मुख्य समाचार :


कृष्णकली पाठशालालाई शोकज नोटिश पठाइने पाठशाला गएको तर निरीक्षण नगरेका पाठशाला निरीक्षककोे स्पष्टिकरण

मनोज वोगटी
कालेबुङ, ८ दिसम्बर|
२००९ मा तीनजना, २०१० मा दुइ जना हुँदै २०११ मा केवल एक मात्र दोस्रो श्रेणीको विद्यार्थी रहेको १४ माइलको कृष्णकली प्राथमिक पाठशालाको दुरावस्थाको समाचार अघि आएपछि कालेबुङ प्राथमिक पाठशाला निरीक्षक जिग्मी शेर्पाले पाठशालालाई शोकज नोटिश पठाउने भएका छन्| तर अचम्म लाग्दो कुरा के छ भने तिनले पाठशालालाई त्यतिबेला मात्र शोकज नोटिश पठाउने भए जति बेला पाठशालाको वास्ताविकता अघि आयो|
 केही दिन मात्र तिनी त्यो स्कूल पुगेका थिए, तर स्कूल निरीक्षण गर्न होइन, स्कूलको जमीनबारे उठेको विवाद बुझ्न| स्कूल निरीक्षकलाई स्कूलको जमीनको चिन्ता हुने तर स्कूलको अवस्थाको कुनै चासो नराख्ने? कृष्णकली प्राथमिक पाठशालाका प्रधान अध्यापक किशोर सिलवाल केही वर्षदेखि नै सिकिस्त छन्, एव विशेष रोगले| तिनी न त पाठशाला नै जान सकेका छन् न त पाठशालाबारे चिन्ता नै गर्न सकिरहेका छन्| मृत्यु र जीवनको दोसॉंधमा रहेका प्रधान अध्यापक आफै नै असाहय छन्| तर जब पाठशालाको वेहाल अवस्थाको पोल खोलियो तब सबैले नै तिनै प्रधान अध्यापकलाई दोष्याइरहेका छन्|
 के एक प्रधान अध्यापकको कारण पाठशालाको यस्तो अवस्था भएको हो त? अहिले प्रश्‍न उठिरहेको छ| यस पाठशालाको निम्ति एमटीए पनि छ अनि यसमा दुइजना कर्मचारीहरू छन्| उनीहरूको काम हो विद्यार्थीहरूलाई मध्यान्नको खाना खुवाउने| तर विद्यार्थी नै एकै जना रहेपछि उनीहरूले कसलाई खाना खुवाउने? एक जना विद्यार्थी रहेको पाठशालामा कसरी एमटीए गठन भयो? दुइजना कर्मचारीको नियुक्तिको निम्ति चाहिन्छ पचास जना विद्यार्थी| अनि पाठशालाको खातामा पचास जना विद्यार्थी नै छन्| उसो भए के एक प्रधान अध्यापक मात्र दोषी भए त? भिलेज एजुकेशन कमिटी पनि छ, जसको देखरेखमा पाठशालामा कोषहरू आउने गर्छ| तर अहिलेसम्म कुन कुन कोष र सहुलियत यो पाठशालाको निम्ति आयो अनि त्यसको प्रयोग कहॉं कहॉं भयो, के यसको जवाबदेहीता केवल प्रधान अध्यापक मात्र हुन र? यस्ता विभिन्न प्रश्‍नहरूले केवल प्रधान अध्यापकलाई मात्र ताकिरहेको छैन| स्कूल कमिटी, भीइसी, एमटीए, गाउँवासी अनि पाठशाला निरीक्षकसम्मलाई ताकिरहेको छ, तर जवाबदेही बन्न परिरहेका छन् केवल प्रधान अध्यापक| निरीक्षक जिग्मी शेर्पा केही दिन अघि गएका थिए पाठशाला, के तिनले यो पाठशालाको अवस्था त्यसबेला देखेनन र? पाठशालाको अवस्था लुकाएर प्रोत्साहित