मुख्य समाचार :


गोर्खाल्याण्ड टास्क फोर्सको कमिटी गठन नेश्नल फेडरेशन फर न्यू स्टेटले गर्ने देशव्यापी जीटीएको विरोध

 
मनोज वोगटी
कालेबुङ, 9 दिसम्बर।
सॉंच्चैमा गोर्खा जनमुक्ति मोर्चाले  आफ्नो स्वार्थको निम्ति छुट्टै राज्यको मुद्दालाई सधैँको निम्ति दबाउन कम्मर कसिसकेको कुरा आज स्पष्ट भएको भागोपले दाबी गरेको छ। केन्द्रिय नेता राम विलास पासवानसित कुराकानी गर्दा मोर्चाले थापेको जीटीएलाई नै जनताको छुट्टै राज्यको मुद्दाको समाधान बताएर दिल्लीका नेताहरूलाई भ्र्रममा राखिएको कुरा खुलासा भएको भागोपले बताएको छ। अब गोर्खा जनमुक्ति मोर्चाले सम्झौता गरेको जीटीएको विरोध भारतभरिका गोर्खाहरूले त गर्ने नै भएको छ देशभरि छुट्टै राज्यको आन्दोलन गरिरहेका सबै दलहरूले पनि संयुक्तरुपले गोर्खाल्याण्ड टास्क फोर्सको जीटीएको विरोधको कार्यक्रमहरूलाई सहयोग गर्ने भएको छ। दिल्लीको कन्सटीट्यूसनल क्लबमा 12 जनवरीको दिन हुने नेश्नल फेडरेशन फर न्यू स्टेटको समावेशमा यसको प्रस्ताव लिइने  छ। यो समावेशमा गोर्खाल्याण्ड टास्क फोर्सले पनि अंशग्रहण गर्ने छ। यता गोर्खाल्याण्ड टास्क फोेर्सको कमिटी गठन गरिएको छ। यसमा अध्यक्ष डा. एनोसदास प्रधान रहेका छन्‌ भने सचिव मुनिष तामङ छन्‌। देशभरि रहेका सङ्घसंस्था र दलहरूसित सहकार्य गर्ने गोर्खाल्याण्ड टास्क फोर्सको राष्ट्रिय संयोजक आर मोक्तान रहेका छन्‌ भने मोठ 6 वटा दलका प्रतिनिधिहरू कार्यकारी समितिमा छन्‌। हिजो फोर्सको बैठक भएको थियो, जहॉं नयॉं कमिटी गठन गरिएको थियो। क्रामाकपा, गोरानिमो, गोर्खालिग बाहेक पनि बैठकमा गोर्खा डेमोक्रेटिक फ्रण्ट अनि गोर्खा शहिद समितिका प्रतिनिधिहरूको पनि उपस्थिति थियो। गोर्खा डेमोक्रेटिक फ्रण्टबाट सूर्यवहादुर साही अनि तिनका टोली अनि गोर्खा शहिद समितिबाट एन्ड्रु गुरूङ अनि तिनको टोली सामेल थिए। अध्यक्ष एनोस दास प्रधानले बताए, यसै बैठकमा केही कार्यक्रमहरू पनि तय गरिएको छ। जसमा राष्ट्रिय आन्दोलनमा युवाहरूलाई सङ्गठित पार्ने पहिलो कार्यक्रम रहेको छ। तिनी अनुसार सिलगढीमा 6,7 अनि 8 जनवरीको दिन भागोप र टास्क फोर्सको एक समावेश सम्पन्न हुनेछ। यस समावेशमा छुट्टै राज्यको निम्ति कटिबद्ध युवाहरूलाई आन्दोलनमा बौेद्धिकरुपले सामेल बन्ने आह्वान गरिने छ। प्रधानले भने, युवा शक्ति लगाएर नै आन्दोलनलाई अघि बडाउन सकिन्छ। यसकारण 8 जनवरीको दिन टास्क फोर्सले युवाहरूलाई लिएर एक समावेशको आयोजना गर्ने छ। तिनले अब छुट्टै राज्यको निम्ति अघि नआए छुट्टै राज्य पाउनु त परैको कुरा मुद्दा नै सधैँको निम्ति हराउने परिस्थिति रहेको जनाए। तिनले भने, जब मुद्दा नै रहँदैन तब गोर्खाहरूको अस्तित्व कहॉं रहन्छ? जीटीएले चिन्हारी र राष्ट्रिय राजनैतिक सुरक्षा पुरा गर्दैन। बङ्गालबाट मुक्त छुट्टै राज्य  हुनुपर्छ। तर बङ्गाल अधिनस्त कुनै पनि व्यवस्था हुनु हुँदैन। जन बङ्गालको शोषणको विरोधमा आवाज उठ्यो, त्यही बङ्गालमा बस्ने कुराले आवाज दबिन दिनु हुँदैन। अहिले यस्तै चलखेल भइरहेको छ। प्रस्तावित क्षेत्र बङ्गालको होइन, हाम्रो क्षेत्र हो, यही नै गोर्खाहरूको छुट्टै राज्य हुनुपर्छ। अब कसैले पनि छुट्टै राज्यको विरोध गर्छ भने यही बङ्गालमा बस्न चहानेहरूले गर्छ। यसकारण युवा समुदायलाई राष्ट्रियरुपको बौद्धिक लडाईँमा सामेल भइदिने अपील गर्छौं। प्रधानले वाइ गोर्खाल्याण्ड नामक पुस्तकको विमोचन भएको अनि अहिले त्यसको वितरण कार्य भइरहेको जनाएका छन्‌।

0 comments: on "गोर्खाल्याण्ड टास्क फोर्सको कमिटी गठन नेश्नल फेडरेशन फर न्यू स्टेटले गर्ने देशव्यापी जीटीएको विरोध"