मुख्य समाचार :


छत्र सुब्बा, अजय दाहालहरूको गोप्य बैठक?

कालेबुङ, ३ दिसम्बर|
अहिले पहाडको राजनैतिक हावा विभिन्न मुद्दाहरूले आन्तरिकरुले  गर्मिँदै गइरहेको छ| यस्तोमा नै एउटा राजनैतिक दलको गठन गरिने कुरा चलिरहेको छ| सूत्रले बताए अनुसार नयॉं दल गठन गर्ने सम्बन्धमा कालेबुङका जीएलओ नेता छत्र सुब्बा, युजीआरएफ नेता अजय दाहाल, गोर्खालीगका पूर्व अध्यक्ष दावा शेर्पा अनि अन्य केही राजनैतिक व्यक्तित्वहरूले अहिलेसम्म तीनपल्ट गोप्य बैठक गरिसकेको बताएको छ| सूत्रले शंका गरे अनुसार यो बैठक नयॉं राजनैतिक दल गठन गर्नको निम्ति नै गरिएको हो| तर छत्र सुब्बा, अजय दाहाल अनि दावा शेर्पाहरूले यस कुरालाई पुष्टि गरेनन्|  सूत्रले बताए अनुसार उनीहरू अहिले नै खुलेर केही बताउने पक्षमा छैन| स्मरणीय छ, छत्र सुब्बा सुवास घिसिङ हमलाकाण्डको आरोपीकोरुपमा ११ वर्ष कारावास गरेका छन्| तिनको कुनै दोष खुट्टिएन तर  विभिन्न वहानाबाजी गर्दै तिनलाई ११ वर्ष षडाइयो| जब गोर्खा जनमुक्ति मोर्चाले जीटीएमा हस्ताक्षर गर्‍यो तब छत्र सुब्बालाई मुक्त गरियो| शुरूमा छत्र सुब्बाले राजनीतिबाट सन्यास लिएको बताए पनि तिनको अन्तिम लक्ष्य भनेको छुट्टैराज्य नै रहेको अनि जबसम्म छुट्टैराज्य गठन हुँदैन तबसम्म आफ्नै तरिकाले लड्ने बताइसकेका छन्| अहिले अध्ययनमा बसेका छत्र सुब्बाले कुनै पनि राजनैतिक टिप्पणी गरेका छैनन्| तिनले तर गोर्खा जनमुक्ति मोर्चाको जीटीएलाई भने ठाडै विरोध गरेका छन्| तिनी अनुसार गोरामुमोले दागोपापमा सम्झौता र हस्ताक्षर गरेको कारण नै छुट्टै राज्यको आन्दोलन गर्न नसकेको अनि गोजमुमोले पनि सम्झौता र हस्ताक्षर नगरेकोले छुट्टै राज्यको आन्दोलन नगर्न बाध्य छ| छुट्टै राज्यको निम्ति जन्मिएको भनिएको गोर्खा जनमुक्ति मोर्चा नै आन्दोलन नगर्न बाध्य रहेको कारण नै छुट्टैराज्यको आन्दोलनको निम्ति कुनै बलियो राजनैतिक दलको अनिवार्यता ठानिएको हुन सक्ने अनि छत्र सुब्बाहरू त्यसैको प्रयासमा जुटेको हुनसक्ने अनुमानहरू गरिएको छ| यता गोर्खालीगबाट दल निकाला बनेका दावा शेर्पासित अहिले कुनै पनि दल छैन| तिनी पनि छुट्टैराज्यको पक्षमा दिलोज्यानले लागिपरेका एक नेता हुन्| मदन तामङको हत्यापछि विथोलिएको गोर्खालिगलाई तिनले सम्हालेका थिए तर आन्तरिक कतिपय द्वन्द्वको कारण तिनलाई पार्टीबाहिर गरिएको थियो| अर्कोतिर युजीआरएफ नेता अजय दाहाल पनि छुट्टैराज्यको निम्ति कटिबद्ध युवा नेता हुन्| तिनले छुट्टैराज्य कसरी गरिनपर्छ अनि यसको निम्ति कस्ता कस्ता योजनाहरू कार्यान्वयन गर्नुपर्छ भन्नेबारे पुस्तक नै लेखेका छन्| गान्धीवादीरुपले बोलेको कुरा नसुन्ने भएकोले नै तिनले हतियार उठाएर छुट्टै राज्यको आन्दोलन गर्ने प्रयास पनि गरेका थिए| पछिबाट तिनी पक्रा परे पनि तिनलाई मुक्त गरियो| बन्दुकले होइन कलमले नै छुट्टै राज्य हुने कुरा गर्दै तिनले राजनैतिक टिप्पणी दिने गरेका छन् भने अहिले तिनले कुनै पनि टिप्पणी दिइरहेका छैनन्| छत्र सुब्बा, अजय दाहाल अनि दावा शेर्पा तिनै जनाले अहिलेको राजनैतिक परिस्थितिमाथि कुनै टिप्पणी वा प्रतिक्रियाहरू गरिरहेका छैनन्| उनीहरू अर्को दलको निम्ति व्यस्त गरेकोले नै राजनैतिक टिप्पणीहरूबाट टाडा बसेको हुन सक्ने अनुमान लगाइएको छ भने शीघ्र नै उनीहरूको नयॉं दलले पहाडलाई एकपल्ट आन्दोलित बनाउने अनुमान पनि गरिएको छ|

0 comments: on "छत्र सुब्बा, अजय दाहालहरूको गोप्य बैठक?"