मुख्य समाचार :


टास्क फोर्समा भागोपबाट पॉंच प्रततिनिधि आज कार्यक्रम सूची तयार पारिने

 कालेबुङ, ८ दिसम्बर|
छुट्टै राज्यको मार्गमा देशभरि नै जीटीए बाधक रहेको अनुभव गर्ने भागोपले छुट्टै राज्यको निम्ति गरिने आन्दोलनलाई दिल्ली केन्द्रित गरेको छ| अहिले भागोप र पहाडका अन्य दलका प्रतिनिधिहरू दिल्लीमा नै बसेर रणनीति निर्माणमा जुटिरहेका छन्| गोर्खाल्याण्ड टास्क फोर्स, जसलाई अघि राखेर पहाडका छुट्टै राज्यपन्थी दलहरूले अघि बढ्न कम्मर कसिसकेको छ| यस टास्क फोर्समा प्रत्येक दलबाट कति प्रतिनिधिहरू हुनेछन् अनि ती प्रतिनिधिहरूको कार्यभार कस्तो हुनेछ, त्यो पनि दिल्लीमा नै तय गरिने छ|
 हिजो सॉंझ भागोपको नेश्‍नल पोलिशी मेकिङ कमिटीको बैठक भयो| जसले छुट्टै राज्यको निम्ति भागोपले कसरी कार्य गर्ने भन्ने विषयमा व्यापक छलफल भयो| भागोप राष्ट्रिय अध्यक्ष डा. एनोसदास प्रधानले बताए अनुसार टास्क फोर्समा रहने भागोपका प्रतिनिधिहरू पनि यसै बैठकमा छानियो| तिनले बताए अनुसार, एनोसदास प्रधान, सुखमान मोक्तान, आर मोक्तान, जोएल राई अनि मुनिष तामङ टास्क फोर्समा भागोपको प्रतिनिधिकोरुपमा बस्नेछन्| यसरी नै टास्क फोर्समा रहेका दल र सङ्गठनहरूले पनि आफ्ना पॉंच प्रतिनिधिहरू टास्क फोर्समा पठाउने छन्| आज बेलुकी टास्क फोर्सको बैठक हुनेछ| बैठकको निम्ति क्रामाकपा, गोर्खालीग अनि गोरानिमोका प्रतिनिधिहरू पुगिसकेका छन् भने यस बैठकमा देहरादुनको गोर्खा डेमोक्रेटिक फ्रण्टका प्रतिनिधिहरू पनि रहेका छन्|
 आजको बैठकले भविष्यको रणनीति तयार गर्नेछ| टास्क फोर्स अनुसार पहाडमा भोक हड्ताल, जुलूस, बन्द गर्नु नै छुट्टै राज्यको आन्दोलन होइन| यदि छुट्टै राज्यको आन्दोलन नै गर्छ भने दिल्लीमा गर्नुपर्छ| पहाडमा भएको आन्दोलन क्षेत्रीय प्राप्तिको निम्ति हो जो गोरामुमो र गोजमुमोले थापिसकेको छ| पहाडको विकासको कुराप्रति टास्क फोर्सको कुनै विरोध छैन तर थापिएको कुराले छुट्टै राज्यको दाबीमा अवरोध खडा गरेकोमा त्यसको विरोध भने गर्नेछ| मोर्चाले अहिले हस्ताक्षर गरेर बसेको जीटीएलाई राज्य र केन्द्रले देशभरिका छुट्टै राज्यको आन्दोलनलाई दबाउने सूत्रकोरुपमा लिएको छ| चाहे मोर्चाले जीटीमा आन्दोलन जारी रहन्छ भनोस् वा मुद्दा त्यागिएको छैन भनोस्, यो ठूलो कुरा होइन| कुरा त्यतिबेला गम्भीर बन्छ जतिबेला जीटीए छुट्टैराज्यको मार्गमा बाधा बन्छ| यदि जीटीएलाई छुट्टै राज्यको विकल्प अनि दार्जीलिङले थाप्दा अरुले पनि थाप्नुपर्छ भन्ने प्रचार सरकारले गर्छ भने जीटीए गोर्खाल्याण्डको मुद्दा मात्र दबाउनु होइन अन्य राज्यहरूमा भइरहेको छुट्टै राज्यको मुद्दा दबाउने कुटनीति पनि हो| मुख्यमन्त्री ममता व्यानर्जीले दार्जीलिङको समस्या समाधान भयो भनेर कोलकाता, दिल्लीमा भनिरहेका छन्| तिनको यस्तो भनाइको आशय छुट्टै राज्यको मुद्दाको समाधान भयो भन्ने नै बुझिने टास्क फोर्सको दाबी छ| राज्य र केन्द्रले जीटीएलाई छुट्टै राज्यको मोडल बनाउनु र त्यसको प्रचार गर्नु केवल छट्टै राज्यको निम्ति पनि बाधक होइन अन्य आन्दोलनकारीहरूको निम्ति पनि बाधक हो| टास्क फोर्सले छुट्टै राज्यका मार्ग्रमा आउने बाधकहरू सबैलाई ध्यानमा राखेर नै कार्यक्रम तयार पार्ने देखिएको छ|


0 comments: on "टास्क फोर्समा भागोपबाट पॉंच प्रततिनिधि आज कार्यक्रम सूची तयार पारिने"