जीटीएलाई सम्पूर्ण भारतका गोर्खाहरूको समस्याको समाधान भनेर केन्द्रिय नेताहरूलाई भ्रममा राख्नु, जनतालाई पनि भ्रममा राख्नु रहेको बुझेका छौं। विकास एजेन्सी कहिल्यै पनि भारतभरिका गोर्खाहरूको समस्याको समाधान होइन। तिनले पासवानलाई जीटीए भारतभरिका गोर्खाहरूको समस्याको समाधान नरहेको कुरा टोलीले स्पष्ट पारेको बताइएको छ। पासवानले भने, तपाईँहरूको मुद्दाले न्याय पाउनुपर्छ। म तपाईँहरूको समर्थनमा छु। तपाईँहरूलाई सहयोग गर्नको निम्ति मैले जे गर्नुपर्छ, गर्ने छु। तिनले गोर्खाल्याण्ड टास्क फोर्सलाई शीघ्र नै एक राष्ट्रिय सेमिनार राख्ने सुझाव पनि राखेका छन्‌। जुन सेमिनारमा रामविलास पासवानले छुट्टै राज्य गोर्खाल्याण्डको औचित्यमाथि आफ्नो सम्बोधन राख्ने भएका छन्‌। डा. एनोस दास प्रधानले भने, हामीलाई लागेको थियो कि जीटीए केवल विकास एजेन्सी हो, तर यसलाई बङ्गाल सरकार र केन्द्रले अन्य छुट्टै राज्यको मुद्दा दबाउने सूत्रकोरुपमा नै विकसित गरेको अनि त्यसलाई गोर्खा जनमुक्ति मोर्चाले सहयोग गरेको थाहा पाएका छौं। मोर्चाको यस्तो कदम सम्पूर्ण भारतका गोर्खाहरूको चिन्हारीको सवालमा घातक छ। पासवानसितको भेटले आफूहरुलाई उर्जा मिलेको बताउँदै तिनले भने, जीटीएले सम्पूर्ण गोर्खाहरूको मूल समस्या समाधान गरेको छैन। छुट्टै राज्यको माग जनतासित जारी छ। गोर्खाल्याण्ड राज्यको मुद्दा जिउँदै छ, राज्य सरकार र केन्द्र सरकारले यो मुद्दामाथि कुनै पनि सानो भूल गरे देशव्यापी त्यसको विरोध हुने अनि छुट्टै राज्यको आवाज उठ्‌ने पासवान लगायत अन्य केन्द्रिय नेताहरूलाई बुझाइने छ। आजदेखि शुरू भएको केन्द्रिय नेताहरू तथा सांसदहरूसितको भेटघाट जारी रहने बताउँदै अब लगत्तै एमडीए कन्भेनर शरद पावर सुष्मा स्वराजलाई भेेट्‌ने कार्यक्रम रहेको पनि प्रधानले जनाएका छन्‌।

0 comments: on "गोर्खाहरूको समस्याको समाधान त भइसकेको छ-पासवान"