मुख्य समाचार :


जीटीए गठन ढिलाईमा असन्तुष्ट मोर्चा जीटीए हुँदैन रै’छ-विमल गुरूङ

 
कालेबुङ, 9 दिसम्बर।
जीटीएलाई हामीले कति दिन पर्खिनु। जीटीए गठनको ढिलाई हामीलाई मन परेको छैन। ढिलोपन सहन गर्दैनौं। ढिलाइँ हुँदा जीटीए हुँदैन रै'छ भन्ने हाम्रो कुरा  अहिले चल्दैछ। मोर्चा अध्यक्ष विमल गुरूङले आज यसो भने। 18 सितम्बरमा जीटीएमा त्रिपक्षीय सम्झौता भएको आज तीन महिना पुग्नलाग्दा सेमेत जीटीए गठन नभएकोमा गुरूङले असन्तुष्ट बन्दै रूष्ट स्वरमा जीटीए हुन्दैन रै'छ भन्ने टिप्पणी गरे। तिनले अझ भने, बङ्गालले फण्ड पाएको छैन भन्छ, अरू के के भन्छ। हाइ पावर कमिटीले तराई डुवर्स अन्तर्भुक्तिको निम्ति महिना दुइमहिनामा   एकपल्ट बैठक गर्छ। हाइपावर कमिटीले राम्रो काम गरेको छैन। बङ्गालले दार्जीलिङलाई स्वीट्‌जरल्याण्ड बनाइदिन्छु भन्छ, कति दिन पर्खिनु, मुखले मात्र भनेर हुँदैन। जीटीए गठन ढिलो भएकोमा मोर्चाले अहिलेको परिस्थितिमा  जीटीएलाई लत्याउन पनि नसक्ने अनि छुट्टै राज्य पनि खुलेर माग्ननसक्ने अवस्थामा पुगेकोे गुरूङको भनाइबाट स्पष्ट हुन्छ।  हाईपावर कमिटीको सुस्त गतिको काम, बङ्गालले गरेको जीटीए गठनमा ढिलाई आदिले गर्दा मुद्दा हराएर जाने बताउँदे गुरूङले भने, यस्तै पाराले हो भने गोर्खाल्याण्ड कहिले हुने? त्यो भए मोर्चाले जीटीए यथाशीघ्र हुनुपर्ने मागमा सरकारलाई चाप दिन्छ अथवा जीटीएलाई लत्याएर आन्दोलन गर्छ भन्ने प्रश्नमा गुरूङले भने, बङ्गालमा नयॉं सरकार आएपछि यस्तो गरिदिन्छौं उस्तो गरिदिन्छौं भन्यो, दार्जीलिङलाई स्वीट्‌जरल्याण्ड बनाइदिने भन्यो। बेरोजगारहरूलाई रोजगार दिने भन्यो। पहाडलाई उन्मुक्तिसँगै उन्नति पनि चाहिएकोले गरोस्‌ न त भनेर हामीले जीटीए थाप्यौं। अहिले जीटीए ढिलाई हुँदा फेरि बङ्गालकै गॉंड कोर्न जानु? यसैले जीटीए नहुने रहेछ भन्ने कुरा भइरहेको गुरूङले बताए। युवा मोर्चाले यी कुराहरूलाई राम्ररी अध्ययन गरेर नै फेरि गोर्खाल्याण्ड आन्दोलन चर्काउने निर्णय लिएको हुनसक्ने पनि गुरूङले बताए। तर युवा मोर्चालाई केन्द्रिय समितिले समर्थन जनाउने नजनाउने पनि अहिले स्पष्ट छैन। गोर्खाल्याण्डको निम्ति युवा मोर्चाले विमल गुरूङकै नेतृत्व होस्‌ भन्ने चाहिरहेको छ। यसैले गोर्खाल्याण्ड निम्ति मङ्गपुको जनसभामा युवा मोर्चाले गुरूङलाई आइदिन आग्रह गरिरहेको छ। गोर्खाल्याण्डको निम्ति भातृ सङ्गठनले बोलाएको बैठकमा पनि जाने नजाने पछिबाट निर्णय गर्ने गुरूङले बताए। तिनले भने, युवा मोर्चाले मलाई पनि प्रेसर दिइरहेको छ। थुप्रो चिट्ठीहरू पठाइरहेको छ। आन्दोलनको दोस्रो भागको निम्ति युवा मोर्चाले पहल गर्दैछ। उनीहरूको कार्यक्रमलाई हामी बाधा दिँदैनौं। माटोको आन्दोलन हो नराम्रो प्रकारले हेर्दैनौं। युवा मोर्चाको आन्दोलनलाई लिएर पार्टीगत चर्चा भइरहेको छ। गोजमुमोले चार वर्षसम्म सम्पूर्ण शक्ति लगाएर आन्दोलन गर्दा त केन्द्रले गोर्खाल्याण्डको ग सम्म सोँचेन भने भातृ सङ्गठनले गरेको आन्दोलनले केन्द्र सरकारलाई प्रभाव पार्ला