मुख्य समाचार :


युवा मोर्चाले रङ्गाउँदैछ कालेबुङ थर्ड जेनेरेशनमा देखिएन नयॉंपन

प्रज्ज्वल छेत्री
कालेबुङ, ८ दिसम्बर|
गोर्खाल्याण्डको निम्ति भनेर गोर्खा जनमुक्ति मोर्चाले आन्दोलन शुरू गर्दा जसरी मोर्चाको झण्डाले दार्जीलिङ पहाड रङ्गिएको थियो अब फेरि युवा मोर्चाले पनि त्यही अभियान शुरू गरेको छ| छुट्टै राज्यको आन्दोलनमा घर-घरमा, हरेक दोकानपाट आदिमा झण्डा लगाउँदा सरकारलाई कुनै फरक नपर्ने स्पष्ट भएपनि क्षेत्रीय स्तरमा पार्टीको वर्चस्व देखाउने जमर्कोमा चॉंही यो अभियान थालिएको हुनसक्छ|
 गोर्खा जनमुक्ति मोर्चाले एकसमय आन्दोलनकालअवधी घर-घरमा मोर्चाको झण्डा अनिवार्य रूपमा लगाउनुपर्ने निर्देश जारी गरेको थियो| गोर्खाल्याण्डको निम्ति भनेर मानिसहरूले घर-घरमा झण्डाहरू लगाए| नलगाउनेहरूलाई जब्बरजस्ती पार्टी कार्यकर्ताहरूले लगाउन लगाए|
 फलस्वरूप जसरी गोजमुमोको गोर्खाल्याण्डको आन्दोलन अघि बढ्दै अहिले जीटीएसम्म आइपुग्यो त्यसरी नै गोजमुमोको झण्डाहरू पनि पुरानो हुँदै गयो, मानिसहरूले निकाल्दै गए| अहिले गोजमुमोको भातृ सङ्गठन युवा मोर्चाले गोर्खाल्याण्ड आन्दोलनको शंखघोष गरेको छ| युवा मोर्चाले गरेको आन्दोलनको शंखघोषसँगै फेरि गोजमुमोको नयॉं-नयॉं झण्डाहरू नगरमा देखिन थालेको छ, मानौं युवा मोर्चाले केही नै गर्न आँटेको छ| युवा मोर्चाले कालेबुङ नगरलाई अहिले  मोर्चाको झण्डाले बिहेको पण्डाललाई जस्तै गरेर सजाउन शुरू गरेको छ| मिरिकको चुनाउलाई केन्द्र गरेर ११ दिसम्बरमा दार्जीलिङ अनि कालेबुङमा युवा मोर्चाले जुलूस निकाल्ने अघिबाटै घोषणा गरिसकेको छ| ११ दिसम्बरमा मिरिकमा हुने नगरपालिका चुनाउलाई युवा मोर्चाले कालेबुङ अनि दार्जीलिङमा जुलूस गरेर मोर्चाको शक्ति प्रदर्शन गर्ने तय छ| १८ दिसम्बरमा मङ्पुमा युवा मोर्चाले विराट जनसभाको आयोजना गरेको छ| त्यही जनसभामा युवा मोर्चाले गोर्खाल्याण्ड आन्दोलनको दोस्रो पिँडीले बनाएको रणनीतिको खुलासा गर्ने भएको छ| पहिलोे पिँडीले ४ वर्षसम्म लगातार आन्दोलन गरेर जीटीएमा आइपुगेर बिसाउन पर्‍यो भने दोस्रो पिँडीको रणनीति कस्तो हुने हो मङ्पुको जनसभालाई सबैले प्रतीक्षा गरिरहेका छन्| छुट्टै राज्यको निम्ति पहिलो पिँडीलेे जस्तो रणनीतिहरू दोस्रो पिँडी युवा मोर्चाले अप्नाउने हो यो वा थर्ड जेनेरेशनको विचारधारामा उनीहरू अघि बढ्ने हुन् हेर्न लायकको विषय रहेको छ| ४० नाघेकाहरूले चारवर्षसम्म गोर्खाल्याण्डको निम्ति जति गर्नुपर्ने थियो गरे, युवा मोर्चा पनि पछिपछि लागे| अन्तमा अहिले नै देशमा छुट्टै राज्य बनिने परिस्थित नभएपछि थाकेर पहिलो पिँडी जीटीएमा बिसाए| अहिले मायावती सरकारले उत्तर प्रदेशलाई चार भागमा विभाजन गर्ने प्रस्ताव विधानसभामा पारित गर्‍यो|
 छुट्टै राज्यका पक्षधरहरूमा फेरि नयॉं आशा जाग्यो| फलस्वरूप मायावतीको निर्णयको दार्जीलिङ-पहाडमा पनि प्रभाव पर्‍यो| मयावतीको आगोको रापले युवा मोर्चा पनि तात्तियो| युवाहरूको आन्दोलनको रूपरेखा केन्द्र सरकारलाई झुकाउन सकिने किसिमको हुनसक्ने जनसाधरणले आशा गरेको भएपनि फेरि अघिल्लो पिँडीलाई पछ्याउँदै थर्ड जनेरसनले पनि नगरमा झण्डा लगाएकोले टुजी र थ्रिजीमा फरक नरहेको मानिसहरूले टिप्पणी गर्नथाले|
 


0 comments: on "युवा मोर्चाले रङ्गाउँदैछ कालेबुङ थर्ड जेनेरेशनमा देखिएन नयॉंपन"