गर्ने काम यिनै निरीक्षकले पनि गरेको कुरा लुकेको छैन| शेर्पाले तर आज पाठशाला गएको तर निरीक्षण गर्न होइन जमीन विवाद बुझ्न गएको कुरा स्वीकारे| तिनको यही स्वीकृति नै पाठशालाप्रतिको तिनको उत्तर दायित्वहिनता पनि भएको छ| तिनी पनि एक हुन, जसको कारण पाठशालाको यो अवस्था भयो| यता प्राथमिक शिक्षकहरूको गोजमुमो पार्टीको भातृ सङ्गठन जीपीटीओले अहिलेसम्म यो पाठशालाको अवस्था थाहा नपाउनु अर्को महान आश्‍चर्य बनेको छ| जीपीटीओले अहिले पो पाठशालाको निम्ति के गर्नु पर्ने हो सोंच्ने बताएको छ| एउटा अचम्म लाग्दो कुरा जमीन दाताकी बुहारी निर्मला खालिङ  आईसीडीएस समितिको सचिव हुन्| जब स्कूलको जमीन कसैले हडप्ने कोशिश गरे तब मात्र जागिन्| तर तिनले पाठशालाको अवस्था यस्तो रहेको कुरा गर्न होइन जमीन मिच्न लागेकोमा जकसलाई सहयोग मागेकी हुन्| जकस टोलीसित नै पत्रकारहरू त्यहॉं नपुगेको भए पाठशालाको अवस्था सार्वजनिक हुन थिएन| जमीनको विवादको निम्ति कृष्णकली पाठशाला पुगेका जकसका प्रतिनिधिहरूलाई पाठशालाको अवस्थाबारे बोल्न कर लाग्यो| यता विद्यार्थी मोर्चाले एउटा जॉंच कमिटी बनाएर खबर लिने बताएको छ| एसईले कारण बताउ नोटिश पठाउने भएको छ| जो जो पनि अहिले यो पाठशालालाई लिएर डम्फू बजाउन निस्केका छन्, उनीहरू नै अहिलेसम्म मौन थिए| सङ्गठन उनीहरू कै, त्यही सङ्गठनमा छन् शिक्षकहरू, तरै पनि यो पाठशालाको अवस्थामाथि कसैको ध्यान नजानु भनेको कुनै संयोग होइन, बरु आँखा ओझल गरेर पाठशालालाई यो अवस्थामा पुर्‍याउन प्रमुख भूमिका नै निभाउनु रहेको देखिएको छ| यही पाठशालाबाट नै पश्‍चिम बङ्गालको शिक्षा नीतिको पनि पोल खोलिएको छ| विद्यार्थीहरू नै नआएपछि के गरोस् त प्रधान अध्यापक| बङ्गालको शिक्षा नीति नै यस्तो छ, पठन पाठनको शैली स्तरीय र समय सापेक्ष नरहेकोले कसैले पनि प्राथमिक पाठशालामा नानीहरू पढाउँदैनन्| यस्तो हुनुमा प्रधान अध्यापकको दोष होइन, बङ्गालको शिक्षा नीतिकै दोष देखापर्छ| तर अचम्म अहिले सबैले प्रधान अध्यापकको मात्र दोष निकाल्न उत्रिरहेका छन् तर कोही पनि छैनन्, जसले सरकारी शिक्षा नीतिलाई दोष्याओस्| के पहाडमा केवल कृष्णकली पाठशाला मात्र हुन् जसमा एकजना मात्र विद्यार्थी छन्? पाठशाला निरीक्षकहरूसित के यसको जवाब होला? अब प्राथमिक पाठशालाको दुरावस्थाको लुकाइएका समस्याहरूबाट विस्तारै पर्दा उठ्ने सम्भावना बढेको छ|
 


0 comments: on "कृष्णकली पाठशालालाई शोकज नोटिश पठाइने पाठशाला गएको तर निरीक्षण नगरेका पाठशाला निरीक्षककोे स्पष्टिकरण"