मुख्य समाचार :


डम्बरचोकमा उभिएर बिकासको कुरा गर्नेहरूले किन देख्दैनन् डम्बरसिहंको जीर्ण अवस्था?

कालेबुङ, ८ दिसम्बर|
कालेबुङको मुटु मानिने डम्बरचोकको अहिलेको जीर्ण अवस्था हेर्दा कालेबुङका सचेत समाजका मानिसहरूको निम्ति लज्जास्पद विषय हुनुपर्ने होे| एक अमर गोर्खे नेता डम्बरसिंह गुरूङको यस्तो अवस्था देखेर सचेत गोर्खे समाज  सञ्चोले बॉंच्न नसक्नु पर्ने हो| कयौं महिनादेखि डम्बरसिंह गुरूङको सालिग अनि चोक दुवै हेर्न लायकको छैन| चोटैचोेटले ग्रस्त डम्बरसिहं गुरूङको सालिगलाई हेर्न नसकेर कसेलै टाउकोमा पट्टि बॉंधिदिएका छन्| पट्टि बॉंध्ने मान्छे सचेत व्यक्ति नभएर कुनै एक माग्ने अथवा नगरमा हिँडिरहेने पागलहरू हुनसक्छन्| बरू ती मागेर खाने मानिसले डम्बरसिंहको सालिगको भत्कन लागेको टाउकोको चोट सम्झेर पट्टि बॉंधिदिएका छन्| कालेबुङका सचेत नागरिकभन्दा त्यो पट्टि बाध्ने मानिस महान हुन् जसले सालिगको चोइटिन लागेको टाउकोलाई घाउ सम्झेर कमसेकम पट्टि त बॉंधिदिएका छन्| सालिगको जीर्ण अवस्था मात्र होइन सालिग स्थलमा यति धेरै मैला थुप्रिएको छ तर कालेबुङको मुटु भनेर ढोल पिट्ने सचेत नागरिकहरूलाई यसको पर्वाह छैन| सालिग निर्माण समिति कालेबुङले गोर्खे नेताहरूलाई समाजअघि ल्याउनुपर्छ भनरे जम्मै शक्ति लगाएर भएपनि नयॉं सालिगहरू निर्माण गर्ने गर्छ तर अघिबाटै निर्माण गरिएको सालिगहरूको भने पर्वाह  गर्दैन| २३ जनवरी १९०१ मा जन्मेका अभागोलि नेताको ७ अप्रेल १९८७ मा मृत्यु भएपछि गोर्खालीगले स्थापना गरिदिएको गुरुङको सालिगलाई पछिबाट कालेबुङ नगरपालिकाले मरम्मति गर्ने काम गर्‍यो| तर अहिले कसैले सालिग मरम्मति तर्फ भने ध्यान दिएको छैन| अचम्म लाग्दो घटना के छ भने कालेबुङमा कुनै पनि जुलूस भए डम्बरचोकमा नै आएर थामिन्छ| कुनै पनि राजनैतिक दलले जनसभा गर्न परे जनसभा सुन्ने मान्छे भएर हो अथवा नभएर डम्बरचोकमा नै गर्न पर्छ| नेताहरूले ठूला-ठूला करोडौंका विकासका कुराहरू डम्बरचोकमा उभिएर नै गर्ने गर्छन्| यस्तो गरिदिन्छौं, उस्तो गरिदिन्छौं भन्छन्|
 तर डम्बरचोकमा उभिएर विकासको कुरा छॉंट्ने नेताहरूले भने आफू उभिएको चोक अनि डम्बरसिहं गुरूङको जीर्ण बनिसकेको सालिग देख्दैनन्, आफू उभिएको ठाउँमा आकाशबाट चुहेको पानी पनि देख्दैन्| देखेर पनि देख्दैनन् अथवा देखेर पनि देख्न चॉंहदैनन् उनीहरूले नै जानुन्| तर यसरी गोर्खे नेताको सालिग निर्माण गरेर गोर्खालीगले समेत पर्वाह नगर्नु, निर्माण गरेर लथालिङ्ग छोड्नु भनेको डम्बरसिहंको बेइज्जत गर्नु मात्र होइन गोर्खा समाजकै निम्ति यो जस्तो लज्जास्पद विषय अरू छैन भन्दा हुन्छ|
 


0 comments: on "डम्बरचोकमा उभिएर बिकासको कुरा गर्नेहरूले किन देख्दैनन् डम्बरसिहंको जीर्ण अवस्था?"