भनी सोधिएको प्रश्नमा गुरूङले भने, शरीरको बीचमा मुटु हुन्छ भने दुइपट्टि करङ हुन्छ। म मुटु भएँ युवा मोर्चा अनि नारी मोर्चाल करङ हुन्‌। उनीहरूले गर्दा नै आन्दोलन यहॉंसम्म आउन सक्यो। हामीले युवा मोर्चालाई बाटो देखाइदिएका छौं, कार्यक्रम फ्यातुलो हुँदैन। तिनले एक मुख्य कुरा भने, बाबुले छोराछोरी बिग्रोस्‌ भन्ने चाहँदैन। एकापट्टि युवा मोर्चाको आन्दोलनलाई बाधा दिँदैनौं भन्ने गुरूङले अर्कोपट्टि बाबुले छोराछोरीले बिग्रोस्‌ भन्ने चॉंहदैन भन्नुले युवा मोर्चाले केन्द्रिय समितिले लगाम लगाउने काम गर्ने स्पष्ट देखिएको छ। भातृ सङ्गठन युवा मोर्चाले गोर्खाल्याण्डको आन्दोलन गर्ने अनि केन्द्रिय समिति जीएटीएमा व्यस्त रहेकोले देखिएको अन्योलताबारे गुरूङले अन्योलता नरहेको बताउँदै जीटीएपछि मात्र जीएण्डएटीए गठन हुने तर जीटीए ढिलो भएको देखेर नै युवा मोर्चाले गोर्खाल्याण्ड आन्दोलन शुरू गरेको तिनले बताए। तिनी अनुसार जीटीए गठनपछि बोर्डले बैठक गरेर प्रस्ताव पारित गरेपछि नै जीएण्डएटीएको कुरा आउनेछ।  गुरूङले आज भागोप र क्रामाकपाको नामै सुन्न मानेनन्‌। उनीहरूले गर्दै गरेको दिल्लीमुखी आन्दोलनबारे प्रश्न गर्दा तिनले भने, भागोप र क्रामाकपाको कुरै नगर। 23 वटा नगरपालिका सिटमा एउटा उम्मेदवार दिन सकेन। 86 मा क्रामाकपाले गोर्खाल्याण्डको विरोध गर्दा 1200 शहीद भएको हो। त्यसबेलादेखि नै जनताले क्रामाकपालाई मनपराउन छाडेको हो। क्रामाकपाले जतिनै आन्दोलन गरेपनि जनताले उनीहरूलाई पत्याउँदैनन्‌। क्रामाकपा माकपाबाट आएको बताउँदै तिनले गोजमुमो भने गोरामुमोबाट नआएको बताए। भागोपमाथि टिप्पणी गर्दै भने, भागोपलाई अहिलेसम्म हामीले इज्जत गर्दै आएका हौं। अहिले माइकटाइसनजस्तो भएर हुँदैन। ग्रासरूटमा मान्छे हुनुपर्छ। अहिले भागोपले राजनैति दलहरू लिएर हिँड्‌दैैछ, लिएर हिँडेकोे राजनैतिक दलहरू व्याकग्राउण्ड हेर्नुपर्छ। भुइँचालोले दार्जीलिङ पहाडलाई व्यापक क्षति पुर्‍याएको भएपनि केन्द्र अनि राज्यले अहिलेसम्म कुनै प्याकेज नदिएकोमा गुरूङले भने, राज्यपाल आयो, मुख्यमन्त्री आयो अरू को को आयो आयो। यो गरिदिन्छु त्यो गरिदिन्छु भन्यो। खै त गरेको। मुखमात्र लिएर आएर हुँदैन काम गर्नुपर्छ, वचन पुरा गर्नुपर्छ। यी जम्मै कुराहरूलाई हेरेर नै अहिले राज्य र केन्द्रप्रति मोर्चा रूष्ट बनेको गुरूङको भनाइबाट स्पष्ट बुझियो। मोर्चा अध्यक्ष विमल गुरूङ आज कालेबुङ न्यायलयमा उपस्थिति दिन आएका थिए। राजमार्गको दुइवटा मुद्दाको निम्ति तिनले आज कालेबुङ न्यायलयमा हाजिर भए। तिनको अनुपस्थितिले आजसम्म दुइवटा मुद्दा अघि बढ्‌न सकिरहेको थिएन अनि आज गुरूङले आफू निर्दोष रहेको बताएपछि मुद्दा अघि बढ्‌ने भएको तिनका अधिवक्ता राजिव पराजुलीले बताए। स्मरण गराइन्छ तिनी विरूद्ध कालेबुङ न्यायलयमा कूल 9 वटा प्रशासनिक मुद्दा रहेको छ। प्रशासनिक मुद्दामा हाजिरी दिन नै तिनी कालेबुङ आएका थिए।

0 comments: on "जीटीए गठन ढिलाईमा असन्तुष्ट मोर्चा जीटीए हुँदैन रै’छ-विमल गुरूङ"